कर्म कल्चर
यो नयाँ स्तम्भ म तनहुँस्थित आफ्नो गाउँको घरबाट सुरू गर्दैछु।
असार १५ को माचोमै पहिलो लेखका अक्षर जोरजाम गर्न केही नयाँ–पुराना धारणाका डल्ला फोड्नुपर्नेछ। आफैले प्रयोग गर्दै हासिल गरेका जिज्ञासामार्फत् माटोबारे केही आवश्यक मतलाई मलजलको मेलो गर्नुपर्नेछ।
हाम्रो खेतमा रोपाइँका लागि उखेलिन लागेको धानको एकथरी नयाँ बेर्ना निकै होचो छ — कालो धान। ब्याडमा अरू प्रायः रैथाने जात छन्। यो नयाँ सदस्यले चामल पनि कालै निकाल्ने बेहोरा कस्तो गर्ला मलाई खुल्दुली छ।
कालो धान चीन र पूर्वी एसियातिर महँगोमा बिक्ने पोषिलो मानिन्छ। शताब्दियौंअघि चिनियाँ बादशाहले यो धान रूचाएको किम्बदन्ती कस्तोसम्म छ रे भने, प्रजाले उब्जाए मृत्युदण्ड नै पाउँथे। त्यति प्रतिबन्धित!
एक दशकअघि कुनै नेपाली मन्त्रीले चीन भ्रमण गर्दा प्राप्त कोसेली नेपाल कृषि अनुसन्धान परिषद (नार्क) पुग्यो। परिषदको मातहत निकाय बाली प्रजनन् केन्द्रमा धान वैज्ञानिक उज्ज्वलकुमार कुशवाहा आफै त्यसबारे जानकार थिए। उनले 'ब्ल्याक राइस' शीर्षकमा त्यसको अध्ययन, इतिहास र विकासबारे लेखेको शोध पुस्तक 'स्प्रिंगर' नामक स्वीस प्रकाशन गृहले छापेको थियो। त्यो बीउ परीक्षण प्रक्रियाबाट पारित भई केन्द्रले उन्मोचन पनि गर्यो।
कुशवाहा भन्छन्, 'कालो धानबारे जनचेतना नभएर हो। अरूको तुलनामा पोषण लाभ धेरै भएकाले म यसको सम्भावना बढी देख्छु।'
कालो धानका अनेकौं प्रकारमध्ये विकास गरिएको यो उन्नत जातलाई कालो धान (एक) नाम दिइएको छ। दुई पनि आउनेवाला छ। यसको नल अरू विकासे धानझैं छोटै हुनेछ। दाना लहलह हुँदा नुहेर ढल्ने छैन। छिट्टै पाक्छ। बढी फल्ला पनि।
जसरी उन्नत धानहरू आए, गाँज हाले, आज देशभरि किसानले सराहना गर्ने धान प्रायः विदेशी नै छन्। जस्तो — अन्न भण्डार मानिने तराईमा पूर्वतर्फ रञ्जित, मध्यमा सोना मन्सुली र पश्चिमतर्फ सर्ज्युबाउन। अझ वर्णशंकरले बढी उत्पादन दिने भन्दै विभिन्न विदेशी ब्रान्डले नेपाली माटोमा जरा गाडिसकेका छन्।
नेपाल सरकारले चलाएका जातमध्ये सावित्री र रामधान स्थापित छन्। सँगसँगै, मकवानपुर १, तरहरा १, बहुगुणी १ र २, चैत ५, खुमल ४ र खुमल बासमती १६ मध्यपहाडका गह्रा उक्लिँदै छन्। यसरी देशभरि चलेका विकासे भनिने जम्मा ९६ वटा जात छन्। तिनका बीउ सरकारी निकायहरूले उपलब्ध गराउँछन्। तीमध्ये उन्नत बनाइएका रैथाने जात जम्माजम्मी पाँच–सातवटा छन्। जस्तै — कालानमक, लल्का बासमती, छुमरूङ, जेठोबूढो।
