×

आलु र प्याजमा मात्रै होइन यी खाद्यवस्तुमा पनि सरकारले लगाएको छ 'भ्याट', कस्तो छ बजारमा माग?

images

आयातित खाद्यवस्तुहरुमा सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ। सरकारले लिने कर आयातकर्तादेखि खुद्रा बिक्रेतासम्म पुग्दा जोडिएर उपभोक्ताकै गोजीबाट तानिन्छ। आलु र प्याजमा भ्याट लागेको सर्वत्र चर्चा भइरहँदा दुबैको आयात प्रभावित मात्रै भएको छैन, व्यापारीले लुकाएर अभाव देखाउँदै मनपरी मूल्यमा असुली सुरु भइसकेको छ।

भ्याट लागू गरिएका खाद्यवस्तु आलु र प्याज मात्रै होइनन्, स्याउ, केराउ, एभोकाडो, बोडी, सिमी, स्ट्रवेरी, किबी, स्वीट कर्न लगायतमा पनि भ्याट लगाइएको छ। यसअघि आयातमा भन्सार छुट हुँदै आएका वस्तुमा अबदेखि १३ प्रतिशत भ्याट लाग्ने घोषणा सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको हो।

सबै याम सर्वाधिक बिक्री हुने खाद्यवस्तुमा पर्छ आलु र प्याज। अर्थमन्त्रीले कर लगाउने घोषणा गरेसँगै बजारमा आलु र प्याज महँगिएको छ। व्यापारीले आलु र प्याज लुकाउन थालेका छन्। खुद्रा बिक्रेतासम्ममा भाउ मनपरी असुल्न थालिएको छ। प्याज र आलुको आयात अहिले ठप्प भएको छ। प्याजको माग धेरै र आपूर्ति कम भएको व्यवसायीको दाबी छ।

आलुको भाउ बढे पनि आपूर्तिमा समस्या नभएको उनीहरुले बताएका छन्। तर, भाउ भने पसलैपिच्छे फरक छन्।

त्यसैगरी स्याउ, एभोकाडो, किवी लगायतको आयात घटेको छ। एभोकाडो र किबीसमेत बजारमा निकै कम देखिएका छन्।
सरकारले आयातलाई निरुत्साहन गर्नका लागि भ्याट लगाइएको दाबी गरेका खाद्यवस्तु निकै धेरै परिमाणमा मुलुकमा आयात हुने गरेको हो।

स्वदेशी उत्पादन न्यून हुने भएकाले बजारको ५ प्रतिशत पनि माग नधान्ने भनिए पनि कृषि मन्त्रालयको उत्पादन तथ्यांकले १३ प्रतिशत भ्याट लागेका वस्तुहरुको उत्पादन ठूलो परिमाणमा हुने गरेको देखाएको छ। बजारमा उक्त वस्तुहरुको माग यकिन नहुँदा आयात बढ्दो क्रममा छ।

स्वदेशी कृषि उपजको भण्डारणको उचित प्रबन्ध छैन। जसका कारण उत्पादन भएका बेला बजार भाउ सस्तिन्छ, स्वदेशीको बिक्री सकिएर आयातितको वर्चस्व रहँदा भाउ उकालो लाग्छ। अन्न बाली, तरकारी, गेडागुडी र फलफूलमा किसान र उपभोक्तामैत्री बजार व्यवस्थापनको खाँचो देखिएको छ।

उत्पादित वस्तुको उचित व्यवस्थापन अर्थात कोल्ड स्टोर नबन्दा मौसमी तरकारी एकैपटक बजारमा आउने गरेको छ। एकैपटक धेरै बजारमा आपूर्ति हुँदा भाउ घट्छ। किसानदेखि व्यापारीसम्मले राम्रो भाउ पाउँदैनन्। बाँकी समय अभाव देखिने गरेको छ। त्यसबेला आयातको  भर पर्नुपर्ने हुन्छ।

