×

अभाव भोग्ने कर्णालीबाटै खाद्यान्न निर्यात

images

लामो समयदेखि कर्णाली खाद्यान्न अभाव हुने क्षेत्रका रुपमा परिचित छ । स्थानीय उत्पादनले यहाँ ६ महिना पनि पुग्दैन । त्यही कारण सरकारले खाद्यमार्फत यो क्षेत्रका लागि चामल आपूर्ति गर्दै आएको छ । बेलाबेलामा खाद्यका डिपोहरुमा चामल सकिँदा स्थानीयमा खाद्यान्नको अभाव भएको देखिन्छ । अहिले पनि त्यस क्षेत्रका विभिन्न डिपोमा चामल छैन ।

खाद्य अभाव झेल्दै गरेको कर्णाली आफैंले विभिन्न किसिमका खाद्यान्न निर्यात गर्दै आएको छ । यहाँ उत्पादन हुने विभिन्न जातका रैथानी बाली बाहिर जिल्लामा निर्यात हुने गरेको हो । एक वर्षमा मात्र कर्णालीले १७ करोड ७० लाख रुपैयाँभन्दा बढीका यस्तै रैथाने खाद्यान्न निर्यात गरेको प्रदेश कृषि मन्त्रालयले जानकारी दिएको छ ।

गत वर्ष कर्णालीले १ अर्ब ७८ करोडका विभिन्न खाद्य तथा कृषिवस्तु निर्यात गरेको छ । यसमध्ये १७ करोड ७० लाखको खाद्यान्न रहेको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । स्थानीय स्तरमा उत्पादित खाद्यवस्तुको उपभोग गर्न नसक्दा कर्णालीले भोकमरी झेल्नुपरेको सरकारी अधिकारी बताउँछन् । विशेषगरी कर्णालीका जाजरकोट, डोल्पा, हुम्ला, कालिकोट, मुगु र जुम्लामा खाद्यान्न अभाव हुने गरेको छ । तर, यिनै जिल्लामा उत्पादन हुने खाद्यान्न देशका ठूला सहरमा निर्यात हुने गरेको छ । मन्त्रालयका अनुसार कर्णालीबाट गत आर्थिक वर्ष २०७९–०८० मा मकै, मार्सी धान, मास, कोदो, चिनो, कागुनो, फापरलगायत २ हजार ८ सय २३ टन खाद्यान्न निर्यात भएको छ ।

मार्सी धानका लागि जुम्ला प्रख्यात छ । यस्तै चिनो, कागुनो, फापरलगायत रैथाने खाद्यवस्तुका लागि हिमाली तथा भित्री मधेशका जिल्ला परिचित छन् । जुम्लाको मार्सी चामल अमेरिकासम्म पुग्ने गरेको छ । यद्यपि, जुम्लालाई भने खाद्यान्नकै पिरलो हुने गरेको छ ।

जुम्लामा वार्षिक ७ हजार ३० टन खाद्यान्न अभाव हुने गरेको प्रदेश कृषि मन्त्रालयको तथ्यांक छ । हुम्ला, डोल्पालगायत जिल्लामा उत्पादित चिनो, कागुनो, फापर विश्व बजारसम्म पुग्ने गरे पनि यी जिल्लामा बर्सेनि खाद्यान्न अभाव हुने गरेको छ । डोल्पामा दुई हजार ७८७, जुम्लामा सात हजार ३०, हुम्लामा आठ हजार २७३ र मुगुमा पाँच हजार ४४४ टन खाद्यान्न अपुग हुने गरेको छ ।

कर्णालीले वार्षिक करोडौंको तरकारीदेखि तरकारीको बिउसमेत निर्यात गर्छ । गत आर्थिक वर्ष कर्णालीले ७४ करोड ७० लाख रुपैयाँको २३ हजार १३४ टन तरकारी निर्यात गरेको मन्त्रालयको तथ्यांक छ । यस्तै, १८३ टन विभिन्न बालीका बिउ बेचेर कर्णालीले ९ करोड ४७ लाखभन्दा बढी रकम भित्र्याएको छ । कृषि मन्त्रालयका सचिव नरहरिप्रसाद घिमिरेका अनुसार गत आर्थिक वर्ष कर्णालीबाट ३३ करोड १५ लाख रुपैयाँको सुन्तला र ७ करोड १० लाखको स्याउ निर्यात भएको छ । कर्णालीबाट ५ हजार ७२८ टन सुन्तला र १ हजार १८१ टन स्याउ गत आर्थिक वर्ष निर्यात भएको हो ।

गत आर्थिक वर्ष कर्णालीबाट १८ करोड ७५ लाख रुपैयाँको ६ हजार ५८७ टन अदुवा निर्यात भएको छ । विशेषगरी सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिम लगायतका जिल्ला अदुवा तथा बेसारका लागि प्रख्यात छन् । एक वर्षको अवधिमा कर्णालीबाट ३ करोड ३५ लाखभन्दा बढीको बेसार निर्यात भएको छ ।

गत आर्थिक वर्ष १४४ टन सिमी निर्यात भएको मन्त्रालयले जनाएको छ । विशेषगरी जुम्लाको सिमी निकै प्रख्यात छ । सिमीबाट २ करोड २९ लाख कर्णालीमा भित्रिएको छ । यस्तै गत वर्ष ८७ लाख ६४ हजार रुपैयाँको मह र १५ करोड २४ लाख रुपैयाँभन्दा बढीको १३ हजार २५४ टन आलु निर्यात भएको छ ।

कर्णालीबाट निर्यात हुने खाद्य तथा कृषि वस्तुको मुख्य बजार नेपालगञ्ज, बुटवल, चितवन, काठमाडौं, धनगढी, पोखरा, वीरगञ्जलगायत सहर हुन् । यद्यपि, कर्णालीले अझै रैथाने उत्पादनको मूल्य र आवश्यक बजार नपाएको कृषि विज्ञहरुको बुझाइ छ । प्रदेश सरकारले कर्णालीमा उत्पादन हुने कृषि वस्तुमा अब आफ्नै लोगो अंकित गर्ने भएको छ । कर्णालीको उत्पादन अब बजारमा जाँदा लोगोसहित जानेछ । कर्णालीमा पनि बहुमूल्य कृषिजन्य वस्तु उत्पादन हुन्छन् भन्ने सन्देश दिन लोगोको व्यवस्था गरिएको कृषि मन्त्रालयले बताएको छ ।

साभार:karobardaily

बिहीबार २५ साउन २०८० ०४:४० AM मा प्रकाशित

प्रतिक्रिया