कुनै क्षेत्र विशेषमा मात्र लाग्ने यी जातलाई विस्तारित क्षेत्रमा पनि फल्न सक्ने बनाइएकाले उन्नत भनिएको हो। ती अलि भाग्यमानी भए। वैज्ञानिक परीक्षणमा छिट्टै आँखा लागे। जस्तै — कालानमकमा लौहतत्त्व बढी भेटियो र सुख्खा सहन सक्ने क्षमता पनि। कुशवाहाका अनुसार त्यस्तै विशेष गुण देखेर विकास गरिएकाले तिनले भूगोल बढाउन पाए।
अधिकांश धानका जात किसानका भकारीबाटै मुसाले खाएर सिध्याएजस्तै हुनुको खास कारण राजनीतिले लिएको 'विकास' को नीति हो।
रैथानेका रैथान विशेष गुण हुन्छन्। निश्चित भूभाग, निश्चित जलवायुका जैविक इतिहास हुन्छन्। किसानले प्रकृतिबाट सापटी लिएर विकास गर्दै आएका आ–आफ्नो क्षेत्रका पहिचानरूपी धानहरू किसानकै कारण घटेका होइनन्। आजको जस्तो प्रचण्ड 'विकास' को प्रकोपमा पनि देशभरि अनुमान गर्दा ५०–६० जति रैथाने धानका जातले माटोपानी देख्न पाएका होलान्। जस्तै — तराईमा घिउपुरी, करियाकमल; मध्यपश्चिम पहाडतिर अनदी, विरमफूल, बर्मेली, जर्नेली, एक्ले, पहेँले, मसिनोहरू; र पूर्वी पहाडतिर मनसरा।
नेपालजस्तो धाने मुलुक, जहाँ जात जातका दाना स्थानपिच्छे बदलिन्थे; नदी, उपत्यकापिच्छे वासना, स्वाद, बनोट, रंगका धान भेटिन्थे; ती सम्पन्न सभ्यताका गेडाहरू सबै कता झरे?
नार्कअन्तर्गत नेपाल आनुवांशिक स्रोत केन्द्रमा दर्ता भएका धानका जात नै करिब दुई हजार चार सय छन्। जीन बैंकका नामले चिनिने स्रोत केन्द्रमा नामसहित दर्ता भएकाभन्दा बढी, अझ तीन हजार जात नेपालमा भेटिने भनेर धानको अन्तर्राष्ट्रिय अनुसन्धान निकाय (इरी) फिलिपिन्समा अंकित छ।
हजारौं जातका धान केवल आधा सयमा सीमित हुँदै जाँदा नेपालले भयानक शून्यता अनुभूति गर्नुपर्ने हो। धानको विविधता व्यापक क्षय भएको दुःखमनाउ गर्नुपर्ने हो। राष्ट्रिय संकट ठानेर समीक्षा गर्नुपर्ने हो। धानका जात सीमित हुँदै जाँदा हाम्रा स्वादहरू संकुचित हुँदै गए। परिकारहरू बदलिए। हाम्रो रोपाइँमा दोपहरे खाजा चल्तीमा थियो, जुन अनदीको चामल रातभरि भिजाएर काँचै खान मिल्ने परिपाक बन्थ्यो। चाडबाड, रीतिरिवाजका परम्परागत पकवान हराउँदै जाँदा धानविशेषका प्रयोजन सकिँदै गए। चाम्रे भनिने चाडविशेषको अनदीको भात सम्झिँदा अहिले पनि मलाई बाल्यकालमा हात सुँघेको, सुँघाउदै हिँडेको झलझल्ती हुन्छ।
'पहिला टोलैपिच्छे बासना चल्थ्यो,' जीन बैंकका प्रमुख बालकृष्ण जोशी हाँस्दै भन्छन्, 'तराईमा राजमार्ग यात्रा गर्दा जहाँ भात खान रोकिनुहुन्छ, त्यहाँ मन्सुली, हैन त?'
