×
images

पहिलो प्रादेशिक कृषि मेशिनरी प्रदर्शणी पोखरामा सुरु स्वदेशी र विदेशी प्रविधिमा आकर्षण

पोखरा, पुस २० । 
पोखराको नयाँ बजारस्थित प्रदर्शणी केन्द्रमा शुक्रबारदेखि पहिलो प्रदेशस्तरीय कृषि मेशिनरी प्रदर्शनी २०८० शुरु भएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)को आयोजनामा भएको तीन दिने कृषि मेसिनरी एक्स्पोमा कृषि मेसिनरी तथा उपकरणको उत्पादन, बिक्री, मर्मत, तालिम र प्रयोगमा संलग्न ६० कम्पनीका ७० भन्दा बढी स्टल राखिएका छन् । गण्डकी प्रदेशका कृषि तथा भूमी व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरेको प्रदर्शनीमा नेपाल र भारतका कृषि सामग्री उत्पादक, बैंक तथा वित्तीय संस्था, बिऊ तथा खाद्य उत्पादक, रैथाने बाली प्रवर्द्र्धक, संघीय, प्रादेशिक तथा स्थानीय सरकारी निकाय र साना तथा मझौला कृषि उद्यमीहरु सहभागी छन् । 
नेपालमै बनेको कोदो फल्ने मेशिनको अनावरण गर्दै मन्त्री जिसीले प्रदर्शनीको उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले नेपालमा कृषिको अवस्था र नीति बीच तालमेल नभएको बताए ।

‘कृषक र उद्यमीको माग र नीति कार्यान्वयन मिलेको छैन, युवाहरू यसतर्फ आकर्षित हुन नसकेकोले किसानहरू खेतीबाट विस्थापित भएका छन्,’ उनले भने ।
मन्त्री जिसीले उत्पादन र प्रशोधनलाई थप प्रतिस्पर्धी बनाउन आवश्यक रहेको बृहत् अनुभूति भएकाले खाद्यान्न उत्पादन र आपूर्तिका साथै प्रशोधनमा प्रविधिको प्रवद्र्धन गर्नुपर्ने बताए । उनका अनुसार कृषिमा दिइने अनुदानमा चर्को राजनीतिकरण भई दलका कार्यकर्ता वा आसेपासेलाई सहयोग गर्ने खरा प्रचलनले वास्तविक किसान अझै पिडित छन् । 
उनले सरकारका विभिन्न तहबाट वितरण हुने मेसिनको उचित उपयोग र प्रभावकारितामा प्रश्न गर्दै सरकारले वितरण गर्ने मेशिनको मर्मत सम्भारका लागि संस्थागत र गैरसरकारी संस्थालगायत अन्य निकायले नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव पनि दिए । 
मन्त्री जिसीले यस क्षेत्रका किसान तथा उद्यमीलाई आगामी प्रादेशिक आवधिक योजनाले कृषिलाई उच्च प्राथमिकतामा राखेर युवालाई कृषिमा आकर्षित गर्ने र पेसामा लाग्ने विश्वास दिलाए ।
त्यसैगरी, नामियाका अध्यक्ष कृष्ण शर्माले स्वदेशी उत्पादन र उद्योगलाई कृषि क्षेत्रमा प्रवद्र्धन गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताउँदै कृषिमा मेसिनरीको प्रयोगमा हस्तक्षेप गर्ने उद्देश्य पनि यसले लिएको बताए ।
तर, नीतिगत स्थायित्व नभएकाले विद्यमान नीतिको कार्यान्वयन पनि कमजोर रहेको भन्दै उनले कृषिको आधुनिकीकरण र विकासका लागि यस क्षेत्रमा थप लगानी गर्नुपर्नेमा जोड दिए । ‘प्रविधिको प्रयोग र प्रवद्र्धनबाट मात्रै हासिल गर्न सकिने उत्पादन लागत घटाउन काम गर्नुपर्छ,’ उनले भने, ‘कृषि औजारको बिक्रीपछिको सेवा दिने व्यवस्था पनि तत्कालै आवश्यक देखिएको छ ।’


