×

वर्षा पम्पले खेतबारीमा सिँचाइ

images

जुम्ला-तिला गाउँपालिका-३ स्याँला लुम्सेरा गाउँकी सुशीला भट्टराई सिँचाइ सुविधा नहुँदा गाउँमा खेतबारी प्रशस्त भए पनि श्रमअनुसार उत्पादन नहुने गरेको सुनाउँछिन् । गाउँ छेउमै तिला नदी बगे पनि सिँचाइ कुलो नहुँदा ठूलाठूला खेतबारी भएर पनि धान, जौ, गहुँलगायत तरकारी श्रमअनुसार उत्पादन हुँदैन ।

तर नदीबाट पानी तानेर सिँचाइ गर्न सकिने प्रविधि (वर्षा पम्प) सञ्चालनसँगै स्याँला लुम्सेरा गाउँमा यसवर्ष खेतबारी हराभरा भएका छन् । घरघरमा तरकारीमात्र फलेका छैनन् । मार्सी रोपिएका खेतको बाली पनि सप्रिएको छ भने, पर्याप्त सिँचाइ पुगेकाले विगतको भन्दा यस वर्ष उत्पादन बढ्ने किसानको अपेक्षा छ ।

स्थानीय सुशीला भट्टराई भन्छिन्, ‘सिँचाइको एकमात्र माध्यम नदीमाथि काठको पुनालो बनाएर ल्याउने हो । तर त्यो दिगो थिएन । जसका कारण स्याँला लुम्सेरा गाउँ निकै पीडित थियो । जग्गा भएर पनि पर्याप्त सिँचाइ नहुँदा खेती गरेर उत्पादन राम्रो हुँदैन थियो । तर वर्षा पम्प सञ्चालन गरेसँंगै सिँचाइ सुविधा पुगेपछि बालीनाली सप्रिएको छ ।’

पानीको बहाव बढेको बेला वर्षा पम्प उठाएर सुरक्षित ठाउँमा राख्न सकिन्छ । नेदरल्याण्डमा सफल भएको (वर्षा पम्प) नदीको पानी तानेर गाउँमा पु¥याउने प्रविधि तिलाको पाँण लुम्सेरा गाउँमा पनि सफल भएको छ । उक्त वर्षा पम्प तिला नदीको छेउमा जडान गरिएको छ । नत उसलाई बत्ती चाहिन्छ । नत इन्धन नै खर्च हुन्छ ।

पानीले नै चलेर, पानी तान्ने वर्षा पम्प प्रविधि जुम्लाका लागि निकै उपयुक्त मानिएको छ । सिँचाइ नपुगेका नदी छेउका गाउँबस्तीका जमिनमा सिँचाइ सुविधा विस्तार गरी उत्पादन बढाउनका लागि वर्षा पम्प प्रविधि निकै प्रभावकारी रहेको जिल्ला समन्वय समितिका सदस्य नरवीर सुनार बताउँछन् ।

भकारी परियोजनाले सिँचाइ सुविधा विस्तार, उत्पादन वृद्धि, बहुउपयोगी नर्सरी व्यवस्थापन, क्षमता विकास, भू–क्षय रोकथामलगायतका क्षेत्रमा गरेको उल्लेखनीय काम र संरचनाको संरक्षण र दिगो व्यवस्थापनमा स्थानीय सरकार उत्तरदायी हुनुपर्ने उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले विकास साझेदार संस्था किर्डाक नेपाल, भकारी कार्यक्रमले जुम्ली किसानको आजआर्जन वृद्धिमा उल्लेखनीय भूमिका खेलेको बताए । यद्यपि, संस्थाका कार्यक्रम सकिएसँगै उपलब्धि पनि सकिने परिपाटी भएकोले प्राप्त उपलब्धिको सरंक्षण र राम्रा कामको निरन्तरता दिन जरुरी रहेको उनको भनाइ छ ।

उत्पादित वस्तुको बजारीकरण सुनिश्चित हुन नसकेकाले पालिकामै संकलन केन्द्र स्थापना हुनुपर्नेमा प्रजिअ घिमिरेको जोड छ । झण्डै २० मिटर उचाइ र तीन किलोमिटर लम्बाइसम्म वर्षा पम्पले तानेको पानी पुग्छ । यूएसएआईडीको आर्थिक सहयोग, मर्सिकोर नेपालको अगुवाइ र किर्डाक नेपालद्वारा सञ्चालित भकारी कार्यक्रमको पाँच लाख लगानीमा वर्षा पम्प जडान गरिएको हो ।

साभार:karobardaily

शुक्रबार​ ५ साउन २०८० ०४:०० AM मा प्रकाशित

प्रतिक्रिया