सरकारले उत्पादकत्व बढाउने नीतिका साथ विकासे बीउ प्रवर्द्धन गर्न थालेभन्दा छिटो भीरको चिप्लो बाटो हराएका रैथानेको सम्झना गर्ने जिब्रोहरू गाउँघरमा बग्रेल्ती भेटिन्छन्। धानले रैथान हराएपछि एकनासे भातका पोषण, स्वाद, वासना के छ, चामल कोट्याइरहनु पर्दैन। मेरा छिमेकी ८७ वर्षीय झलकबहादुर अधिकारीका शब्दमा 'पहिला थोरै खाँदा अघाइने धान बदलेर धेरै खान सकिने धान भित्र्यायौं।'
जग्गा बाँझो राख्ने, आफू खेती नगरी अधियाँ दिने, बन्धकी दिनेजस्ता चलनले पनि धेरै फल लाग्ने विकासे धान बढायो। धेरै फल्ने जात विकास गर्ने, विकासे बीउ वितरण गर्ने, रासायनिक मल आयात गरी अनुदान दिने नीतिवश किसानको उत्पादन बढ्यो र सरकारको 'उत्पादकत्व'। भरपेट खान धौधौ पर्ने आमजनतालाई चैते धानसमेत आएपछि ठूलै भरथेग भएकै हो। विकासे 'मल' आएपछि गाईवस्तु पाल्ने, भकारो सोहोर्ने टन्टा पनि भएन। बीउ बजारमै पाइने, सरकारले दिने भएपछि भकारीमा राख्नुपर्ने पनि भएन। न भकारीमा मल, न भकारीमा बीउ!
म धेरै वर्ष काठमाडौं बसेर गाउँ फर्किँदा भकारो भर्न गाई खोज्दै हिँड्नुपर्यो। बीउ खोज्न पनि। बूढापाकाहरूसँग सोधपुछ गर्दै जाँदा फलानो धान यस्तो बसाउँथ्यो, उस्तो मीठो हुन्थ्यो भन्ने सुन्नमा जति तल्लीन भएँ, ती प्रायः बीउ हराइसकेको हुनाले तड्पिनुको कुनै तुक हुन्थेन।
हुने खानेले यसो पुरानो स्वाद भन्दै कताकति जोगाएका छन्। प्रकृतिसँग निकट रहने कताकति समुदायले केही जात जोगाऊ गरेका छन्। कतै कतै दातृ संस्थाको पहलमा बीउ संरक्षण अभियानले जगाएका छन्। सयौं, हजारौं वर्षदेखिको मानव सभ्यताको विशाल सम्पदा धान पूर्ण पहिचान हुनुअगावै मानिसको मायामोहको अनिकालमा परेर अकालमा नासिँदा वैज्ञानिक अन्वेषणको सम्भावना पनि मरेको छ।
धान वैज्ञानिकहरू नेपाली किसानलाई सबल रैथाने धान अनुसन्धान उन्नत बनाएर दिन नसकेकामा चूकचूक मान्छन्। सरकारको राजनीति सजिलो खालको छ। कृषिमा बजेट छुट्टयाउँदा अनुसन्धानलाई होइन, अनुदानलाई प्राथमिकता दिन्छ। विभिन्न अनुदानहरू आफैमा समस्याका स्रोत बनेका छन्। किसानलाई मर्यादा दिनभन्दा अवमूल्यन गर्न खोजिएको छ। ज्ञान चाहिने ठाउँ दान दिने चलन बसेको छ।
'हामीले किसानलाई सबभन्दा चाहिने बीउका भेराइटी दिन सकेका छैनौं,' कुशवाहा भन्छन्, 'अनुसन्धानमा जोड छैन। त्यही भएर बजेट छैन, जनशक्ति पनि छैन।'
एउटै उन्नत जात विकास गर्न कम्तिमा बाह्र वर्ष लाग्छ। धानका रैथाने जात नै थप्न सकिने सम्पदासमेत हामीकहाँ छ। जंगली जातमध्ये पाँचौं हालसालै भेटिएको छ, कलैयाको वनमा। जंगली जात नै खेतीमा भित्र्याउँदै बीउ सुधार गर्दै लग्न सकिन्छ। वैज्ञानिक अनुसन्धानले अझ सघाउ पुर्याउनसक्छ।
