×

रैथाने माहुरीपालनमा राममाया

images

साता दिदीबहिनी र दुई दाजुभाइमध्ये एक तनहुँको बन्दीपुर गाउँपालिका-५ काल्चोककी राममाया मगरको स्कूल पढ्दापढ्दै बिहे भयो। खेतीपाती गरेर जीविका चलाउने परिवारमा ‘छोराछोरी पढाएर के हुन्छ र?’ भन्ने सोचाइ थियो।

त्यही सोचका कारण कक्षा ८ मा पढिरहेकी राममायाको पनि परिवारले स्थानीय भोला भट्टराईसँग विवाह गराइदिए। विवाह हुँदा भर्खर १७ वर्षमा टेकेकी थिइन्। तर, उनका श्रीमान् पढेलेखेका र महिलाले पनि पढ्नुपर्छ भन्ने सकारात्मक सोच भएकाले अरूले जस्तोे विवाहपछि पढाइ छोड्नुपरेन।

बरू विद्यालयस्तरको पढाइलाई निरन्तरता दिन प्रोत्साहन गरिरहे। पारिवारिक सहयोग पाएपछि उनले कक्षा १२ सम्म पढिन्। त्यही वेलामा छोरा जन्मियो। अनि पढाइमा ‘ब्रेक’ लाग्यो।

त्योवेला सबैको सानै उमेरमा बिहे हुने गरेको उनी सुनाउँछिन्। खेतिपातीको काम तथा पैसा पनि पुर्‍याउन नसकिने भएकाले धेरैले पढाइ छाड्ने उनी बताउँछिन्। “मेरो ८ कक्षामा पढ्दा बिहे भयो, १७ वर्षको उमेरमा,” राममायाले त्यतिवेलाको आफ्नो अवस्था सुनाइन्, “श्रीमान् पढेलेखेको भएकाले विवाहपछि पनि पढाइलाई निरन्तरता दिइराखें। धेरै पढ्न भने सकिएन।”

राजमार्गभन्दा टाढा उनको गाउँ माहुरीपालनका लागि उपयुक्त थियो। तनहुँको दमौलीदेखि डेढ घण्टामा गाडी चढेर पुग्न सकिने काल्चोकमा अहिलेसम्म पक्की सडक पुगेको छैन। बस्ती पनि विस्तार नभएकाले गाउँ ध्वनि र प्रदूषणमुक्त देखिन्छ।

छोरा हुर्काउँदै घरायसी काम गर्नुपर्ने भएकाले पढाइलाई निरन्तरता दिन नसकेकी राममायाको मनमा केही गरौं भन्ने हुटहुटी थियो। जागिर भएन, पैसा कमाउन के गर्ने होला भन्ने चिन्ता पनि थियो। काम खोजिरहेको वेला स्थानीय जुमडाँडा सामुदायिक वन समूहमा संगठित भइन्, जसले कृषि विकास कार्यालय, दमौलीसँग समन्वय गरेर राममायाको चाहनाअनुसार, माहुरीपालन तालिममा सहभागी गराउन पहल गरिदियो।

जंगल छेउको उनको घरमा माहुरीपालनका लागि उपयुक्त होला भन्ने निष्कर्षका आधारमा तालिममा सहभागी गराइएको थियो। माहुरीपालनका लागि राममायाको हुटहुटीले पनि सिफारिशका लागि बल दियो।

सिफारिशको आधारमा हरेक वर्ष जिल्लाबाट एक जनाले पाउने कोटामा उनी छनोट भइन्। ललितपुर गएर एक साता माहुरीपालनको व्यवहारिक सीप सिकिन्।

माहुरीपालनको सम्भाव्यता हेरेर २०७० सालमा देशभरका १९ जना महिलालाई तालिम दिइएको थियो। तालिम लिएका धेरैले माहुरीपालनलाई निरन्तरता दिन सकेनन्। उनले भने मेहनत गर्न छोडिनन्।

अहिले घना जंगल छेउको शान्त ठाउँमा रहेको उनको घर वरपर माहुरीपालन फस्टाएको छ। यसले उनको परिचय पनि फेरिएको छ। लोकप्रियता चुलिएको छ। आर्थिक उपार्जन पनि भइरहेकोे छ। यसबाट उनलाई आफ्नो सामाजिक प्रतिष्ठा माथि उठेको महसूस हुन थालेको छ।

तालिमबाट माहुरीपालनको व्यवहारिक ज्ञान हासिल गरेकी छन्। माहुरीको हेरचाह, रानी माहुरी उत्पादन र मह काढ्ने सीप सिकेकी छन्। उनको व्यवसाय सम्हाल्न अरू कसैको सहयोग चाहिंदैन। बरू, उनी आफैं नेपाल सरकारको ज्ञान केन्द्रमा सहयोगी प्रशिक्षक भएर पनि काम गर्न सक्ने भएकी छन्।

