×

प्रविधिले कृषिमा आकर्षण

images

महिलामैत्री औजारहरूको विकास, विस्तार र अनुदान तथा कृषिसम्बन्धी तालिममा प्राथमिकता दिएसँगै उपकरण प्रयोग गर्ने युवतीहरूको संख्या बढेको छ । लुम्बिनी प्रदेशमा मात्र वार्षिक १० हजार बढी यस्ता उपकरण वितरण हुने गरेका छन्  ।

दाङको लमही नगरपालिका–७, फचकपुरकी रुविया चौधरी व्यावसायिक किसान हुन् । ३५ वर्षीया चौधरीले तरकारी खेती गर्न लागेको ६ वर्ष भयो । यति मात्र होइन, उनले मकैको बीउ पनि उत्पादन गर्छिन् ।

घरखर्चका लागि सिजनअनुसारका अन्य अन्नबाली लगाउँदै आएकी छन् । गाउँमा सरकारी तवरबाट मकै जोन सञ्चालनमा छ । व्यावसायिक बनेपछि यान्त्रिकीकरणमा पनि जोड दिन थालिन् । पहिले गोरु, पाडा, ठूला ट्र्याक्टर लगाएर खेतबारी जोतेको अनुभव उनले सुनाइन् । ‘कामदार नपाएपछि के गर्नु आफैं सबै काम सिक्नुपर्छ भन्ने लाग्यो,’ उनले भनिन्, ‘त्यसैले मैले कस्टम हायरिङ (साना प्रविधिका यन्त्र) चलाउन सिकें । जसले गर्दा अहिले मलाई व्यावसायिक कृषिमा सहज भएको छ ।’

मेसिनरी सामान चलाउन सिकेपछि खेतीबाली लगाउन धेरै सहज भएको उनको अनुभव छ । घरमा मात्र होइन, छिमेकीको बाली लगाउन पनि उनले मिनी टिलर, पावर टिलर लगेर चलाउने गर्छिन् । ‘सुरुमा लाज लागे पनि पछिल्ला दिनमा धेरै महिलाले चलाउन थालेका छन्,’ उनले भनिन्, ‘अब हामी यस्ता यन्त्र चलाउन सक्ने मात्र होइन, बाध्य भएका छौं ।’ वार्षिक १० देखि १५ लाख बढीको तरकारी, मकै र अन्नबालीको कारोबार हुन्छ । जसले गर्दा घरपरिवार चलाउन पनि सहज भएको छ । श्रीमान् हरिकृष्ण पनि खेतीबालीमै व्यस्त छन् । छोरीले पनि पढ्दै घरमा सघाउन थालेपछि सहज भएको उनले सुनाइन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकैको सुपरजोन सञ्चालन भएपछि यान्त्रिकीकरणमा जोड दिएको उनले बताइन् । ‘हामीले त्यसअघिसम्म भने गोरु, पाडा र ठूला ट्र्याक्टर प्रयोग गर्थ्यौं,’ उनले भनिन्, ‘पछिल्ला दिनमा भने हामीले चलाउन सक्ने यान्त्रिकीकरणले सहज भएको छ ।’ खाद्यान्नका लागि गाउँमै दाना उद्योग रहेकाले जति उत्पादन गरे पनि समस्या नभएको उनले बताइन् । यान्त्रिकीकरणमा प्रवेश गरेपछि सुख, सुविधा मात्र होइन, काम पनि धेरै भएको उनको अनुभव छ ।

पाल्पा निस्दी गाउँपालिका–४, गल्धाकी दिलमाया सारु अदुवा प्रशोधन उद्योग सञ्चालनमा सबै काम गर्छिन् । गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक रहेकी सारुले अदुवाको प्रशोधनमा आवश्यक सबै काम गर्ने गर्छिन् । महिला सहकारीमार्फत विभिन्न सरकारी र गैरसरकारी संस्थाको सहयोगमा मिनी टिलर, पावर टिलर, हाते ट्र्याक्टर, कम्बाइन मिललगायत वितरण गरिएको छ । ‘गाउँका धेरै महिलालाई मैले नै सामग्री चलाउन सिकाउने गरेकी छु,’ ३४ वर्षीया सारुले मुस्कुराउँदै भनिन्, ‘सुरुमा निकै अप्ठेरो लागेको थियो । अहिले भने मज्जाले चलाउन सक्छु ।’

