×

गजेन्द्रको कृषि फर्म : मेसिनबाटै काम, दिनमै बेच्छन् १ हजार लिटर दूध

images

अढाई दशक वैदेशिक रोजगारीमा रहँदा आर्जन गरेको पुँजी परिचालन गरी विराटनगर १२ दरैयाका गजेन्द्र शर्मा बन्जराले स्वदेशमै आधुनिक कृषि व्यवसाय थालेका छन् । आफ्नै बस्तीनजिक ४० करोडको लगानीमा गाई फर्म खोलेका छन् । बन्जरा एग्रो फर्मका नाममा दर्ता भएको फर्ममा आधुनिक उपकरणबाट गाईको खान्की तयार गर्ने फ्याक्ट्री सञ्चालनमा छ । 

 

गाई फर्मको रेखदेखका लागि उनले भारतको पञ्जाबबाट विशेषज्ञ चिकित्सक ल्याएका छन् । उनको फर्ममा यतिबेला ४२ जनाले रोजगारी पाएका छन् । तीमध्ये ३२ जना मासिक तलबमा र १० जना दैनिक ज्यालादारीमा काम गर्छन् ।

पाँच बिघा जमिन खरिद गरेर दुई वर्ष अगाडि सुरु गरेको फर्ममा एउटाकै अढाई लाख मूल्य पर्ने १ सय ४५ वटा 'होल्स्टिन' जातका माउ गाई छन् । उनले अहिले दैनिक १ हजार १ सय लिटर दूध बिक्री गर्छन् । उक्त फर्ममा गाईलाई दानापानी दिने, गोबर पखाल्ने, दूध दुहने सबै काम मेसिनबाट हुन्छ ।

स्वीट्जरल्याण्डमा होटल म्यानेजमेन्टमा स्नातकोत्तर गरेका ५२ वर्षीय शर्माले विगत २३ वर्षदेखि हिल्टन होटलमा काम गरे । अष्ट्रियाको भियना, कतारको दोहा, चीन, क्यानडा, थाइल्याण्ड र दुबइका होटलमा काम गरेका उनी अहिले दुबईस्थित हिल्टन होटलको शाखा म्यानेजर पनि हुन् ।

होटल सम्बन्धी अनुभवी शर्माले आफ्नो गाउँको माया र स्वदेशको प्रेमले होटलमा नभई कृषि फर्ममा लगानी गरेको बताए । होटलमा लगानी गर्दा प्रतिफल पाउन समय लाग्ने र कृषिमा लगानी गर्दा चाँडै प्रतिफल पाइने, अरु किसानलाई पनि फाइदा हुने देखिएकाले लगानी गरेको उनको भनाइ छ ।

जग्गा किन्नदेखि भारतबाट उन्नत जातका गाई ल्याउन र आवश्यक पूर्वाधार निर्माणमा अहिलेसम्म करिब ४० करोड लगानी भइसकेको शर्माले जानकारी दिए । उनका अनुसार फर्मबाट वार्षिक ५ करोड मूल्य बराबरको दूध र मल बिक्री हुँदै आएको छ । ‘करिब ४० करोडको लगानीमा पहिलो फेजको काम सकिएको छ, अब ८८ वटा गाई थप्नका लागि सेड निर्माणको काम सुरु भएको छ’ शर्माले भने ।

त्यसका लागि थप ४ करोड लगानी लाग्ने उनले बताए । बैंकले प्रोजेक्टमा आधारित भएर लगानी गर्न नमान्दा पुँजीगत समस्या झेल्नुपरेको उनको गुनासो छ । दोस्रो फेजको काम सकिएपछि वार्षिक २० करोडसम्मको कारोबार हुने शर्माले अनुमान गरे । उनको फर्ममा अहिले दैनिक १७ देखि ३३ लिटरसम्म दूध दिने होल्स्टिन गाई छन् । उक्त फर्मबाटै मौसमी तथा बेमौसमी तरकारी खेती पनि गरिएको छ ।

उक्त फर्म सञ्चालनका लागि कोशी प्रदेश सरकारले पनि अनुदान दिएको कृषिमन्त्री भक्ति सिटौलाले बताए । फर्ममा दूध दुहने मेसिन र प्याकेजिङमा प्रदेश सरकारले अनुदान दिएको सिटौलाले बताए । उनका अनुसार वैदेशिक रोजगारीबाट फर्किएर कृषि काम गर्ने युवालाई प्रदेश सरकारले बिनाधितो र बिनाब्याज २५ लाखसम्म ऋण उपलब्ध गराउने नीति बनाएको छ ।

विदेशमा कमाएको रकम आफ्नै जन्मथलोमा लगानी गर्दा आफूलाई आनन्द लागेको शर्माले बताए । उनले देशभरका गाई फार्म संचालकहरुलाई तालिम दिने योजना पनि बनाएका छन् । आफ्नो फर्ममा अहिले कुनै पनि गाईमा बाँझोपन नभएको उनले बताए । गाईको स्वास्थ्य परीक्षणका लागि फर्ममै ल्याब स्थापना गर्ने उनको लक्ष्य छ।

गाईका लागि घाँस तथा दाना उत्पादन गर्न सुनसरी देवानगन्ज ७ का किसानलाई अग्रिम ४० प्रतिशत पुँजी दिएर उनले मकै खेती गर्न प्रोत्साहन गरेका छन् । त्यहाँ २० जना किसानले ३० बिघा जमिनमा फर्मका लागि मकै खेती गरेका छन् । मकैले सुत्ला च्याप्न सुरु गरेपछि फर्मले मकैको बोट नै प्रतिकिलो ४ रुपैयाँका दरले खेतमै गएर किनेर ल्याउँछ ।

त्यहाँ मकै खेती गरेका किसान राजेन्द्रप्रसाद साहले मकैको दानाभन्दा बोट नै फर्मलाई बिक्री गर्दा राम्रो आम्दानी हुने गरेको बताए । फर्मको लागि ७ बिघा खेतमा मकै खेती गरेका उनले भने ‘पहिला एक बिघा खेतबाट एक पटकमा ८० हजारसम्मको मकै बिक्री हुन्थ्यो । अहिले डेढ लाखसम्म आम्दानी भइरहेको छ ।’ फर्मका लागि वर्षमा दुई पटक एउटै खेतमा मकै खेती गर्न सकिने उनको भनाइ छ ।

‘मकै नै उत्पादन गर्दा कम्तीमा १२० दिन समय लाग्थ्यो’ उनले भने ‘फर्मका लागि मकै खेती गर्दा बढीमा ८० दिनमा जमिनले आम्दानी दिन थालेको छ ।’ उद्योगी शर्माका अनुसार फर्मले ८ सय टन ‘साइलेज’ उत्पादन गरेर आउँदो बैशाख सम्मका लागि मौज्दात राखेको छ ।

साभार:ekantipur

आइतबार​ २४ असार २०८० ०४:०० AM मा प्रकाशित

प्रतिक्रिया