शर्माका अनुसार सरकारले उपकरण मात्रै वितरण गर्छ तर त्यसको मर्मत सम्भारका लागि किसान र उद्यमीलाई तालिम दिने व्यवस्था छैन ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले वास्तविक कृषकले सहुलियतपूर्ण ऋण र सरकारी अनुदानमा सहज पहुँच पाउनु पर्ने बताए । ‘दुई तिहाइ जनसङ्ख्यालाई रोजगारी दिने र राष्ट्रिय ग्राहस्थ उत्पादनमा एक चौथाइ योगदान पु¥याउने क्षेत्रमा ४ प्रतिशत मात्रै राष्ट्रिय बजेट विनियोजन गर्नु उचित होइन,’ उनले भने ।
ढकालले कृषि पर्यटन र सूचना प्रविधिसँगै उच्च सम्भावना भएको क्षेत्र भएकाले वार्षिक बजेटको १० प्रतिशत बजेट विनियोजन गर्न सबै तहका सरकारलाई आग्रह गरे । ‘कृषिका सबै क्षेत्रमा यान्त्रिकीकरणको प्रवद्र्धन गर्नुपर्छ, निजी क्षेत्रका संघहरूले पनि कृषिलाई प्राथमिकता दिनुपर्छ, कृषि औजार मर्मतको सुविधा देशभर स्थापना गर्नुपर्छ,’ उनले भने ।
त्यसैगरी गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागाईंले कृषिबाट युवाको बहाव रोक्न चुनौती रहेको बताए । उनका अनुसार यस क्षेत्रको विकासका लागि उत्पादन लागत घटाउने, सामाग्री तथा मेसिनको सहज उपलब्धता, सिँचाइ सुविधा र बजारमा पहुँचलाई सरकारी तथा निजी क्षेत्रको प्राथमिकतामा राख्नुपर्छ ।
कृषि विभागका महानिर्देशक डा हरिबहादुर केसीले कृषि यान्त्रिकीकरण प्रवद्र्धन नीति कार्यान्वयनमा रहे पनि कृषि क्षेत्रमा गर्नुपर्ने काम धेरै रहेको बताए । कृषि उत्पादन र कच्चा पदार्थमा लाग्ने अनुकूल भन्सारका विषयमा पनि छलफल गर्नुपर्छ, उनले भने ।
त्यस्तै नामियाका महासचिव अर्जुनप्रसाद लुइँटेलले कृषि र यससँग सम्बन्धित व्यवसायलाई नाफामूलक व्यवसायका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए । ‘यसमा यान्त्रीकरण र आधुनिकीकरणको महत्त्वपूर्ण भूमिका छ । यो लक्ष्य हासिल गर्न नीति निर्माता, विज्ञान निकाय, कार्यकारी निकायलगायत सबै सरोकारवालाहरूले सहकार्य गर्नुपर्छ,’ उनले भने ।
कृषि विकास निर्देशनालय गण्डकीका महानिर्देशक वासुदेव रेग्मीका अनुसार सरकार र निजी क्षेत्र दुवै आगामी दिनमा कृषिमा उत्पादन लागत घटाउनेतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता छ । नेपालमा भौगोलिक अवस्थाअनुसार मेशिन चाहिने भएकाले महिलामैत्री मेशिनको प्रवद्र्धन गरी उपलब्ध गराउनु आवश्यक रहेको पनि उनको भनाइ छ । 
नेपाल महिला उद्यमी संघ कास्कीकी अध्यक्ष शारदा बरालले अझै पनि धेरै महिला कृषकको आर्थिक सहायता कार्यक्रममा पहुँच नभएको बताइन् । 
कार्यक्रममा बोल्दै कृषक प्रतिनिधि चित्रनाथ पौडेलले कृषिमा महिलाको संलग्नता बढी भए पनि नदेखिएको बताए । उनीहरूले आफ्ना माग र चिन्ताहरू आवाज उठाउन अगाडि आउनु पर्छ, उनले भने ।

आइतबार​ २२ पुस २०८० ११:३० AM मा प्रकाशित

प्रतिक्रिया