×

मकै, कोदो छाडेर कफी खेतीमा लागे खानीखोलाका किसान

images

काभ्रे — केही वर्षअघिसम्म खाद्यबालीमा आश्रित काभ्रे खानीखोला गाउँपालिका–१ हात्तीडाँडाका राजकुमार लामा आजभोलि कफी खेतीमा रमाएका छन् । मकै, कोदो, फापर लगायत बालीले वर्षभरी जीविका धान्न मुस्किल परेपछि राजकुमार कफी खेतीतिर लागेका हुन् । 

विगत ४ वर्षदेखि राजकुमारले कफी खेती गर्दै आएका छन् । होचो र अग्लो जातका कफी ६ रोपनी क्षेत्रफलमा लगाएका छन् । पोहोरदेखि कफीबाट उत्पादन पनि निकालिएको उनले बताए । ‘गत वर्ष ६ सय केजी कफी उत्पादन गरी २ लाख रुपैयाँ आम्दानी भएको थियो’ उनले भने ।

कफी खेती गरेपछि घर व्यवहार धान्न सजिलो हुनुको साथै बचत गर्न थालेको उनले बताए । ‘पोहोर कफी राम्रो फलेकाले फाइदा भयो,’ उनले भने, ‘बालबच्चा पढाएर, घर व्यवहार खर्च जुटाएर पनि ६०/७० हजार रुपैयाँ बचत भएको थियो ।’ कफीको बजार राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमै राम्रो भएकाले जिल्लामा कफी खेतीमा किसानको आकर्षण बढेको उनले बताए । व्यवसायिक कफी खेतीका लागि प्राविधिक ज्ञानको आवश्यक भएको बताउँदै उनले भने, ‘हामीले अहिले अरुले गरेको, हेरेको भरमा कफी खेती गरेका छौँ, विषयगत रुपमा प्राविधिक शिक्षाका लागि पालिकामा प्रस्ताव गरेका छौं, चाँडै नै सम्बोधन हुने अपेक्षा छ ।’

उनका अनुसार, कफी खेतीमा राम्रो भविष्य देखेर गाउँका अन्य किसानले पनि व्यवसायिक रुपमै खेती सुरु गरेका छन् । गाउँका ८०/९० घरधुरीमध्ये ३०/४० घरधुरीले कफी खेती गर्न थालेको उनले बताए । खानीखोला–१ हात्तीडाँडाकै सुनाम सिं लोप्चनले पनि व्यवसायिक रुपमा कफी खेती गरेको ३ वर्ष भयो । कफी खेतीबाट भएको आम्दानीले आफ्नो जीवन सहज भएको उनले बताए । ‘मकै, कोदो र फाफरको उब्जनीले त घर व्यवहार धन्न धौ धौ हुन्थ्यो, अहिले कफीको उत्पादान पनि राम्रो भएको छ, यसको बजार पनि राम्रो रहेछ’ उनले भने । गत वर्ष उनले ३ सय बोट कफीबाट २ सय ५० के.जी उत्पादन गरेका थिए । कफी खेतीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले यसलाई थप विस्तार गर्ने उनले योजना बनाएका छन् ।

त्यस्तै खानीखोला–२, फलामेटारकी स्मृती बलले ६ सय बिरुवा कफीका बोट लगाएकी छन् । कफी खेतीमा सुरुवाती वर्ष भएपनि यसबाट राम्रो उत्पादन लिन सकिने उनले अपेक्षा गरेकी छन् । कफी खेतीका लागि राम्रो सिँचाइ र यसको उचित संरक्षण गर्न सकेमा फाइदा निकाल्न सकिने उनले बताइन् । कफी खेतीका लागि स्थानीय स्तरबाट पनि सहयोग प्रदान गर्नुपर्नेमा उनले जोड दिइन् । ‘किसानले कफी खेतीबारे पर्याप्त जानकारी नै पाएका छैनन्’ उनले भनिन् ‘पालिकाले किसानलाई कफी खेतीका बारेमा प्राविधिक ज्ञान दिएमा व्यवसायिक रुपमै कफी खेती गर्न सहज हुने थियो ।’

पछिल्लो केही वर्ष यता खानीखोला गाउँपालिकामा कफी खेतीमा किसानको आकर्षण बढ्दो छ । गाउँपालिकाको अधिकांश स्थानमा विगत २ वर्षदेखि किसानले व्यवसायिक रुपमै कफी खेती गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । गाउँपालिकाभर ३५ हजार केजी कफी उत्पादनबाट २ करोडभन्दा आम्दानी भएको गाउँपालिकाको कृषि विकास शाखाका प्राविधिक सहायक महेश कुमाईले जानकारी दिए । उनका अनुसार, किसानलाई कफी उत्पादनमा प्रोत्सहानका लागि पालिकाले ‘जसको उत्पादन ऊसैलाई अनुदान कार्यक्रम’ सञ्चालन गरेको छ । सो कार्यत्रममार्फत कफी किसानलाई उत्पादनको आधारमा अनुदान प्रदान गरिएको उनले बताए ।

सो कार्यक्रमका लागि पालिकाले ७ वटा किसान समूह गठन गरेर अनुदान वितरण गरेको थियो । समूहमा आबद्ध किसानले उत्पादन गरेको कफी प्रति के.जी ३५ रुपैयाँको दरमा अनुदान प्रदान गरिएको कुमाईले बताए । ‘७ वटा किसान समूहको १५ हजार ५ सय ९३ केजी कफी उत्पादन भएकोमा ५ लाख ४५ हजार ७७६ रुपैयाँ अनुदान समूहलाई वितरण गरिएको थियो’ उनले भने ।

कफी खेतीमा किसानलाई आकर्षण गर्न र उनीहरुलाई प्रोत्साहन गराउनका लागि गाउँपालिकाले थुप्रै कार्यक्रमको तर्जुमा गरेको पालिका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए । उनका अनुसार, पालिकाले अहिले सञ्चालन गरेको ‘जसको उत्पदान ऊसैलाई अनुदान’ कार्यक्रममा सबैलाई समेट्न सकिएको छैन । आगामी कार्यत्रममा सबैलाई समेट्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

साभार:https://ekantipur.com

आइतबार​ २१ जेठ २०८० ०४:१३ AM मा प्रकाशित

प्रतिक्रिया