अदुवा धुने मेसिन, अदुवा काट्ने, सुकाउने, धुलो पार्ने, कम्बाइन मिल सबै यान्त्रिकीकरण हुन् । ती सबै सञ्चालनमा सारुकै सहयोग चाहिन्छ ।

‘सुरुमा मिस्त्रीले सिकाए पनि अहिले सबै काम गर्न सक्ने भएकी छु,’ उनले भनिन्, ‘यति मात्र होइन, बिग्रियो भने सानातिना काम पनि गर्न सक्छु ।’ गल्धा सदरमुकाम तानसेनदेखि ६० किलोमिटर टाढा दुर्गम गाउँ हो । यहाँका महिला पिछडिएका छन् । तर पनि सहकारीको माध्यमबाट ५० बढी मिनिटिलर, हाते ट्र्याक्टर वितरण गरिएको छ । यसका सञ्चालक अधिकांश महिला नै हुन् । महिलाहरू गोरुले जोत्न अप्ठेरो मान्छन् । तर यन्त्र सञ्चालनमा भने सजिलै सिक्ने गरेको उनले बताइन् । यहाँ चालु आर्थिक वर्षमै १७ लाख बढी अदुवाको कारोबार भएको थियो । महिलालाई आत्मनिर्भर बनाउन सारुको योगदान छ । गल्धाको मात्र अदुवा नभई सम्पूर्ण निस्दीकै अदुवाको प्रशोधन गर्ने र बिक्रीमा सघाउने योजना उनको छ ।

बजारको खोजीका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समन्वय भइरहेको उनले बताइन् । गाउँमा प्रविधि, यन्त्र भित्र्याउँदा अहिले धेरैले सहज भएको सुनाउँदा खुसी लाग्ने उनले बताइन् । महिलालाई सिकाएपछि सिक्ने र सिकेपछि त्यसलाई प्रयोग गर्न सजिलै सक्ने उनको अनुभव छ । अर्गानिक अदुवा उत्पादनमा महिलाको सहभागिता बढी छ । युवा महिलाहरू पनि पुरुष नभएकाले आत्मनिर्भर हुन खोज्ने सारुले बताइन् ।

रूपन्देहीकी २७ वर्षीया सिर्जना चौधरी देश परदेशकी अनुभवी युवा हुन् । शुद्धोधन गाउँपालिका–७, खुनगाउँकी चौधरी इजरायलको साढे ११ महिनाको तालिम प्राप्त अनुभवी हुन् । माछा सुपरजोन सञ्चालन समितिकी सदस्य रहेकी उनले चारवटा ठूला माछापोखरी सञ्चालन गरेकी छन् । पछिल्लो दिनमा एक बिघा जमिन भाडामा लिएर पोखरी निर्माण गरेकी छन् । ‘विदेशमा गएर सिकेको अनुभवलाई मैले यहाँ सिको गर्दै काम गरेकी छु,’ उनले भनिन्, ‘माछा पोखरीका लागि आवश्यक सबै काम आफैं गर्छु ।’ वार्षिक २५ लाख बढीको कारोबार गर्ने उनले फोर पाइडलको एरिएटर मेसिन, समरसेल पम्प, फिडर मेसिन चलाउन सक्छिन् । सामान्य हाते ट्र्याक्टर, पावर टिलर, मिनी टिलर चलाउन पनि समस्या नभएको उनले बताइन् ।

