×
images

गहुँबालीमा लाग्ने कीरा र रोगहरू के-के हुन् र यसको व्यवस्थापन कसरी गर्ने ?

गहुँबालीमा लाग्ने कीराहरू

१. कीटकीटे खपट

लक्षण

लार्भा (Wire worm) ले जरा काटीदिन्छ र बोट सुक्छ ।

व्यवस्थापन विधि

-मकैको फेंद काट्ने कीरा जस्तैः विषादी प्रयोग गर्ने ।

-सिंचाई सुविधा भएमा राम्रोसँग सिंचाई गर्ने ।

२. लाही कीरा

लक्षण

बाला पसाउने बेलामा यसले दुःख दिन्छ । लाही कीराहरूले कलीलो बालाको रस चुसी नोक्सान गर्दछन्।

व्यवस्थापन विधि

-लेडी विटल्स (मित्रु खपटे) प्रयोग गर्ने ।

-डायमेथोएट ३०५ ई.सी. को १ मी.ली.प्रति लीटर पानीका दरले छर्कने ।

३. गुलावी गभारो

लक्षण

यिनीहरूले गहुँको गुवो काटी नोक्सान गर्छन्

व्यवस्थापन विधि

-गवारोको क्षति कम गर्न हरेक वर्ष गहुँ काटी सकेपछि रहेको सम्पूर्ण ठूटा निकाली जलाइ दिने अथवा ठूटा डुब्ने गरी पानी पटाइ दिने अथवा गहुँ काटेपछि खेतलाई जोतिदिने ।

-बेर्नाको पातको टुप्पोमा देखिएका फुलहरूलाई (Egg) पातको टुप्पो चुँडेर नष्ट गर्ने ।

-प्रकाश पासोको माध्यमबाट वयस्क पुतलीलाई आकर्षण गरी मार्ने ।

-ट्राइकोग्रामा परजीवी कीरा ५०,०००–१,००,००० प्रति हेक्टरका दरले रोपाइ गरेको ३–४ हप्ता पछि छाड्ने ।

-गहुँखेतको आलीमा भटमास लगाउने

-व्यासीलस थुरीनजियन्सीस (Bt.)३ ग्राम प्रति लिटर पानीका दरले छर्कने ।

-गवारोहरूको धेरै प्रकोप भएको खेतमा कार्वोफ्यूरान घ५न्च् (फ्यूराडन,डाइफयूरान, की फयूरान आदि) वा कारटेप हाइड्रोक्लोराइड ४ प्र. जीआर (अनुदान, विदान, कीटाप, आदि) वा कारटेप हाइड्रोक्लोराइड ४ प्र. जीआर (अनुदान, विदान, कीटाप, आदि) वा फिप्रोनिल ०.३ प्र जीआर(रीफ्री,रिजेन्ट,टाटाजेन्ट आदि) दाना विषादी कुनै एक १.२५ के.जी. प्रति रोपनीका दरले वा क्लोरानट्रानीलीप्रोल ०.४ प्र जिआर (फेरटेरा) खेतमा छिपछिपे पानी जमाइ  छर्ने  । विषादी छरेपछि ४ दिनसम्म खेतबाट पानी बग्न दिनु हुँदैन ।

-माकुरा, लामा सिंगे फट्याङग्रा जस्ता मित्रजीवको संरक्षण गर्ने ।

गहुँबालीका मुख्य रोगहरू

१. डढुवा रोग (Leaf blight)

लक्षण

साना खैरो रङ्गको थोप्लाहरू पातमा देखिछन् । पछि ती थोप्लाहरू बढ्छन् र एक आपसमा जोडिई पात सुकेको वा डढेको जस्तो देखिन्छ ।

व्यवस्थापन विधि

-भाइटाभेक्स–२००, दुइ ग्राम प्रति किलोका दरले बीउ उपचार गर्ने।

-पोटास मलको प्रयोग गर्ने ।

-ठिक  समयमा गहुँ छर्ने ।

-रोग अवरोधक जातहरू लगाउने ।

२. खैरो सिन्दुरे (Brown rust)

लक्षण

पातको माथिल्लो सतहमा सुन्तला रङ्गका फोकाहरू देखिन थाल्दछन् । ती फोकाहरू छुट्टाछुट्टै रहेका हुन्छन् ।

व्यवस्थापन विधि

-रोग अवरोधक जातहरू लगाउने ।

-सिफारिस गरिए अनुसार मलखादको प्रयोग गर्ने, ठीक समयमा गहुँ छर्ने

-गहुँको बोट ठूलो भएमा म्यान्कोजेव ७५% डव्लु.पि. (डाइथेन एम–४५) नामक विषादी१.५–२ के.जी. प्रति हे. ७५० लिटर पानीमा मिसाई १५ दिनको अन्तरमा २–३ पटक छर्कने । अथवा -Propiconazole 25% EC (Bonus, Bumper, Tilt 25) ०.७५ ग्राम प्रति लीटर पानीका दरले मिसाई छर्कने ।

३. पहेंलो सिन्दुरे (yellow rust)

लक्षण

पातको माथिल्लो सतहमा पहेंला, लाम्चिला फोकाहरू एक अर्कासँग मिली धर्सा परेर रहेका हुन्छन् ।

व्यवस्थापन विधि

-रोग अवरोधक जातहरू जस्तैः डव्लु के १२०४, पासाङ्गल्हामु, लगाउने र ठीक समयमागहुँ छर्ने ।

-सिफारिस गरिए अनुसार रासायनिक मल प्रयोग गर्ने ।

-माथि खैरो सिन्दुरे जस्तैःबिसादी प्रयोग गर्ने

४. कालो पोके (Loose smut) 

लक्षण

बालामा दाना लाग्नुको सट्टा कालो ढूसीको जिवाणुले भरिएको हुन्छ ।

व्यवस्थापन विधि

-स्वस्थ बीउको प्रयोग गर्ने ।

-भाईटाभेक्स–२०० विषादी २ ग्राम अथवा Tebuconazole 2% DS (Caviet, Raxil) १ ग्राम प्रति किलो गहुँको बीउका दरले बीउ उपचार गरी छर्ने ।

-रोग लागेको बालाबाट धूलो नझर्दै उखेलेर खाल्डोमा गाड्ने अथवा जलाई दिने ।

-अन्नपूर्ण–४ जातको गहुँमा यो रोग कम लाग्ने हुँदा यो जात लगाउने

५. गन्हाउने कालो पोक (Stinking smut or hill bunt)

लक्षण

रोगी दानाहरू गोलाकार हुन्छन् र कालो रङ्गको रोगको जीवाणुहरूले भरिएका हुन्छन् । ती जीवाणुहरू दाना फुटाएर बाहिर झर्दछन्। नजिकबाट सुँघ्दा माछा कुहिएको जस्तो गन्ध आउँछ।

व्यवस्थापन विधि

-दुई तीन वर्षसम्म घुम्ती बाली लगाउने वा गहुँ नै नलगाउने ।

-भाईटाभेक्स–२०० विषादी २ ग्राम प्रति किलो गहुँको बीउका दरले बीउ उपचार गरी छर्ने ।

- स्वस्थ बीउको प्रयोग गर्ने ।
स्रोत : कृषि व्यवस्थापन सूचना प्रणाली

मङ्गलबार २ माघ २०८० ११:०० AM मा प्रकाशित

प्रतिक्रिया