×

चितवनमा केरा खेती : उत्पादन बढ्दो उत्साह घट्दो

images

रत्ननगर आसपासका किसान २०४५/४६ सालतिर रोवास्टा जातका केरा खेतीको असफलताबाट निराश भइसकेका थिए । धेरै फल्ने भए पनि सानो बोट भएकाले घरीसहित ढल्ने र जेनतेन पाकेका केरा पनि बिक्री नहुने समस्याले उनीहरू आजित थिए ।

यही निराशाबाट गुज्रिरहेका बेला २०५१ फागुनमा नवलपरासीको रजहरबाट चितवनको जयमंगला झरेर अम्बिकाप्रसाद अधिकारीले विलियम हाइब्रिड (पाक्दा पनि हरियै देखिने) र स्थानीय मालभोग जातको केरा खेती सुरु गरे । १६ बिघा जग्गा भाडामा लिएर उनले केरा खेती सुरु गरेका थिए ।

यसरी उनले केरा खेती सुरु गरेको वर्ष दिन नबित्दै माओवादीले सशस्त्र युद्ध सुरु गर्‍यो । तर पनि, अम्बिकाको उत्साहले यहाँका किसान केरा खेतीमा फर्के । सशस्त्र संघर्षको उत्कर्षका बेला विविध कारणले विस्थापित भएर गोरखाबाट चितवन झरेका धेरै किसानले केरा खेती सुरु गरेर आय आर्जनको बाटो समाते । चितवनमा व्यावसायिक केरा खेतीको सूत्रधारको परिचय बनाएका अम्बिका तीन दशकयता निरन्तर केरा खेतीमै छन् । ‘६ लाख खर्चेर १६ बिघामा खेती गर्दा आठ/नौ लाखको केरा बिक्री भयो,’ पुराना दिन सम्झिँदै उनले सुनाए, ‘यही कारोबारले मेरो उत्साह झन् बढाइदियो ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ चितवनका अनुसार अहिले जिल्लामा २ हजार ५ सय ३४ हेक्टर जमिनमा केरा खेती भइरहेको छ । ४७ हजार १ सय ८७ टन केरा उत्पादन गर्ने चितवन क्षेत्रफलका हिसाबले धेरै केरा खेती गर्ने दोस्रो जिल्ला हो । मुलुककै कुल केरा उत्पादनमा चितवनको योगदान १५ प्रतिशत रहेको इकाइका कृषि अधिकृत इन्द्र ढुंगनाले बताए । ‘चितवनमा यातायात पहुँच सहज छ,’ उनले भने, ‘यहाँका उत्पादन ठूला सहरहरू पोखरा, काठमाडौंसम्म सजिलै लैजान सकिन्छ । त्यसैले पनि यहाँ केरा खेती फस्टाएको हो ।’

आफ्नै केरा बगानमा घननाथ महतो

अम्बिकाको सफलताबाट प्रेरित भएर रजहरबाट चितवन पुगेर ०५७ सालबाट यज्ञप्रसाद सुवेदीले केरा खेती सुरु गरे । उनले अहिले ५० बिघामा केरा लगाएका छन् । ०६१ सालदेखि केरा खेती सुरु गरेका शंकर सुवेदीले हाल साझेदारीमा सय बिघामा केरा लगाएका छन् । नाताले यज्ञ र शंकर दुवै अम्बिकाका भाइ पर्छन् । चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार न्यूनतम १०

कट्ठादेखि अधिकतम सय बिघासम्ममा केरा खेती गर्ने ७ सय १२ जना किसान जिल्लामा छन् । ०६७ सालमा उद्योग वाणिज्य महासंघले एक गाउँ एक उत्पादन (ओभीओपी) कार्यक्रम सञ्चालन गर्दा चितवनको जयमंगला क्षेत्रलाई केरा खेतीका लागि छनोट गरिएको थियो । व्यावसायिक केरा खेतीको जग बसाएका अम्बिकाप्रसाद आफैं भने ०६३ सालयता केरा खेतीभन्दा माछापालन व्यवसायतिर बढी सक्रिय छन् । ‘१६ बिघामा गर्दै आएको केरा खेती घटाएर ६ बिघामा खुम्च्याएको छु,’ उनले भने, ‘जग्गा र रोगको समस्याले यसको भविष्य नदेखेर अन्यत्र हात बढाएको हुँ ।’