ठूलो माछा उत्पादन गर्ने र बिक्री वितरणमा कुनै समस्या नभएको उनले बताइन् । उनलाई बाबुआमा, भाइबहिनीले पनि सघाउने गर्छन् । युवा उद्यमीबाट लुम्बिनी प्रदेशस्तरीय अवार्डसमेत पाइसकेकी चौधरीले विदेशमा गएर फर्केपछि धेरै कुरामा परिवर्तन ल्याएको अनुभव सुनाइन् । विदेशमा काम गर्दा समय व्यवस्थापन, आर्थिक व्यवस्थापन, मिहिनेत, उत्पादन बढाउने तरिका सिकेको उनले बताइन् । अहिले उनको मिहिनेत र काम गर्ने शैलीबाट २४ जना युवा महिला माछा पालनमा लागेका छन् । गाउँमा १ सय ५० महिलालाई उनको हौसला मिलेको छ । ‘मैले सिकेको सीपलाई सिकाउन कुनै दुःख मान्दिनँ,’ उनले भनिन्, ‘त्यसैले सबैले मलाई नै खोज्नुहुन्छ । समाजमा अगुवाइ गर्ने मौका दिनुभएको छ । जसले गर्दा मलाई अझ धेरै हौसला मिलेको छ ।’ आफ्नो काम गर्ने र अरूलाई पनि हौसला दिनका लागि समय व्यवस्थापन गर्ने गरेको उनले बताइन् ।

रोल्पा नगरपालिका–४, लिवाङ टुँडिखेलकी हीराकुमारी घलेले बारीमा मिनी टिलर आफैं चलाउँछिन् । पुरुषले गर्ने काम महिलाले पनि गर्न सक्छन् भन्ने गरेर देखाएको उनले सुनाइन् । हाते ट्र्याक्टर लगायत अन्य मेसिनरी सामग्री चलाउन उनलाई कुनै समस्या छैन । ‘म मात्र होइन, धेरै महिला आधुनिक यन्त्र चलाउनमा अघि बढ्नुभएको छ,’ उनले भनिन्, ‘खेतबारी जोत्नलाई अब गोरुको प्रयोगभन्दा बढी मेसिनरी भएको छ ।’ पहाडमा ठूला ट्र्याक्टरले जोत्न खासै मिल्दैन । साना यन्त्रको प्रयोग बढेको छ । उनी सिर्जनशील कृषि महिला सहकारीमा आबद्ध छन् । सहकारीले मकैको बीउ उत्पादन गर्छ । मनकामना ३ जातको मकै बीउ उत्पादन गर्दै आएकाले यसका लागि महिला सहभागिता बढ्दो छ । ‘म सहकारीको अध्यक्ष हुँ तर मैले पनि मकैको बीउ उत्पादन गर्छु,’ उनले भनिन्, ‘समय व्यवस्थापन मिलाएर लिबाङमा कोसेली घर पनि चलाएकी छु ।’

स्थानीय सरकार, प्रदेश र संघीय सरकारले पनि यान्त्रिकीकरणमा जोड दिएका छन् । घलेले पनि ग्रेडिङ, प्याकेजिङ, लेबलिङ, मोस्चयरिङ, बोरा सिलाइ सबै मेसिनबाटै हुने बताइन् । सबै काम गर्न महिला सक्षम भइसकेका छन् । जसले गर्दा सबै जनामा उत्साह बढेको छ । महिलाले काम गर्न सक्दैनन् भन्नेहरूले समेत गतिलो जवाफ पाएको उनले बताइन् । यस वर्ष मात्र ४० क्विन्टल मकैको बीउ विभिन्न जिल्लामा पठाएका छन् । ९० रुपैयाँ किलोमा मकैको बीउ बिक्री हुन्छ । मिनी टिलर, हाते ट्र्याक्टरले जोत्ने गर्छन् । ‘महिलाले चलाउन सक्छन् भन्ने हामीकहाँ हेर्न आउँदा हुन्छ,’ उनले भनिन्, ‘यान्त्रिकीकरणले गर्दा कामको बोझ धेरै कम भएको छ ।’

पाल्पा, रोल्पा, दाङ र रूपन्देहीका केही महिला पात्र उदाहरण मात्र हुन् । रुकुम पूर्वकी प्रेमा बुढाथोकी, बाँकेकी सविता चौधरी, प्यूठानकी तारा पोखरेल, कपिलवस्तुकी विणा भट्टराई पाठक, बर्दियाकी सीता अर्याल, गुल्मीकी नरमाया रानामगर पनि उदाहरणीय युवा महिला हुन् । पछिल्लो १० वर्षयता संघीय, प्रदेश र स्थानीय सरकारमात्र होइन, गैरसरकारी संस्थाले पनि महिलालाई यान्त्रिकीकरणमा लैजान यन्त्र वितरण गर्दै आएका छन् ।

