×

भारतको सिमलामा सिकेको सीपले सल्यानमा व्यावसायिक स्याउ खेती

images

घरको आर्थिक अवस्था कमजोर भएपछि १४ वर्षको उमेरमा बीचमै पढाई छाडेर २०५४ मा बन्गाड कुपिन्डे नगरपालिका– ९ जयतपानीका लोकेन्द्रबहादुर बुढाथोकी भारतको हिमाचल प्रदेशको सिमला गए । उमेर सानै भएपनि उनले त्यहाँ चार वर्षसम्म स्याउ फर्ममा काम गरे ।

घरपरिवारको खर्च जोहो गर्ने हेतुले भारतको सिमला गएका उनले परिवारलाई आवश्यक खर्च पनि जुटाउन सकेनन् । पछि स्याउ फर्ममा काम गर्न छाडेर सिमला क्षेत्रमा झन्डै ८ वर्ष उनले मालबाहक ट्रक चलाए । २०६६ सालमा गाउँ फर्किएका उनले अहिले व्यावसायिक स्याउ खेती गरिरहेका छन् ।

८ वर्षदेखि स्याउ खेतीमा लागेका बुढाथोकीले समुन्द्री सतहदेखि करिब २ हजार ५ सय मिटर उचाइमा रहेको घर नजिकै डाँडोमा ११ रोपनी जग्गामा ३ सय ५० बोट स्याउ लगाएका छन् । उनले लगाएको ३ सय बोटमा गत वर्षदेखि स्याउ फल्न थालेको छ । अहिले उनको बगैंचामा स्याउ पाकेर राताम्य हुन थालेका छन् ।

पाखो जग्गामा १० लाख लगानी लगाएर स्याउ खेती गरेका उनले वार्षिक ३ देखि ४ लाख कमाउन थालेको बताए । ‘५ जना परिवारको जीविकोपार्जनमा सहज भएको छ, मौसम अनुसार चार जनालाई रोजगारी दिने गरेको छु’ उनले भने । बगैंचामा स्याउ रातै भएपछि स्थानीय समेत चकित परेका छन् । ‘खुरिल्लो डाँडोमा के स्याउ फल्ला ? भनेर पहिले यहाँका स्थानीयले भन्ने गर्थे’ उनले भने ।

उच्च हिमाली क्षेत्रमा मात्र फल्ने स्याउ सल्यानमा फल्न थालेपछि उनको स्याउ बगैंचामा टिकटक बनाउन युवायुवतीको भीड हुने गर्छ । ‘उनीहरुले दुई/चार किलो स्याउ किनेर पनि लैजान्छन्, अरु पनि स्याउ किन्न बगैंचामै आउँछन्, बजारको समस्या छैन’ उनले भने । बगैंचाबाटै हाल प्रतिकिलो २ सय ५० देखि ३ सय रुपैयाँसम्म स्याउ बिक्री भइरहेको उनले बताए ।

व्यवसायिक रुपमा स्याउ खेतीमा लागेपछि उनी अहिले त्यसमै रमाउन थालेका छन् । ‘१४ वर्षको उमेरमै स्कुलको पढाई, बाबुआमा छाडेर भारतको सिमला जाने रहर थिएन’ उनले भने ‘त्यहाँ स्याउ खेतीमा सिकेका अनुभवलाई अहिले यहां लागू गर्न पाउँदा खुसी लागेको छ ।’

२०७२ देखि सुरु भएको खेतीमा पछिल्ला तीन वर्षदेखि भने उनले स्याउ बेचेर आम्दानी गर्दै आएका छन् । उनले स्याउ बेचेर कमाएको पैसाले जयतपानी बजारमा पसल समेत संचालनमा ल्याएका छन् । ‘केही रोपनी जग्गा किनेर स्याउ खेती विस्तार गर्दैछु,' उनले भने ।

जिल्लामा आफू लगायत केही सीमित व्यक्तिले व्यवसायिक स्याउ खेती गर्दै आएकोमा सरकारी संयन्त्रबाट भने सहयोग नपाएको उनको गुनासो छ । ‘अनुदान तथा प्राविधिक सहयोगको लागि वडा तथा पालिकामा बारम्बार माग राख्दा पनि अहिलेसम्म बेवास्ता गरिएको छ’ उनले भने । आफ्ने मेहनतले गोडमेल, मलजल, रोग नियन्त्रण जस्ता काम गरिरहेको उनले बताए ।

उनीजस्तै स्थानीय शिशिर कुमार थापाको १२ रोपनी जग्गामा २ सय बोट स्याउ छन् । यसबाट वार्षिक डेढ लाखसम्म कमाई गरिरहेको उनले बताए । स्याउ खेतीलाई अझै व्यवस्थित गर्न सकेमा वार्षिक ६/७ लाख कमाउन सकिने उनको भनाइ छ ।

साभार:ekantipur

शनिबार ६ साउन २०८० ०४:०० AM मा प्रकाशित

प्रतिक्रिया