पछिल्लो समय एभोकाडो, सुन्तला, कागती, ड्रागन फ्रुटजस्ता फलफूलको खेतीमा किसानको आकर्षण बढेको छ । बगैँचा विस्तारसँगै फलफूलका बिरुवाको उत्पादन र कारोबार गर्ने नर्सरी पेसा पनि फस्टाएको छ । तर फलफूल र तरकारी जस्तै बिरुवाको बजार पनि बिचौलियाकै नियन्त्रणमा रहेको किसानको गुनासो छ ।
धनकुटा सिप्तीङ्गका राजु कटवालले २५ लाख रुपैयाँ लगानी गरी सुन्तला, कागती र एभोकाडोजस्ता फलफूलका बिरुवाको नर्सरी सञ्चालन गर्दै आएका छन् । सिप्तीङ्गमा मात्रै पाँचदेखि ३० लाख रुपैयाँ लगानीका झण्डै ४५ वटा दर्तावाल नर्सरी सञ्चालनमा छन् । बगैचा विस्तार र बिरुवाको माग बढ्दै गएपनि बिरुवा बिक्रीका लागि नर्सरी सञ्चालकले बिचौलिया कै झमेला भोग्नुपरेको छ । जसले गर्दा उत्पादकले उचित मूल्य पाउन सकेका छैनन् भने उपभोक्ताले महङ्गोमा किन्नुपरिहेको छ । बिचौलियाले गुणस्तरहीन बिरुवा दिएर नर्सरीको बदनाम गरिरहेको कटवालको आरोप छ ।
कानुनी प्रक्रिया र स्वच्छ बिरुवा उत्पादन मापदण्ड पूरा गरेका नर्सरीलाई कृषि मन्त्रालयअन्तर्गतको फलफूल विकास केन्द्रले स्रोत केन्द्रका रूपमा तोक्ने गरेको छ । बिरुवा खरिद गर्दा प्रक्रिया र मापदण्ड पूरा गरेका सूचीकृत नर्सरीबाट खरिद गर्नुपर्ने मान्यता छ । तर नर्सरी सञ्चालक, स्थानीय तह र कृषि क्षेत्रमा काम गर्ने अन्य निकायबीच समन्वय नहुँदा बिरुवा बिक्रीमा बिचौलिया हाबी देखिएका छन् । जसले गर्दा उत्पादित बिरुवाको बजार सुनिश्चित छैन । खरिद गर्ने किसान पनि मूल्य र बिरुवाको गुणस्तरमा ठगिने गरेका छन् ।
राज्यलाई कर नतिर्ने, राज्यको मापदण्डमा नआएका नर्सरीहरुलाई निश्चित मापदण्डमा ल्याउनका लागि धनकुटा नगरपालिका लागिपरेको वडा नम्बर ३ का वडाध्यक्ष विकास घिमिरेले जनाए ।
अनुदानमा वितरण गरिने बिरुवा खरिद गर्दा सरकारी कर्मचारी पनि बिचौलिया कै प्रभावमा पर्ने गरेको आरोप छ । धनकुटामा सञ्चालित फलफूलका बिरुवा उत्पादन गर्ने नर्सरीले नर्सरी सुदृढीकरण मापदण्ड पालना गरे-नगरेको अनुगमन भएको पाइँदैन ।
साभार:kantipurtv
प्रतिक्रिया