चितवनमा जग्गा भाडामा लिएर केरा खेती सुरुवात गर्ने अम्बिकाप्रसाद अधिकारी (दायाँ) जग्गा दाता बद्रीप्रसाद सुवेदीसँग ।

चितवनले व्यावसायिक केरा खेती सुरु गरेको तीन दशक लामो यात्रामा केही सफलता पाए पनि यसको भविष्यलाई लिएर यहाँका किसान निश्चिन्त छैनन् । बजारको अस्थिर चरित्र, रासायनिक मलखादको अभाव, खेतीयोग्य जमिन नपाइने र अनेकन रोगको प्रकोपले यहाँको केरा खेतीमा लागेका किसान हैरान छन् । यद्यपि, ठूलो क्षेत्रफलमा केरा खेती गरिरहेका केही किसानको लोभलाग्दो सफलताले यसको भविष्यमा आशाको सञ्चार पनि गराइरहेको छ ।

वाणिज्यशास्त्रमा स्नातक र मानविकीमा स्नातकोत्तर गरेका माडी लौगाईका ५६ वर्षीय घननाथ महतोले मंगलपुर आएर १० बिघामा व्यावसायिक केरा खेती सुरु गरे । हाल जगतपुरमा २५ बिघामा केरा खेती गरिरहेका छन् । ०५९ सालमा १० बिघाबाट सुरु भएको उनको केरा खेती फैलिने र खुम्चिने क्रम जारी छ । केरा खेतीकै आम्दानीले भरतपुरको माछापुच्छ्रे चोकमा घर–घडेरी जोडेको बताउने घननाथ यसैको आम्दानीले तीन छोरीलाई पढाउन सम्भव भएको कुरा सुनाउँदा ज्यादै हर्षित देखिन्छन् । ‘जेठी र माइली छोरीले नर्सिङमा स्नातक गरिसके,’ उनले भने, ‘कान्छीले अहिले चीनमा एमबीबीएस् पढ्दै छन् । यो सबै केरा खेतीकै देन हो ।’

सफलताको लोभलाग्दो कथा बटुलेका घननाथ पनि अहिले केरा खेतीको भविष्यलाई लिएर सशंकित छन् । त्यसैले त ०६१ सालसम्म जगतपुर, मंगलपुर र मेघौलीमा गरेर ३५ बिघामा केरा खेती गरिरहेका उनी अहिले त्यसलाई घटाएर २५ बिघामा खेती लगाइरहेका छन् ।

केराको आम्दानीले बनाएको घर अगाडि नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्त ।

‘एकै ठाउँमा धेरै जग्गा पाइँदैन, फेरि पाइएको सबै जग्गा केरा खेतीका लागि उपयुक्त पनि भएन,’ उनले भने, ‘त्यसैले छरिएर धेरै ठाउँमा गर्नुभन्दा क्षेत्रफल घटाउन बाध्य भएँ ।’ पूर्व–पश्चिम महेन्द्र राजमार्गको बकुल्लहरबाट उत्तर रत्ननगर नगरपालिका–१२ जमुनापुर अद्वैत टोल पुगेर विष्णुहरि पन्तको घर खोज्न जोकोहीलाई अहिले सजिलो छ । ‘साढे तीन कटठ जग्गामा फैलिएको अढाई तले घर र आँगनमा रहेको सेतो कार केरा खेतीकै उपज हो,’ उनले भने, ‘यस्ता सफलताका कथा सुनाउन पाउँदा मनै फुरुङ्ङ हुन्छ ।’

२१ वर्षको उमेरमा वैदेशिक रोजगारका लागि इजरायल पुगेका विष्णुहरिले त्यहाँ कृषि क्षेत्रमा चार वर्ष काम गरे । स्वदेश फर्केपछि उनले दुई बिघा जमिनबाट केरा खेती सुरु गरेर ५० बिघासम्म फैलाए । तर, अहिले उनीसँग यसबाट प्राप्त सफलताको कथा मात्रै छैन, लगाइरहेको मालभोग जातको केरामा रोग देखिएपछि २० बिघामा केरा लगाउनै छाडेको पनि बताए ।