रैथानको गुण बोक्ने धानले जलवायु संकट सामना गर्न बढी सक्छ। उन्नत भनिनेको भन्न सकिन्न। स्थानीय जलवायु खपेर हुर्केका बीउको खास विकास भनेको त्यसको सुधार हो। सप्रे-सप्रेका दाना जतन गर्ने र हुर्काउने, छनौट र छटनी गर्ने। त्यस्ता योग्य बीउ जगेर्ना र त्यस्ता बीउको विविधता कायम गर्न सकेबापत् किसानलाई श्रेष्ठ प्रोत्साहनबाट धानको रैथान प्रवर्द्धन गर्न सकिन्छ। त्यस्ता बीउको पोषणसहितका गुणहरूको प्राविधिक परख गर्ने र प्रकाश पार्ने राज्य नीतिले बीउलाई बहसको बीचमा ल्याउन सक्छ। बीउ आधारित विकास खोज्ने भनेको विविधता जोगाउने र बढाउने हो।
नेपाल आफै अरू देशको लहैलहैमा हिँड्ने बानीग्रस्त भएकाले मौलिक बाटोको खोजबीन रैथाने बीउझैं बिरानो विषय हो। नेपालले देखासिकी गर्ने भारतकै हालत हेरौं न!
भारतमा दुई लाख जातका धान भएकोमा 'हरित क्रान्ति' सम्म एक लाख बचेका थिए। आज कति बाँकी होलान् कोही अनुमान गर्न सक्नुहुन्छ? पर्यावरण अनुकूल वैकल्पिक विश्वको पैरवी गर्ने एउटा अभियानकारी समूहको एसिया सम्मेलन क्रममा नेपाल आउँदा मार्टिन चौतारीमा आयोजित छलफलमा त्यसका अगुवा मनिष जैनले प्रश्न गर्दै आफै भनेका थिए, 'छ हजार!'
प्रकृति विध्वंस गर्ने वर्तमान विश्व प्रणालीको आलोचना गर्नेहरू बीउबिजन विविधता जस्ता विषयमा बहस माग गर्छन्। 'विकास' को 'एकल संस्कृति' निर्माणरत् हाल तीव्र गतिको 'आधुनिकता' को कटाक्ष गर्ने अर्को बौद्धिक समूहका अगुवा आशिष कोठारीले विश्व सामाजिक मञ्चको सम्मेलनमा काठमाडौं आउँदा यसै वर्ष त्यसैगरी भनेका थिए, 'सीमित जातका बीउलाई रासायनिक मल र विषविषादिसहित फलाउने खेती प्रणालीको परिणाम हो, भातमा त्यस्तो 'मल' को अवशेष वैज्ञानिक परीक्षणमा देखिएको प्रतिवेदन छ।'
नेपालमा त त्यति पनि अनुसन्धान छैन। आधा सयजति रैथाने बीउ आज प्रचलनमा छ भने पनि त्यो किसान मात्रको बलमा हो। हिजो तीन हजारसम्म धानका जात थिए भने त्यो पनि किसानकै बूतामा हो। र, त्यसो गर्ने सबै गुजारामुखी किसान हुन्। गुजारामुखी किसान आज 'विकासे भाष्य' मा गालीका, हेलाका प्राणी हुन्।
तिनै किसानले वासनादार धान कतै जोगाएका छन् भने तिनले बजार भाउ पाउन हम्मे छ। किनभने, वासना चल्ने धानको तौल कम हुन्छ। बजारको तुलोले पनि भाउ दिँदैन।
जसको भाउ छैन, त्यसको के भ्यालू!
जे जस्तो भए पनि, हातमुख जोर्न खेती गर्ने र बचेको बेच्ने किसानहरूलाई धानको गेडाले असार १५ सम्झाइरहने छ।
मानो रोपी मुरी फलोस्!
साभार:सेतोपाति
प्रतिक्रिया