लुम्बिनी प्रदेशमा मात्र वार्षिक १० हजार बढी यस्ता उपकरण वितरण हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रूपन्देहीका प्रमुख नारायण काफ्लेले बताए । महिलामैत्री औजारहरूको विकास र विस्तार हुनु, विभिन्न संघसंस्थाहरूबाट मेसिनरी औजारमा अनुदान प्रवाह हुनु, विभिन्न तालिम तथा भ्रमणहरूमा महिला प्राथमिकतामा हुँदा पनि कृषियन्त्र उपकरण प्रयोगमा महिलाको अवसर बढेको उनले बताए । ‘सरकारी निकायबाट मेसिनरीमा अनुदानको उपलब्धताका साथै कृषिमा मेसिनरीको बढ्दो प्रयोगले पनि महिलाले प्रयोग गर्छन्,’ उनले भने, ‘स्वचालित यन्त्र उपकरणले महिलाको श्रम कम गरेको छ भने व्यावसायिक कृषिमा बढ्दो महिला सहभागिताले पनि यसमा लगाव बढेको हो ।’

लुम्बिनी प्रदेशका १२ जिल्लामा १० हजार बढी महिला स्वरोजगार छन् । त्यसमा १६ देखि ४० वर्षका युवा महिला अधिक छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ पाल्पाका प्रमुख टुकबहादुर थापाका अनुसार खेतबारीमा विषादी छर्ने पावर स्प्रेयर, कम्बाइन मिल, सिकेचर, डिजिटल ब्यालेन्स, हाते ट्र्याक्टर, थ्रेडिङ मेसिन चलाउन सक्ने धेरै महिला छन् । बिरुवा लगाउने, खाडल खन्ने, तेल पेल्ने, कफीको बोक्रा छोडाउने, ग्रेडिङ गर्ने, पल्पिङ मेसिन, दाना पिस्ने लगायतका काममा महिला अग्रसर छन् । ‘अवसर पाए भने महिलाले काम गर्न सक्छन् भन्ने देखिन थालेको छ,’ उनले भने, ‘यान्त्रिकीकरणमा युवा महिलाको अग्रसरता बढ्दा उत्पादनमा पनि वृद्धि भएको छ ।’

वैदेशिक रोजगारीमा पुरुषको सहभागिता बढ्दै जाँदा पनि महिलाहरू यान्त्रिकीकरणमा अघि बढेका हुन् । कृषि विभागका वरिष्ठ इन्जिनियर डा. जितबहादुर चन्दका अनुसार अझै पनि कृषियन्त्र उपकरण प्रयोगमा महिला सहभागिता बढाउन समस्या छ । समान कामका लागि समान ज्याला, फर्म, समूह, सहकारीमा अझै पनि महिला सहभागिता बढाउन नसक्नु, महिला मैत्री यान्त्रिकीकरणको विकास विस्तार नभएको उनले बताए । ‘अझै पनि महिला र पुरुष समान शारीरिक क्षमताका छन् भन्ने जाँगर तथा जनचेतनाको कमी देखिन्छ,’ उनले भने, ‘महिलालाई पनि अब कृषि मेसिनरी सञ्चालन, मर्मतसम्बन्धी प्राविधिक सीप दिनुपर्ने देखिन्छ ।’ लुम्बिनी प्रदेशका गुल्मीमा मकै, सुन्तला, फलफूल, कफी, बाख्रा जोनमा महिला सहभागिता बढ्दो छ । अर्घाखाँचीमा तरकारी, बाख्रा, कफी, सुन्तला, पाल्पामा तरकारी, सुन्तला जात, अदुवा, बेसार जोन सञ्चालनमा छ । रोल्पामा मकै, आलु छ भने रुकुम पूर्वमा ओखर जोन सञ्चालनमा छ । कपिलवस्तुमा धान, तरकारी, माछा, बाँकेमा मकै र धानको जोन सञ्चालनमा छ । रूपन्देहीमा माछाको सुपरजोन, गहुँ, केरा जोन सञ्चालनमा छ ।

साभार:ekantipur

आइतबार​ २१ साउन २०८० १०:३४ AM मा प्रकाशित

प्रतिक्रिया