‘अहिले मालभोगको विकल्पमा चिनी चम्पा र जी नाइन केरा खेती गरिरहेको छु,’ उनले भने, ‘रोग प्रतिरोधी केराको जात पाए जग्गा बढाउने सोच छ ।’ विष्णुहरिको भनाइले पनि केरा खेतीबाट सफलता पाएका किसानहरू पनि आफ्नो भविष्यलाई लिएर ढुक्क नभएको बुझाउँछ ।

हाल भरतपुरको आस्थाचोकमा बस्दै आएका ४५ वर्षीय यज्ञप्रसाद सुवेदी हरेक दिन आफ्नो रातो कार चलाएर २० किलोमिटर पश्चिम जगतपुरमा रहेको केरा बगानसम्म पुग्छन् र कामदारसँगै दिनभरि खटिन्छन् । चितवन केरा उत्पादक संघका पूर्वअध्यक्षसमेत रहेका उनले पनि सम्भावित जोखिमकै कारण केरा खेतीको क्षेत्रफल ७५ बिघाबाट घटाएर ५० बिघामा सीमित पारेको सुनाए । ‘म जग्गा खोज्दै चितवनको पदमपुर, खैरहनी मात्रै होइन, कपिलवस्तुको चन्द्रौटासम्म पुगें,’ उनले भने, ‘छरिएको जमिनमा केरा खेती गर्न गाह्रो रहेछ ।’

मीनप्रसाद भट्टराईसँग मिलेर चितवनको पदमपुर, कुमरोज, कठार र खुरखुरेमा झन्डै सय बिघामा केरा खेती गरिरहेका शंकर सुवेदी यसको सफलताबाट जति सन्तुष्ट छन्, उति नै यसको भविष्यलाई लिएर चिन्तित पनि छन् । गत वर्ष चाहिएका बेला मल नपाएपछि त्यसको असर अहिले बेहोरिरहेको उनले बताए । ‘यस वर्ष मलकै कारण केराको उत्पादन ढिलो भयो,’ उनले भने, ‘जसको असर मूल्यमा परेको छ ।’

चितवनमा केरा खेती गर्ने किसानहरू एक समय हावाहुरीको समस्याले आजित थिए । ०७१ सालपछि केराका बोट बिमा गर्ने कार्यक्रम सुरु भएपछि किसानको चिन्ता थोरै भए पनि कम भएको थियो । आर्थिक वर्ष ०७०/७१ मा कृषि बिमा गर्दा सुरुमा सरकारले प्रिमियमबापत आधा रकम बेहोर्ने गर्थ्यो । आधा किसानले नै बुझाउनु पर्थ्यो । पछि सरकारले दिने हिस्सा बढेपछि केरा खेती गर्नेहरू बिमा गर्न अग्रसर भए ।

प्रिमियमको रकममध्ये अहिले सरकारले ८० र किसानले २० प्रतिशत बेहोर्छन् । चितवन केरा उत्पादक संघका पूर्वअध्यक्ष यज्ञप्रसाद बिमा गर्दा किसानले प्रतिबोट ३ रुपैयाँ ७५ पैसा बुझाउनुपर्ने बताउँछन् । ‘क्षति भएमा तय गरेको लागत मूल्यको ५५ देखि ९० प्रतिशतसम्म बिमाले बेहोर्छ,’ उनले भने, ‘यस वर्ष एउटा बोटको अनुमानित उत्पादन लागत २ सय ७५ रुपैयाँ कायम गरिएको छ । लगाएको कति समयपछि क्षति भएको हो, त्यही आधारमा बिमा रकम पाइन्छ ।’

चितवनमा व्यावसायिक केरा खेतीको सबैभन्दा ठूलो समस्या भारतीय केरासँगको प्रतिस्पर्धाभन्दा केरामा लाग्ने रोगसँग सम्बन्धित रहेको किसानको गुनासो छ । भारतबाट आउने हरियो केराको तुलामा स्थानीय मालभोग जातले राम्रै बजार लिइरहेको थियो ।

विष्णुहरि पन्तको बारीमा हुर्कंदै गरेका केराका बोट

बजार बढ्दै गएका बेला ०७५ सालतिर यो जातको केरामा रोग लाग्न सुरु भयो । ‘पानामा भन्ने ढुसीका कारण केराका बोट र फल मासिन थालेपछि उत्पादन त घट्यो नै, ठूलो क्षेत्रफलमा केरा खेती गर्नेहरू पनि खुम्चिन थाले,’ कृषि अधिकृत ढुंगानाले सुनाए, ‘पानामाले सताउन थालेपछि मालभोग लगाउने क्षेत्रफल घट्न सुरु भयो ।’