कृषि मन्त्रालय अन्तर्गतका कर्मचारी पनि माहुरीपालन सम्बन्धी कुनै व्यवहारिक समस्या आएमा उनीसँगै परामर्श गर्न थालेका छन्। आफूले सिकेको ज्ञान स्थानीय महिला, सरकारी कर्मचारी र माहुरीपालन सम्बन्धी चासो राख्ने जोसुकैलाई निःशुल्क बाँड्ने गरेकी छन्, राममाया।

जुमडाँडा केही वर्षअघि नाङ्गो डाँडा थियो। स्थानीय बासिन्दाले जुमडाँडा सामुदायिक वन स्थापना गरे। समुदायको पहलमा अहिले हराभरा भएको छ। ४७ हेक्टर क्षेत्रफलमा फैलिएको यो डाँडा अहिले हराभरा भएको छ। साल र चिलाउने प्रजातिका वनस्पति हुर्केर रहरलाग्दो जंगलमा परिणत भएको छ। वन कुखुरा लगायतका जंगली जनावर देखिन थालेका छन्।

जंगल फैलिएर हरियाली भएपछि राममायासँगै गाउँका १९ जना महिलाले माहुरीपालन व्यवसाय शुरू गरेका थिए। दश घर-परिवारले अहिले पनि निरन्तरता दिइरहेका छन्। कृषि व्यवसायका साथै गाउँ पुगेका स्वदेशी र विदेशी पाहुनालाई खान-बस्न मिल्ने होम-स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धन पनि गरिरहेका छन्।

माहुरीपालन व्यवसायमा अरुभन्दा राममाया अगाडि देखिएकी छिन्। विकासे माहुरीको साटो रैथाने माहुरीेपालन गरिरहेकी छन्। उनीसँगै माहुरीपालन थालेका अन्य महिलासँग एक वा दुई घार छन्, उनले भने छलाङ लगाएकी छन्। “एक घारबाट शुरू गरेको त्यतिवेला। अरूको दुई घारभन्दा धेरै छैन। मसँग माहुरी ८० घार छन्,” राममायाले आफ्नो प्रगति सुनाइन्।

उनको कामबाट प्रभावित भएर युवा स्वरोजगार कार्यक्रमले एक लाख २८ हजार रुपैयाँ सहयोग गरेको थियो। सरकारको सहयोग उनका लागि ठूलो प्रोत्साहन बन्यो। स्वरोजगार प्रवर्द्धन गर्न पाएको रकमबाट माहुरी घार किनिन्।

यो व्यवसाय अघि बढाउन यति सहज छैन। कतिलाई माहुरीले टोकेर जीउ सुन्निने र बिरामी हुने समस्या पनि देखिन्छ। माहुरीको टोकाइबाट आत्तिएर कतिले माहुरी घार जलाएर पनि फाले।

बजार मूल्यअनुसार, माहुरीसहितको एक घार किन्न १० हजार तिर्नुपर्छ भने खाली घारको चार हजार। माहुरीले टुनीको घार मन पराउने भएकाले दमौली, चितवन र नवलपरासीको गैंडाकोटसम्म पुगेर माहुरी घार जम्मा गर्छिन् उनी।

माहुरी जोगाउनु अर्को चुनौती छ। त्यसका लागि राममाया खाली घार संकलन गर्छिन्। गोठालोले जंगलको माहुरी भेटेर ल्याइदिए पाँच सय रुपैयाँ दिएर माहुरी घार बढाइरहेकी छन्। व्यवसायिक माहुरीपालकले गर्ने मेलिसेरा माहुरीभन्दा स्थानीय जंगलमा हुर्किएको माहुरी बिस्तारमा उनले जोड दिएकी छन्।

माहुरी पालनबाटै अझ धेरै पैसा कमाउन सकिन्छ भन्ने निष्कर्षमा पुगेकी उनी। त्यसैले व्यवसाय विस्तार गर्न चाहन्छिन्। हुन् पनि चैत र कात्तिकमा गरेर दुईपटक मह संकलन गर्ने गरेकी राममाया एक सिजनमा दुईदेखि तीन लाखसम्म आम्दानी गर्छिन्।

एक दशकअघि माहुरी पालन शुरू गर्दा गाउँमा रैथाने माहुरी लोप हुन थालिसकेका थिए। उनी यो व्यवसायमा आएसँगै स्थानीय महिलाको प्रयासमा फेरि माहुरी संरक्षण हुने क्रम शुरू भएको छ। रैथाने माहुरीको संरक्षण प्राथमिकतामा छ।

