×

टाठाबाठाले लिने कृषक अनुदानबारे थाहा छैन २५० भेँडा पालेका सिर्पालीलाई

images

बागलुङ । तमानखोला गाउँपालिका-५ खुङ्खानीका रनबहादुर सिर्पाली उमेरले सात दशक पार गरे । उमेर घर्कँदै गए पनि उनमा काम गर्ने जोश जाँगर भने तन्नेरीको भन्दा कम छैन ।

बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भेँडाबाख्राको स्याहार सुसारमा लाग्ने सिर्पालीका दुई सय ५० बढी भेँडाबाख्रा छन् । जाडो बढेपछि मङ्सिरमा बेसी झरेका सिर्पाली गर्मी याम शुरु भएपछि भेँडाबाख्रा लिएर बुकी चढ्न थालेका छन् । सिपार्ली आफ्ना भाइ देवबहादुर सिर्पालीसँग बुकी चढ्ने तयारीमा छन् ।

देवबहादुरका डेढ सय र रनबहादुरका साढे दुई सय गरी चार सय भेँडा बुकी लैजाने तयारी छ । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि नर्जाखानी जाने सडक उनीहरुको भेडाले ढाकिएका छन् । ठूलो भेँडाको बथानमा केही काला र केही खैरो रङ्गका भेँडा देखिन्छन् । यस क्षेत्रका अधिकांश स्थानीय पशुपालनमै निर्भर छन् । ७१ वर्षीय रनबहादुर भेँडापालनमा लागेको ६४ वर्ष भयो । सात वर्षदेखि भेँडा गोठालो गर्दै आएका सिर्पालीको यात्रा अहिले पनि नडगमगाई निरन्तर चलिरहेको छ ।

बाउबाजेको पेसालाई अँगाल्दै आएका रनबहादुर नयाँ पुस्ता भेँडापालनमा नलाग्दा परम्परागत पेसा हराउना थालेको प्रति चिन्तित छन् । भाइ देवबहादुर पनि सानै उमेरदेखि यही पेसामा आबद्ध हुँदै आएका छन् । ६० वर्षीय देवबहादुर भेँडापालनमा लागेको ५२ वर्ष भयो । 

आठ वर्षकै उमेरदेखि भेँडा चराउन शुरु गरेका सिर्पाली अहिले दाइसँग सहकार्य गर्दै आएका छन् । उनीहरुले भेँडा हुलमूलमा हराउने डरले सिङमा रातो, हरियो लगायतका रङ लगाइ दिएका छन् । भेँडापालन पुर्ख्याैली पेसा भएको हुँदा यसको संरक्षण गर्नुपर्ने रनबहादुरको भनाइ छ ।

उनले आफ्ना पालामा अहिलेको जस्तो पढ्ने लेख्ने जमाना नभएको भन्दै जान्ने बुझ्ने भएदेखि नै गाईभैँसी र भेँडाबाख्रा पाल्न थालेको बताए । रनबहादुरले समय परिवर्तनसँगै गाउँघरमा पेशा पनि फेरिँदै गएको बताए । आफ्ना बाउबाजेले कृषि र पशुपालन गर्न सिकाएको स्मरण गर्दै अहिलेका अभिभावकले पढ्न लेख्न र विदेश जान सिकाउने गरेको उनको भनाइ छ । 

“पहिलेपहिले एकै जनाको दुई/तीन हजार भेँडा हुन्थे, अहिले त भेँडा पाल्ने मान्छे घट्दै गए, थोरैले मात्रै पाल्छन्, हामीको जन्मनै भेडी गोठमा भयो, गोठमै जन्मेको, गोठमै हुर्केको हुँदा हाम्रो पेसा भेडा पाल्ने भयो”, रनबहादुर भन्छन्  “हामीहरुले अरु केही गर्न जानिएन, जानेको यही पशुचौपायाको गोठाला गर्न हो, दुःख पाउनेको कोखमा जन्म भयो, दुःख पाउने पेसानै गर्नुपर्‍यो, सहज बजार त हाम्रो लागि बिरानो लाग्छ, दुःख भए पनि गोठनै रमाइलो हुन्छ ।”

