×
images

बृहत् च्याउ प्रदर्शनी तथा परिकार महोत्सव सुरु हुन अब तीन दिन बाँकी, केके छन् महोत्सवको आकर्षण ?

काठमाडौँ / च्याउ उत्पादक किसान संघ नेपाल केन्द्रीय समितिको आयोजनामा बृहत् च्याउ प्रदर्शनी तथा परिकार महोत्सव हुने भएको छ । ‘देशभरिका च्याउ किसानहरू एक हौँ’ भन्ने नाराका साथ संघले ललितपुरको जावलाखेल यूथ क्लब खेल मैदानमा पुस १५ गते सो महोत्सवको आयोजना गर्ने भएको हो ।

च्याउ किसानलाई जागरुक र व्यावसायिक उत्पादनमा आत्मनिर्भर बनाउन प्रोत्साहन गर्ने र केन्द्रीय सरकारसमक्ष राष्ट्रिय च्याउ दिवस घोषणा गर्न माग गर्ने उद्देश्यले यस बर्ष केन्द्रमा वृहत रूपमा च्याउ दिवस मनाउन लागिएको संघले जनाएको छ । 

च्याउ उत्पादक किसानहरूले वि.सं. २०७६ सालमा मेची महाकाली राष्ट्रिय च्याउ जागरण अभियान चलाएको थियो । सो अभियान हेटौडामा आएपछि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्री दावादोर्जे लामाले राष्ट्रिय च्याउ दिवस घोषणा गरेको थिए । सो समयदेखि सङ्घले हरेक बर्ष पुस १५ गते च्याउ दिवस मनाउँदै आएको छ । 

प्रादेशिक रूपमा च्याउ दिवस घोषणा गरिए पनि केन्द्रीय रूपमा च्याउ दिवस घोषणा नभएको र केन्द्र सरकारले नै च्याउ दिवस घोषणा गरिदिओस् भन्ने अपेक्षा रहेको संघले जनाएको छ । 

महोत्सवका आकर्षण केके छन् ? 

बृहत् च्याउ प्रदर्शनी तथा परिकार महोत्सवमा च्याउसँग सम्बन्धित ३० ओटा स्टल रहनेछन् । प्रदर्शनी स्थलमै कन्य, गोब्रे र सिताके च्याउको खेती प्रक्रिया लाइभ देखाइनेछ । महोत्सवमै च्याउको ५ देखि ६ ओटासम्म परिकार लाइभ बनाउने चखाउने कार्यक्रम रहेको सङ्घका अध्यक्ष सन्तोष कार्कीले बताए । 

“च्याउका विभिन्न ६ ओटासम्म परिकारहरू महोत्सवमै बनाइनेछ । केही परिकार निःशुल्क र केही परिकार सःशुल्क चखाइनेछ,” उनले भने ।

महोत्सवमा कन्य, गोब्रे र सिताके च्याउको खेती प्रक्रिया लाइभ देखाइनेछ । च्याउको लाइभ आर्टसमेत हुने उक्त महोत्सवमा च्याउको खेती प्रक्रियाको साथै बिउका स्टल, च्याउको केही बिक्री स्टलसमेत रहनेछ । 

अध्यक्ष कार्कीले भने, “कन्य, गोब्रे र सिताके च्याउको खेतीका लागि आवश्यक उपकरणको डेमोस्ट्रेसन र खेती प्रक्रियासमेत लाइभ देखाइनेछ । च्याउको लाइभ आर्ट पनि देखाउने कार्यक्रम छ। साथै, महोत्सवमा सांस्कृतिक कार्यक्रमसमेत हुनेछ ।”  

महोत्सवमा सामान्य किसानले च्याउ उत्पादन गर्दा केकस्तो उपकरण प्रयोग गर्नुपर्छ र प्रक्रियाबारे जानकारी दिइने उनले बताए । 

बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुने उक्त महोत्सवमा प्रवेश गर्नका लागि कुनै पनि शुल्क नलाग्ने उनले जानकारी दिए । महोत्सवमा देशभरी छरिएका रहेका करिब ३ हजारजति च्याउ किसानहरू र अन्य उपभोक्ताहरू ३ देखि ४ हजारसम्म आउने अनुमान गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । 

यसअघि प्रादेशिक रूपमा र च्याउ उत्पादक किसानहरूको सहभागितामा च्याउ दिवस मनाउँदै आएकोमा यस बर्ष वृहत रूपमा मनाउन लागिएको उनले बताए । “संसार सुतिरहेको मध्य रातको समयमा च्याउ फार्ममा खटिरहेका च्याउ किसानहरूका लागि यो एक दिन उत्सवको दिन हो । हामी किसानहरूले राष्ट्रव्यापी रूपमा खुशी मनाउने यो दिनलाई उत्सवममय बनाउने उद्देश्यले यो महोत्सवको आयोजना गर्न लागिएको हो,”उनले भने । 

रातभरी जागै बसेर काम गर्ने च्याउ किसानहरूले, दुःख-सुख, अनुभव र प्रविधि साटासाट गर्ने दिन भएकोले पनि च्याउ दिवस अझ महत्त्वपूर्ण रहेको उनले बताए । यो समयमा सबै ठाउँमा कन्य, गोब्रे र सिताके च्याउ उत्पादन हुन्छ । त्यसैले पुस १५ लाई केन्द्र 

सरकारले च्याउ दिवस घोषणा गर्नुपर्ने अध्यक्ष कार्कीको भनाइ छ । 

सङ्घले गत बर्ष काठमाडौँमा प्रभातफेरी, दिउँसो वृहत बनभोज तथा साँझ दिप प्रज्वलन् गरी हर्षोल्लासका साथ च्याउ दिवस मनाएको थियो। 

बुधबार ११ पुस २०८० ०३:२१ PM मा प्रकाशित

प्रतिक्रिया