×

मध्य साउनसम्म पनि मधेशका ४१ प्रतिशत खेत बाँझै

images

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार १२ साउनसम्म देशको ७७ प्रतिशत खेतमा मात्रै रोपाइँ सकिएको छ। गत वर्ष यही अवधिमा ९० प्रतिशत खेतमा रोपाइँ सकिएको थियो।

बढी धान फल्ने मधेश प्रदेशमा त एकतिहाइभन्दा बढी खेतमा रोपाइँ हुन सकेको छैन। मधेशमा ५१ प्रतिशत खेतमा मात्रै रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ। गत वर्ष यही अवधिमा मधेशका ८९ प्रतिशत खेतमा रोपाइँ सकिएको थियो।

साउनको चौथो सातासम्म धान रोपाइँ गरिने भएकाले अझै पनि रोपाइँको समय बाँकी रहेको मन्त्रालयको भनाइ छ। तर, रोपाइँ ढिला हुँदा धानको उत्पादनमा कमी आउँछ।

मन्त्रालयका अनुसार कोशी प्रदेशका ८४ प्रतिशत, बागमतीका ७२ प्रतिशत र लुम्बिनीका ८१ प्रतिशत खेतमा रोपाइँ सकिएको छ। त्यसैगरी, गण्डकीमा ८२ प्रतिशत, कर्णालीमा ८५ प्रतिशत र सुदूरपश्चिमका ९९ प्रतिशत खेतमा रोपाइँ सकिएको छ।

गत वर्ष करीब १३ लाख ५८ हजार हेक्टर खेतमा धान रोपाइँ भएको थियो। यो वर्ष अहिलेसम्म १० लाख ५३ हजार हेक्टर खेतमा मात्रै धान रोपिएको छ।

मनसुन भित्रिन ढिला भएको तथा पर्याप्त पानी नपरेका कारण धान रोपाइँ हुन नसकेको हो। नेपालमा अधिकांश खेतको सिंचाइ आकाशे पानीमा निर्भर छ।  

भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धका कारण बजारमा चामलको मूल्यवृद्धि शुरू भइसकेका वेला धान रोपाइँमा भएको ढिलाइका कारण उत्पादनमा कमी आएर मूल्यवृद्धि थप चुलिने जोखिम बढेको छ। त्यसो हुँदा उपभोक्ता थप मर्कामा पर्नेछन्।

गत आर्थिक वर्षमा ५४ लाख ८६ हजार मेट्रिक टन धान फलेको थियो। नेपालमा अहिलेसम्मकै सर्वाधिक धान उत्पादन आर्थिक वर्ष २०७७/७८ मा भएको थियो। उक्त वर्ष ५६ लाख २१ हजार मेट्रिक टन धान फलेको तथ्याङ्क छ।
साभार:himalkhabar

शनिबार २० साउन २०८० ०४:०० AM मा प्रकाशित

प्रतिक्रिया