×

सीमावर्ती क्षेत्रमा रोकिएन कुखुरा तस्करी, नेपाली किसान मारमा

images

भैरहवा । भारतबाट आयातमा रोक लगाए पनि सीमा क्षेत्रमा कुखुराको अवैध कारोबार बढेको छ ।

भारतीय बजारमा कुखुरा सस्तो भएपछि सरकारले आयातमा रोक लगाएको थियो । तर सीमावर्ती नाकामा निगरानी नपुग्दा अवैध रुपमा नेपाली बजारमा भारतीय कुखुराको मासु बिक्री वितरण बढेको हो ।

नेपालमा जिउँदो कुखुराको मूल्य प्रति केजी दुई सय ४० देखि ६० रुपैयाँको हाराहारीमा छ । भारतमा अहिले प्रति केजी भारतीय ९२ रुपैयाँ पर्छ । किलोमा एक सय रुपैयाँ अन्तर भएपछि कुखुरा तस्करी बढेको छ । गएको नौ महिनामा नवलपरासी पश्चिम, कपिलवस्तु र रूपन्देहीका पशु क्वारेन्टाइन कार्यालयले भारतबाट तस्करी भएको करिब ३५ हजार किलो मासु नष्ट गरेको छ ।

सीमा निगरानीका लागि सशस्त्र प्रहरी पहिलो बारका रुपमा नाकामा तैनाथ छ । ठाउँ ठाउँमा जनपथ प्रहरीको पनि उपस्थिति छ । तर, सुरक्षा बार तोडेर नाकामा सहजै तस्करी भइरहको छ । सीमा नजिकै रहेका कुखुरा पालक किसानको अभिलेख कसैले राखेको छैन । न त खोलिएका फार्म र मासु पसलहरु दर्ता नै छन् । त्यस्ता व्यापारीले किसानका नाममा भारतीय कुखुरा तस्करी गर्ने गरेको तथ्य फेला परेको छ ।

बोइलर कुखुरामा सरकारले कुनै अनुदान दिँदैन । बिमा कम्पनीले बिमा गर्न मान्दैनन् । दाना, ब्रिड र बैँक कर्जा महंगो छ जसले गर्दा किसानको उत्पादन लागत बढिरहेको छ । अवैध आयात बढेपछि मारमा परेका सीमावर्ती जिल्लाका कुखुरापालक किसान अहिले तस्करी रोक्न आफैँ सक्रिय भएका छन् ।  

साभार:kantipurtv

बुधबार ३ जेठ २०८० ०४:०० AM मा प्रकाशित

प्रतिक्रिया