×
images

आधारभूत विद्यालयले थाले तरकारी र फलफूल खेती

नेपालगन्ज– न कुनै कृषि प्राविधिक शिक्षा पढाई हुने विद्यालय, न माध्यामिक तहको कृषि शिक्षा नै पढाई हुने विद्यालय हो । तर पनि बाँसगढी नगरपालिका–९ शान्तिनगरस्थित मुक्त कमैया प्राविले विद्यालयमा तरकारी खेती गरेको छ । विद्यार्थीलाई कृषि सम्बन्धी व्यवहारिक ज्ञान दिनुका साथै उत्पादित तरकारी विद्यालयको दिवा खाजामा प्रयोग गर्ने उद्देश्यले खेती गरिएको प्रधानाध्यापक देबेन्द्रबहादुर केसीले बताए ।

‘अहिले विद्यालयमा दिवा खाजाका लागि थोरै पैसा सरकारले उपलब्ध गराउँछ, त्यो पैसाले राम्रो खाजा खुवाउन पुग्दैन’ प्रधानाध्यापक केसीले भने, ‘हामी यहाँ उत्पादन गरेको तरकारी खाजामा प्रयोग गरी गुणस्तरीय खाजा खुवाउने सोचमा छौं ।’ खाजासँगै कृषि सम्वन्धी खेती प्रविधि सिकाउने योजनाअनुसार विद्यार्थीहरुले यहाँ व्यवहारिक ज्ञान हासिल गरेर गएपछि घरमा पनि सजिलैसँग तरकारी खेती गर्न सक्ने उनले बताए ।

‘यसले आयआर्जनमा समेत वृद्धि पुग्ने हुँदा विद्यालयको जोड तरकारी खेतीमा छ, खाली समयमा बाल क्लबका विद्यार्थी र शिक्षक विद्यालयको खाली जमिनमा तरकारी गोडमेलमा जान्छौं, यसले विद्यार्थीलाई कृषि प्रविधि सम्बन्धी सिकाइ हुन्छ’ उनले भने । विद्यालयले थोरै बचेको खाली जमिनमा आलु, साग, धनिया, खुर्सानीलगायत लगाएको छ । विद्यालयमा बाल क्लबका सदस्यहरु टिफिन समयको सदुपयोग गर्दै नजिकैको बारीमा तरकारी गोडमेलमा व्यस्त हुने गरेका छन् ।

नगरका अन्य क्षेत्र भन्दा पिछडिएको जस्तो देखिने मुक्त कमैया बस्तीको यो विद्यालयमा समुदायको सहभागिताका साथै अन्य रचनात्मक कृयाकलाप पनि हुने गरेको छ । विद्यालयमा फूल लगाउनुका साथै स्थानीय जनश्रमदान परिचालित गरी फिल्ड सम्याउने काम गरिएको छ । यस्तै नगरको विपन्न समुदायमा अवस्थित बाँसगढी–८ को जनज्योति प्रावि बेलौलीले शिक्षकबाटै एक लाख रुपैयाँ सहयोग उठाएर ड्रागन फ्रुट खेती गरेको जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक हरिराम चौधरीका अनुसार आफूले केही समयअघि १० वटा ड्रागन फ्रुटको बिरुवा घरमै लगाएको त्यसबाट राम्रो उत्पादन भएपछि विद्यालयको स्रोत बढाउनुका साथै दिवा खाजामा प्रयोग गर्ने मनसायले स्टाफबाटै रकम संकलन गरेर स्कुलको जग्गामा पनि लगाएको बताए । ‘सुरुमा २० हजार दिएर आफैंबाट सुरु गरैं, पछि सबैले उठाउँदा एक लाख पुग्यो, त्यसबाट खेती सुरु गरियो’ उनले भने । खेती गर्दै जाँदा आर्थिक अभाव भएपछि बाँसगढी नगरपालिका शिक्षा शाखाले समेत विद्यालयले गरेको ड्रागन फ्रुट सम्बन्धी योजनामा चार लाख रुपैयाँ सहयोग गरेपछि सहज भएको उनको भनाइ छ ।

खेतीबाट उत्पादन भएको फलफूल विद्यार्थीलाई हप्तामा दुई पटक खाजा खुवाउनुका साथै बिक्री गरी आम्दानी गर्ने र अतिरिक्त शिक्षक राख्ने विद्यालयको योजना छ । ‘उत्पादित फ्रुट बालबालिकालाई हप्तामा दुई दिन खाजामा समावेश गरी खुवाउने र आम्दानीको स्रोत बढाउने योजनामा हामी छौं’ अर्का शिक्षक करेसी थापाले भने । विद्यालयहरुले गरेको रचनात्मक कामलाई बाँसगढी नगरपालिकाले साथ दिने जनाएको छ ।

नगर उपप्रमुख इन्दिरा थारुले पढेर सैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षामा समेत लाग्नु राम्रो भएकाले यस्ता विद्यालयलाई प्रोत्साहन गर्ने बताइन् । समुदायका पिछडिएका भनिएका विद्यालयमा गरिएका यस्ता रचनात्मक कार्यले विद्यार्थीलाई व्यवहारिक ज्ञान र सीप दिनुका साथै त्यसबाट भएको आम्दानीले सवल रुपमा विद्यालय सञ्चालन गर्न मद्दत पुग्छ ।

बुधबार ११ पुस २०८० ०४:३६ PM मा प्रकाशित

प्रतिक्रिया