×

दुई स्थानीय तहका किसानलाई सहुलियत कर्जा

images

दोलखा– दोलखाका दुई स्थानीय तहका किसानले बैंकबाट सहुलियत कर्जा पाउने भएका छन् । कृषि उद्यमीहरूका लागि सहुलियत कर्जा प्रवाह गर्नका लागि तामाकोसी र मेलुङ पालिकाका उद्यमी किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि सामूहिक रूपमा सम्झौता भएको छ ।

कृषि र पशुपालनमा लागेका किसानलाई व्यावसायिक र उद्यमी बनाउनका लागि दुवै स्थानीय तहको पहलमा बैंकसँग सम्झौता भएको हो । ती गाउँपालिकाले पालिकाभित्र रहेका उद्यमी कृषकलाई सहुलियतपूर्ण ऋण प्रवाहका लागि प्रभु, लक्ष्मी, सनराइज र हिमालयन बैंकसँग सम्झौता गरेका छन् । कर्जाका लागि तामाकोसी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसी, मेलुङ गाउँपालिका अध्यक्ष हीराकुमार तामाङ र तीनवटै बैंकका दोलखामा रहेका शाखा प्रमुखबीच हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा गाउँपालिका क्षेत्रका कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवं रोजगारी बढाउन, देशभित्रै रोजगारी सिर्जना गर्न, विदेशबाट फर्केका युवाहरूको सीप र व्यावसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्ने उल्लेख गरिएको छ । दुवै स्थानीय तहले कृषि र पशुपालनमार्फत आयआर्जन र रोजगारी सिर्जना गर्न साझेदारीमा व्यवसाय प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

कर्जाले विपन्न कृषकलाई वित्तीय पहुँचका माध्यमद्वारा कृषि र पशुपालन क्षेत्रमा सहयोग पुग्ने पालिकाको विश्वास छ । योसँगै अब दुई पालिकामा उद्यम गरिरहेका वा उद्यम गर्ने किसानलाई सहुलियतपूर्ण ऋणका लागि प्रक्रिया सुरु हुने मेलुङ गाउँपालिका अध्यक्ष तमाङले बताए । उनले बैंकले ऋण प्रवाह गर्दा वास्तविक उद्यमी पहिचान गरी ऋण उपलब्ध गराउन बैंकलाई आग्रह गरेका छन् ।

‘कृषि र पशुपालनबाटै ग्रामीण अर्थतन्त्र विकास गर्न सकिन्छ भनेर हाम्रो ध्यान र योजना बनेको छ,’ तामाकोसी गाउँपालिका अध्यक्ष केसीले भने, ‘किसानहरूलाई सामूहिक र व्यक्तिगत रूपमा पनि पालिकाले सीप, क्षमता अभिवृद्धि र बीउबिजनमा समेत सहयोग गरेको छ ।’ साझेदारी कार्यक्रममार्फत उन्नत जातका घाँस रोपन, बाख्रा र बंगुरमा नश्लसुधार, गोठ सुधारलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । व्यवसायलाई थप विस्तारका लागि बैंकिङ पहुँच किसानहरूलाई पुर्‍याउन स्थानीय सरकारले नै मध्यस्थता गरेको उनले जानकारी दिए ।

कर्जा प्रवाहमा उद्यमी तथा कृषकलाई बिनाझन्झट कर्जा प्रवाह गर्न अध्यक्ष केसीले अनुरोध गरेका छन् । स्थानीय स्तरबाट उत्पादन हुने मासुजन्य, दुग्ध पदार्थ, कृषि उपजको बजार व्यवस्थापन समेत स्थानीय सरकारले नै गर्ने हुनाले किसानहरूलाई ढुक्कले उत्पादन गर्न समेत उनले आग्रह गरे । सामुदायिक विकास मञ्च नेपाल दोलखा र असल शासन समन्वय समितिको समन्वयमा साझेदारी कार्यक्रम सञ्चालन भइरहेको छ । बैंकले करिब ३ सयभन्दा बढी जना उद्यमी कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बताइएको छ ।

साभार:कारोबार

सोमबार १८ भदौ २०८० ०५:५५ AM मा प्रकाशित

प्रतिक्रिया