पानामा रोगले सताएको जमिनमा फेरि मालभोग केरा लगाउँदा रोगको जोखिम उत्तिकै हुने भएकाले धेरैले नयाँ जमिन भाडामा लिएर खेती गर्ने प्रयास गरेको ढुंगानाले बताए ।‘घडेरीका लागि खण्डीकरण भएर धेरै क्षेत्रफलमा जमिन पाउनै सकस छ,’ उनले भने, ‘पानामाको संक्रमणबाट बच्न कतिपय किसानले यो रोगले नछुने जी नाइन जातको केरा लगाउन थाले ।’

तर, मालभोगको स्वादसँग अभ्यस्त ग्राहकले जी नाइन नरुचाउने पो हुन् कि भन्ने चिन्ता बढ्दो छ । हेर्दा पहेँलो र खाँदा स्वादिलो गुण भएको मालभोग नेपाली बजारको पहिलो रोजाइ हो । ‘यसको विकल्पमा चिनी चम्पा भन्ने जात आएको छ,’ विष्णुहरिले भने, ‘त्यसको परीक्षण गरिरहेका छौं । उपयोगी हुने देखिएको पनि छ । जीनाइन पनि बढाउँदै लैजानुको विकल्प छैन ।’

कृषि अधिकृत ढुंगानाका अनुसार ०७५/७६ मा चीनबाट आएका कृषि वैज्ञानिकले पनि पानामा रोगबारे अध्ययन गरेको बताए । ‘गत फागुनबाट नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिकको सहयोगमा अर्को परीक्षण पनि भइरहेको छ,’ उनले भने, ‘खेतमा प्रांगारिक मल बढाउने, ढुटो, मोलासेस राख्ने गरे पानामाले असर गर्छ कि गर्दैन भनेर हेर्दै छौं ।’

चितवनका केरा उत्पादकहरू भारतीय केरासँग पनि उत्तिकै प्रतिस्पर्धा गरिरहेका छन् । केरा लगाउने किसानको केन्द्रीय संस्था नेपाल केरा उत्पादक महासंघका अध्यक्षसमेत रहेका विष्णुहरिका अनुसार लगाएको १२/१३ महिनाभित्र केरा तयार हुन्छ । वैशाखदेखि असारसम्म केराको राम्रो मूल्य आए पनि भदौदेखि पुससम्म उत्पादन बढी भएका बेला यहाँ मूल्य घट्छ । ‘यही बेलामा भारतबाट प्रशस्तै केरा भित्रिन्छ,’ उनले भने, ‘जबकि, यो बेला स्वदेशी केराले नै बजारको माग धान्न सक्छ ।’

जगतपुरको केरा बगानमा यज्ञप्रसाद सुवेदी। तस्बिरहरू : रमेशकुमार/कान्तिपुर

गत वर्ष मात्रै नेपालमा १ अर्ब ६२ करोड रुपैयाँ बराबरको केरा आयात भएको भन्सार विभागको तथ्यांक रहेको कृषि अधिकृत ढुंगानाले जानकारी दिए । भारतीय केराको प्रतिकिलो ४० रुपैयाँ मूल्य कायम गरेर त्यसको २० प्रतिशत अर्थात् ८ रुपैयाँ भन्सार लिने गरेको उनले बताए । तर, औपचारिक तथ्यांकभन्दा धेरै केरा भित्रिएको किसानहरूको दाबी छ । ‘एउटै बिलमा ५/६ वटा गाडी भित्रिन्छन् भन्ने सुनिन्छ । यस्ता केस हामीले फेला पारेर समाएको पनि हो,’ चितवन केरा उत्पादक संघका पूर्वअध्यक्ष यज्ञप्रसादले भने, ‘त्यसैले केरा आयातको आकार अझै ठूलो छ । यसले राजस्व गुमेर सरकारलाई घाटा त छ नै, नेपाली किसानलाई झनै ठूलो मार परेको छ ।’