माहुरीपालनका लागि भीडभाड भएको स्थानमा बसेर हँुदैन। जंगलको छेउमा बसेर फलफूल र तोरी खेती अनि चिउरी रोपेमा माहुरीपालन फस्टाउँछ, जसबाट मह उत्पादनमा पनि वृद्धि हुन्छ। अब राममाया त्यसकै तयारीमा छन्।

उचित वातावरण मिलेन भने माहुरी भाग्छन्। प्रदूषण र होहल्ला नहुने काल्चोक गाउँमा उनका माहुरी घारबाट भागेको छैनन्। “स्याहार पुगेन भने उडेर जान्छ,” उनी भन्छिन्, “माहुरीले टोक्छ पनि, तर केही पाउन केही त गर्नैपर्‍यो।”

कतिपय स्थानीय बासिन्दाले गाउँ छाडिसकेका छन्। उनलार्ई भने शहरतिर जाऔं जस्तो लागेको छैन। माहुरीझै काल्चोक गाउँमै बस्न मन छ।

गाउँ नै गुल्जार बनाउने योजना

ठूलो मात्रामा माहुरीपालन गर्ने र विकट काल्चोकलाई माहुरीपालकको गाउँका रूपमा चिनाउने राममायाको धोको छ। गाउँलाई कसरी माहुरीपालनको नमुना बनाउने भन्ने योजना पनि तयार गरिसकेकी छन्।

स्थानीय जातको कागती खेती गर्न थालिएको छ। कागतीका ३५० बिरुवा फल्न पनि शुरू गरेका छन्। “फलफूल खेती गर्‍यो भने माहुरीलाई खाना हुन्छ, मह उत्पादन पनि राम्रो हुन्छ,” उनले भनिन्, “कागती बेचेर आम्दानी पनि हुन्छ।”

गाउँका धेरै युवा रोजगारीको खोजीमा विदेश गएका छन्। उनीहरूका परिवारजन शहरको छेउमा गएर बस्न थालेका छन, छोराछोरीलाई राम्रो स्कूलमा पढाउन। तिनै शहरमा अस्थायी बसोबास गरिरहेका गाउँलेको बाँझो भएको खेतीयोग्य जमिन खरीद गरेर कागती खेती र माहुरीपालन व्यवसाय गर्ने उनको योजना छ।

त्यससँगै माहुरीपालन विस्तार त गर्ने भइन् नै फलफूल बिक्रीको योजना पनि बुनिसकेकी छन्। “गाउँमा उत्पादित कृषि उपजको बिक्री-वितरणलाई सहज बनाउन हरेक साताको एकपटक हाट बजारको व्यवस्था गर्ने योजना छ,” राममायाले भनिन्।

गाउँ छोडेर शहर जाँदैमा प्रगति नहुने उनी सुनाउँछिन्। उनी भन्छिन्, “शहर गएर मात्र केही हुँदैन। उत्पादन गर्न सकिएन भने त झन् महँगी बढ्छ।”

गाउँबाट शहरतिर बसाइँसराइ गर्ने प्रवृत्तिदेखि उनी वाक्क भएकी छन्। “कतिलाई गाउँमा बसेर खेतीपाती गरौं, यही व्यवसाय राम्रो हुन्छ भनेर सम्झाइरहेकी छु। तर, कसैले सुन्दैनन्,” उनी भन्छिन्। राममायाको कर्मबाट सबै नभए पनि केही स्थानीय भने प्रभावित भएका छन्।

फेरिएको परिचय

राममाया अहिले घरमा उत्पादित महको ‘लेभलिङ’, ‘प्याकिङ’ गरेर ‘ब्रान्डिङ’मा लागेकी छन्। अर्गानिक भएकाले मह किन्न अग्रिम ‘बुकिङ’ हुन्छ। एकपटक स्थानीय माहुरीको मह चाखेकाहरूले फोन गरेर पुर्‍याइदिन माग गरिरहन्छन्। कति त गाडीमा घरसम्मै आइपुग्छन्। गाउँबाट विदेश जानेहरूले पनि यहींबाट लिएरै जान्छन्।