यसकारण स्वदेशी उत्पादनले बजारको माग धान्ने देखिए पनि उक्त वस्तु लामो समयसम्म स्टक नहुँदा आयात गर्नुपर्ने बाध्यता छ। कृषि मन्त्रालयमा समेत यस्ता वस्तुको बजार माग कति छ र आपूर्ति व्यवस्थापन कसरी सुदृढ पार्ने भन्ने न कुनै योजना छ न त अभ्यास।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार नेपालमा प्याजको वार्षिक उत्पादन २ लाख ९० हजार टन अर्थात २ करोड केजी छ। ३३ लाख टन अर्थात २ अर्ब ९९ करोड केजी हाराहारीमा आलु उत्पादन हुने गरेको छ। पहिले भन्दा आलु र प्याजको उत्पादन बढ्दै गएको कृषि मन्त्रालयले जनाएको छ।

चालु आर्थिक वर्षको १० महिनामा २७ करोड ३७ लाख केजी आलु आयात भएको छ। गत आर्थिक वर्षमा करिब ३२ करोड ७६ लाख केजी आलु आयात भएको थियो। यस अघि आलु आयात गर्दा ४ प्रतिशत भन्सार तिर्नुपर्ने नियम थियो।

चालु आर्थिक वर्षमा प्याजको आयात ठूलो परिमाणमा घटेको छ। जसमा १२ लाख ५६ हजार केजीमात्र प्याज आयात भएको छ। गत वर्ष १६ करोड ८५ लाख केजी भन्दा धेरै प्याज आयात भएको छ।

त्यस्तै, स्याउको स्वदेशी उत्पादन वार्षिक ४ करोड ४० लाख केजी भन्दा बढी छ। विदेशबाट वार्षिक ७ करोड केजी बराबर स्याउ आयात हुने गरेको छ। बजारमा सामान्य समयमा डेढ लाख केजीभन्दा बढी स्याउ दैनिक कारोबार हुन्छ।

केराउ, बोडी र सिमी लगायतको नेपाली उत्पादन ९ करोड केजी छ। बाहिरी मुलुकबाट उक्त यी खाद्यवस्तुहरु २८ लाख केजी भन्दा बढी आयात भएका छन्।

पछिल्लो समय नेपाली बजारमा उपभोक्ताको रोजाइमा परेका एभोकाडो, किबी र स्ट्रबरीको व्यवसायिक उत्पादन बढ्ने क्रममा छ। तर कृषि मन्त्रालयको गत वर्षसम्मको तथ्यांकमा किबी मात्र समावेश छ।

स्वदेशी किबीको उत्पादन ५८ लाख केजी छ। चालु आर्थिक वर्षमा ४ लाख ३६ हजार केजी आयात भएको छ। एभोकाडो र स्ट्रवरीको उत्पादनको तथ्यांक मन्त्रालयले चालु वर्षदेखि राख्‍ने तयारी छ। चालु आर्थिक वर्षमा १ लाख ८५ हजार केजी एभोकाडो आयात भएको छ। स्ट्रवरी ७ हजार ३ सय ७३ केजी आयात भएको छ।

कोभिड १९ संक्रमणको महामारीपछि स्थानीय बजारमा यस्ता खाद्यवस्तुको माग बढ्न थालेको छ। त्यसयता आन्तरिक उत्पादन पनि वृद्धि हुँदै आएको व्यवसायीले बताएका छन्। तर स्वदेशी उत्पादन मागका तुलनामा पर्याप्त हुन सकेको छैन। कतिपयको गुणस्तर वृद्धिमा उत्पादकलाई हेक्का नै छैन।

सरकारले १३ प्रतिशत भ्याट लगाएको वस्तुमा स्वीट कर्न र खुर्पानी पनि छ। यो नेपालमा उत्पादन हुँदैन। खुर्पानी मसलाको रुपमा प्रयोग हुने भएकाले यसको माग चाडपर्वमा हुने गरेको छ।

स्वीट कर्नको खपत व्यवसायिक क्षेत्रमा भइरहेको छ। होटल, रेष्टुरेन्टमा यसको प्रयोग बढ्दै गएको छ। चालु आर्थिक वर्षमा मात्र ४५ हजार केजी खुर्पानी र ४ लाख ३६ हजार केजी स्वीट कर्न आयात भएको छ।

साभार:pahilopost.com

सोमबार ४ असार २०८० ०४:०० AM मा प्रकाशित

प्रतिक्रिया