नेपालमा केरा उत्पादन कम हुँदा भारतले बढी मूल्यमा र यहाँ उत्पादन बढी हुँदा भारतबाट कम मूल्यमा केरा भित्रिने गरेको विष्णुहरिको तर्क छ । ‘यसले यहाँका किसान ज्यादै मर्कामा परेका छन्,’ उनले भने, ‘त्यसैले नेपालको केरा उत्पादनको अवस्था हेरेर भारतीय केराको मूल्यांकन र भन्सार दर परिवर्तन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

चितवनको केरा व्यवसाय पहिलेभन्दा राम्रो भए पनि सुधारका लागि गर्नुपर्ने काम थुप्रै भएको चितवन महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक एवं चितवनका पुराना फलफूल व्यवसायी थिरप्रसाद धिताल बताउँछन् । बर्खायाममा बजारमा आउने चितवनका केराका कोसामा केही दाग र थोप्ला देखिने उनले बताए । आकारका हिसाबले भारतीय केरा ठूला हुने र देख्दा सफा र सर्लक्क परेका हुने तथ्य नेपाली किसानले मनन गर्नुपर्ने उनले सुनाए ।

‘भारतीय केरा कार्टुन र क्रेडमा प्याक गरेर बजारमा आउँछ,’ उनले भने, ‘चितवनमा पनि केहीले यसै गर्न सुरु गरेका छन् । तर, प्रायःले केराको घरी काटेर गाडीमा राखेर बजार पठाउँछन् ।’ यसले पनि नेपाली केरा सफा नदेखिने उनले सुनाए ।

‘एकै सिजनमा केरा लगाउने र एकैसाथ बजारमा ल्याउँदा पनि समस्या छ,’ उनले भने, ‘कुनै बेला उत्पादन नै नहुने र कुनै बेला मागभन्दा धेरै उत्पादन हुँदा यहाँ समस्या छ ।’ बिक्री हुने ग्यारेन्टी भए चितवनका किसान अझै धेरै क्षेत्रफलमा केरा लगाउन तयार रहेको चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले बताए । ‘बिमाले गर्दा हामीहरूलाई निकै राहत भए पनि गर्नुपर्ने कामहरू धेरै छन्,’ उनले भने, ‘प्राविधिक र विज्ञहरू खासै छैनन् । सरकारले यसमा ध्यान दिनुपर्छ ।’

त्यसैगरी केराका सहउत्पादनहरूमा ध्यान नपुगेको स्वयं किसानहरू पनि स्विकार्छन् । परियोजनाले रौतहटमा केराको रेसा उद्योग खोलेर सेनेटरी प्याड बनाउने योजना ल्यायो । २४ लाख रुपैयाँ बराबरको यो योजनाका लागि परियोजनाले १० लाख रुपैयाँ अनुदान दिने भयो । तर, त्यहाँका किसानलाई यो अवधारणाबारे बुझाउनै एक वर्ष लाग्यो । त्यसपछि उद्योग स्थापना गर्न थप एक वर्ष लाग्यो । साउन तेस्रो सातादेखि उत्पादन सुरु भएको छ तर बजार गइसकेको छैन ।

केराबाट चिप्स, मःम, अचार, तरकारी, पकौडा, वाइन, क्यान्डी, दुधमा घोलेर खान मिल्ने पाउडरलगायत १७ थरी परिकार बनाउन सकिने भए पनि यस्तो सम्भावनामाथि धेरै काम हुन नसकेको चितवनका किसानको गुनासो छ । केराको खेर जाने बोट (थाम) बाट रेसा निकालेर कपडा तयार गर्नेजस्ता काम गर्न सके केराको खपत बढाउन सकिने यहाँका किसानको सुझाव छ ।

‘उद्योग चलाउन कम्तीमा पनि दुई सय दिन चल्ने गरेर कच्चा सामग्री तयार हुनुपर्दो रहेछ,’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको केन्द्रीय कार्यालयमा रहेका योजना अधिकृत माधव पौडेलले भने, ‘नेपालमा केराका कोसा उत्पादनमा मात्रै धेरैको ध्यान छ । त्यही पनि पुग्दो उत्पादन हुन सकेको छैन ।’

शुक्रबार​ ८ भदौ २०८० ०४:०० AM मा प्रकाशित

प्रतिक्रिया