पछिल्लो समय युवा पुस्ताले यो पेशा अँगाल्न नचाहँदा परम्परागत भेँडापालन विस्तारै हराउँदै गएको छ । केही समय अगाडिसम्म बागलुङको उच्च पहाडी क्षेत्रमा भेँडा गोठालो र भेडा प्रशस्त मात्रामा भेट्याउन सकिन्थ्यो । पहिले पहिले भेँडीगोठ जाँदा धेरै जिल्लाका धेरै ठाउँका भेडी गोठालेको जमघट हुने गरेको तर पछिल्लो समय गोठाले कम भएको रनबहादुर बताउछन ।

भेँडापालनबाटै परिवार चलाउँदै आएको देवबहादुरले बताए । उनले पाँच भाइबहिनी छोराछोरी यही पेशाबाटै हुर्काउने र पढाउने गरेको बताए । तीन छोरा र दुई छोरीको विवाहसमेत भेँडा बेचेरै गरेको उनको भनाइ छ । आफूहरुले अहिलेसम्म भेँडापालन गर्दै आए पनि छोराछोरीले यसतर्फ चासो नै नदिएको देवबहादुर बताउँछन् । बुढापाकाले भेँडापाल्न नसक्ने अवस्थामा पुगेको भन्दै अबको एक दशकमा वनपाखा सुनसान हुने उनको भनाइ छ ।

देवबहादुर भन्छन्, “भेँडा चराउन निकै टाढाटाढा पुग्नुपर्छ, हिमालको काखदेखि अग्लो पहाडका टाकुरासम्म पुग्ने गर्छौँ, केही वर्ष अगाडिसम्म भेँडा लगेरमाथि बुकी तिर जाँदा हामी जस्तै धेरै भेँडा गोठालाको भेट हुन्थ्यो, अहिले त निकै कम भएको छ, बुढाहरु मरे होलान्, अहिलेका युवा तन्नेरीले यस्तो काम गर्दैनन्, यही हिसाबले त हामी मरेपछि त भेँडा पनि पाल्न छोड्छन् होला, पढ्ने लेख्ने मान्छेले भेँडा पाल्न गाह्रो मान्छन् ।”

भेँडाको सुरक्षाका लागि उनीहरुले तीन कुकुरसमेत पालेका छन् । उनीहरु जता जान्छन्, भेँडा र कुकुर पनि र उतै लैजाने गर्छन् । अबको एक सातामा बुकी पुग्ने देवबहादुरको भनाइ छ । उनीहरुले अहिले नर्जाखोलाको छेउँमा सानो त्रिपालको छाप्रो बनाएर बस्दै आएका छन् । उनी राति सुत्ने बेला पनि भेँडा उनीहरुकै छेउँछाउँमा बस्ने गर्छन् । भेँडाको बथानमा केही ठूला, केही साना र भर्खर सुत्केरी भएका बाख्रासमेत छन् ।

सरकारले कृषकलाई अनुदानसमेत दिने गरेको छ । टाठाबाठा कृषकले अनुदान लिने गरेका छन् । देवबहादुर र रनबहादुर जस्ता दुर्गम ठाउँका कृषकलाई अनुदान भनेको थाहा नै छैन । उनीहरुलाई सरकारले सहयोग गर्छ भन्दा अनौठो मान्छन् । 

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले भेडापालक कृषकलाई गाउँपालिकाले करको दायरामा लिएर सेवा सुविधा दिन थालेको बताए । उनले तमानखोलामा धेरै पशुपालक कृषक रहेको भन्दै उनीहरुलाई पालिकाबाट प्रदान हुने कुनै पनि सुविधाबाट वञ्चित नगराएको बताए ।

“पशुपालनका लागि तमानखोला उर्बर मानिन्छ, यहाँ घना जङ्गल र भुई घाँसका लागि प्रशस्त ठाउँ छन्, परापूर्वकदेखि नै यहाँका स्थानीयले भेँडापालन गर्ने र आफ्नो जीविकोपार्जन गर्दै आएको हुँदा अहिले पनि त्यो पेशा कायमै छ, बुढापाकाले निरन्तरता दिँदै आउनु भएको छ,” अध्यक्ष बुढा मगरले भने, “उहाँहरुलाई पाल, लाइट र आवश्यक सामग्रीहरु दिँदै आएका छौँ, परम्परागत रुपमा गर्दै आएकोमा अब आधुनिक प्रविधिसँग जोड्ने प्रयास पनि भइ रहेको छ ।”

साभार:hamrakura

शुक्रबार​ ५ जेठ २०८० ०४:०० AM मा प्रकाशित

प्रतिक्रिया