×

पाँच भन्दा धेरै दुहुना गाईभैँसी पाल्ने किसानलाई मासिक रू १० हजार अनुदान

images

गुल्मीको ईस्मा गाउँपालिकाले किसानलाई व्यावसायिकरुपमा पशुपालनतर्फ आकर्षित गराउन उत्पादनमा आधारित अनुदान रकम दिन सुरु गरेको छ । पछिल्लो समय धेरै किसानको पशुपालनतर्फ कम रुचि देखाएकाले पालिकाले प्रोत्साहनस्वरुप गाईभैँसी पाल्ने किसानलाई अनुदान रकम उपलब्ध गराउन थालेको हो ।
पालिकाभित्र पाँच भन्दा धेरै दुहुना गाईभैँसी पाल्ने किसानलाई मासिक रुपमा रू १० हजार अनुदान उपलब्ध गराउने निर्णय भए अनुसार अनुदान रकम वितरण गर्दै आइएको गाउँपालिका अध्यक्ष भगतसिंङ खड्काले जानकारी दिए । उनका अनुसार पालिकाले चालु आर्थिक वर्षमा चार पशुपालन गर्ने फार्मलाई मासिक रू १० हजारका दरले अनुदान रकम उपलव्ध गराएको छ ।
उक्त फार्मले पाँच भन्दा बढी दुहुना गाईभैँसी पाल्दै आएकाले अनुदान रकम उपलब्ध गराइएको अध्यक्ष खड्काले बताए । उनका अनुसार अनुदान पाउनेमध्ये वडा नं ५ मा रहेको नमुना कृषि तथा पशुपक्षी फार्ममा नौ दुहुना गाई, वडा नं–१ को गौरव कृषि तथा पशुपक्षी फार्ममा नौ, वडा नं ६ को घिमिरे कृषि तथा पशुपक्षी फार्ममा नौ र वडा नं २ मा रहेको गगन गृष्मा कृषि तथा पशुपक्षी फार्ममा आठ गरी ३५ वटा दूध दिने गाईभैँसी रहेका छन् ।  
किसानलाई कृषि र पशु पालनमा प्रोत्साहन गर्दै थप हौसला प्रदान गर्न पालिकाले गत आवदेखि अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाकी उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले बताए । “यसरी व्यावसायिक रुपमा सञ्चालनमा आएका फार्मको अवलोकन गर्दा किसानको मेहनत देखेर निकै खुसी लागेको छ”, उनले भने, “यसले ईस्मालाई दूधमा आत्मनिर्भर बनाउन थालेको छ ।”
पालिकाले उपलब्ध गराएको अनुदानको रकमले व्यावसायिक किसानलाई थप ऊर्जा र हौसला थपिदिएको गगन गृष्मा फार्मका सञ्चालक गगन कुँवरले बताए । पालिकाले गत आवमा छ फार्मलाई अनुदान उपलब्ध गराएको थियो । रासस

साभार:हलोखबर

मङ्गलबार ३० असोज २०८० ०५:५५ AM मा प्रकाशित

प्रतिक्रिया