×

गुल्मीदरबार र रुरुको नीति : युवालाई विदेश होइन ‘बिजनेस’

images

गुल्मीका १० पालिकाले नीति तथा कार्यक्रम पेस गरेका छन्। अधिकांशका नीति तथा कार्यक्रम शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनकेन्द्रित छन्। गुल्मीदरबार र रुरु क्षेत्र गाउँपालिकाले ‘युवाहरूलाई विदेश होइन बिजनेस’ भन्ने नीति तथा कार्यक्रम घोषणा गरेका छन्।

युवालाई गाउँमै राख्न दुई पालिकाले बनाएको नीति आर्कषक छ। गुल्मी दरबार गाउँपालिका प्रमुख सरोजकुमार थापाले आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा अध्यक्ष युवा उद्यम कार्यक्रममार्फत ‘युवाहरूलाई विदेश होइन बिजनेस’ भन्ने भावना जागृत गराएर स्वरोजगारउन्मुख बनाउने घोषणा गरे।

विपन्न, गरिब, सुकुमबासी परिवारका युवाहरूलाई इलेक्ट्रोनिक्स सामग्री मर्मत, प्लम्बिङ तथा इलेक्ट्रो–मेकानिकल, इलेक्ट्रिसियन, मेकानिकल, ब्युटिपार्लर, होटेल म्यानेजमेन्ट, टायल–मार्बल जडान, व्यावसायिक पशु तथा तरकारी खेतीका लागि आवश्यक सीप, उपकरण र अनुदानमार्फत स्वरोजगार सिर्जना गरेर गरिबी न्यूनीकरणको योजना रहेको थापाले बताए।

त्यस्तै, ‘व्यावसायिक रूपमा खेती गरौँ, कृषिमा आत्मनिर्भर बनौँ’ भन्ने कार्यक्रममार्फत कृषिजन्य उत्पादन, दुग्धजन्य पदार्थको उपभोग र प्रशोधन तथा बजारीकरण, अन्डा, मासु, दूध र खाद्यान्न बाली तथा फलफूलको क्षेत्रमा बजेट विनियोजन गरेर युवाहरूलाई स्वरोजगार बन्न प्रोत्साहन गर्ने नीति पालिकाको रहेको छ। ‘कृषकसँग गाउँपालिका’ र ‘अध्यक्ष उत्कृष्ट कृषक सम्मान’ तथा ‘एक वडा एक नर्सरी’ कार्यक्रम पालिकाले अगाडि सारेको छ।

त्यस्तै, रुरुक्षेत्र गाउँपालिकाले पनि ‘युवाहरूलाई विदेश होइन बिजनेस’ कार्यक्रम घोषणा गरेको छ। गाउँपालिका प्रमुख यदु ज्ञवालीले १४औँ गाउँसभामा प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा कृषि, पशुपालन र उद्यममार्फत ‘युवाहरूलाई विदेश होइन बिजनेस’ भन्ने कार्यक्रम घोषणा गरेका हुन्।

ज्ञवालीले कृषि, पशुपालन, पर्यटन र उद्यमसँगै जोडेर युवाहरूमा बढ्दै गएको परदेश मोहलाई न्यूनीकरण गर्ने गरेर ‘युवाहरूलाई विदेश होइन बिजनेस’ अभियानमा बजेट व्यवस्था गर्ने बताए। जसका लागि जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई अनुदान, कृषि ऋणमा अनुदान, कृषि उत्पादनको बजारीकरण, कोल्ड स्टोर निर्माण, कृषक बिउ, मल र उपकरणमा सहयोग गर्ने ज्ञवालीले बताए।

गाउँपालिका प्रमुख ज्ञवालीले गाउँपालिकाभित्रका युवाहरूको सूची तयार, उचित पारिश्रमिक निर्धारण गरेर स्थानीय विकास निर्माण कार्यमा लगाउने गरेर नीति तथा कार्यक्रममा ‘युवाहरूलाई विदेश होइन बिजनेस’ अभियान समावेश गरिएको बताए।

साभार:nayapatrikadaily

सोमबार ११ असार २०८० ०४:०० AM मा प्रकाशित

प्रतिक्रिया