सरकारी कार्यालयबाट हुने माहुरीपालन सम्बन्धी स्थलगत अवलोकन भ्रमणमा पनि उनलाई सहभागी गराइन्छ। अध्ययन भ्रमणका क्रममा माहुरीपालन हुने तराई र मध्यपहाडी क्षेत्रका सबै जिल्लामा पुगेर माहुरी व्यवसाय सम्बन्धी ज्ञान लिइसकेकी छन्। स्थानीय पत्रपत्रिका, रेडियो र टेलिभिजनले उनीबारे नियमित समाचार, अन्तर्वार्ता र लेख प्रकाशित गरिरहन्छन्। कतिपय त उनीबारे पत्रपत्रिकामा छापिएका समाचार देखाउँदै मह किन्न घरसम्म आइपुग्छन्।

संसारभर वन क्षेत्र मासिँदै गएको भए पनि सहभागितामूलक वन संरक्षणले नेपालमा वन क्षेत्र विस्तार भइरहेको छ। सन् १९८० को दशकमा कुल क्षेत्रफलको २६ प्रतिशतमा सीमित भएको नेपालको वन क्षेत्र बढेर अहिले ४५ प्रतिशत पुगेको छ। त्यतिवेला वन विनाश बढेपछि परीक्षणको रुपमा संरक्षणको जिम्मा समुदायलाई सुम्पिइएको थियो। समुदायले मासिएको वन क्षेत्रमा वृक्षरोपण गरेर हरियाली बढाएको छ।

सरकारले पनि संरक्षण क्षेत्र विस्तार गरेको छ। बढ्दो वन क्षेत्रका कारण माहुरीपालन, पशुपालन र परम्परागत अभ्यासलाई निरन्तरता दिन सजिलो भएको छ। यसका बाबजुद देशभित्र रोजगारीका अवसर नभएका कारण वर्षेनि ६ लाख हाराहारी युवा खाडी, मलेसिया र युरोपेली देशमा रोजगारीको खोजीमा निस्कने गर्छन्।

राममाया स्वदेशमै वनमा आधारित उद्योग र कृषि कर्म गर्न सके देशको अवस्था फेरिन सक्ने बताउँछन्। “राम्रो व्यवस्थापन गर्न सके माहुरीपालन होस् कि पशुपालन, वन उद्यम त जहाँ नि हुन्छ,” उनी भन्छिन्।

केही समय पहिले राममायाको घरभन्दा तल सहमति गैरसरकारी संस्थाले व्यवसायिक तरकारी खेतीको कार्यक्रम सञ्चालन गर्‍यो। तरकारी खेतीको क्रममा विषादीको प्रयोग गरेकाले आठ घार माहुरी भागेर गए।

उनले कृषि बीमाअन्तर्गत क्षतिपूर्ति दाबी गरिन्। तर, अन्य कृषि बालीको जस्तो माहुरीपालनका लागि कृषि बीमाको नीति नभएको बताएर क्षतिपूर्ति पाइनन्।

माहुरी पालनका लागि भने विषादीरहित खेतीपाती आवश्यक हुन्छ। व्यवसायिक तरकारी खेती गर्दा प्रयोग हुने कीटनाशक औषधीले माहुरी मर्ने गरेका छन्।  व्यवसायिक माहुरी पालनका लागि कीटनाशक औषधीको प्रयोगमा बन्देज लगाउनुपर्ने उनी बताउँछिन्।

अनेक चुनौतिका बाबजुद राममाया आफ्नो लक्ष्यमा अडिग छिन्। धेरैका लागि प्रेरणाको स्रोत भएकी छन्। सरकारी कार्यालयका कर्मचारी, कृषि विश्वविद्यालयका प्रध्यापक, विद्यार्थी र विभिन्न परियोजनामा कार्यरत कर्मचारी माहुरीपालनको प्रयोगात्मक सिकाइका लागि काल्चोक पुग्छन्।

“सरकारी कर्मचारी, विद्यार्थी र व्यापारी भ्रमण गर्नुहुन्छ, सबैले राम्रो भयो भन्नुहुन्छ,” राममाया खुशी हुँदै भन्छिन्, “सबैका लागि सिक्ने थलो पनि भएको छ।”

सबैभन्दा महत्त्वपूर्ण त समाजले उनलाई सम्मान गर्न थालेको छ। पहिले खेती किसानी गर्दा हेप्नेहरू माहुरी पालनमा सफल भएपछि प्रशंसा गर्न थालेका छन्। गण्डकी प्रदेश माहुरीपालक महासंघको सदस्य समेत रहेकी उनलाई यही क्षेत्रमा केही गरेर देखाउने धोको छ। “यो सब मेरो कर्मको फल हो,” राममाया भन्छिन्, “अब दायाँ-बायाँ केही गर्दिनँ। यसमै पूर्णकालीन भएर लाग्ने हो।”
साभार:https://www.himalkhabar.com/

सोमबार ४ भदौ २०८० ०४:०० AM मा प्रकाशित

प्रतिक्रिया