×

अब ‘मोबाइल एप्स’ मा चल्छ कृषि

images

कालिका नगरपालिका वडा नम्बर-५ स्थित शुभकामना टोलकी जुली महत्तो मौसम अनुसारको खेती गर्छिन्। लगाएको बालीमा समस्या देखा पर्दा महतोलाई परामर्श लिन निकै सकस हुन्थ्यो। तर, यतिखेर भने त्यस्तो समस्या छैन। उनले घरमै बसेर मोबाइलबाट नै परामर्श लिन थालेकी छिन्।

‘उत्पादन वस्तुको फोटो खिचेर जिओ कृषि एपमा राख्दिन्छौँ, मूल्य र परिणाम पनि त्यसैमा हुन्छ’ खुसी हुँदै महतोले भनिन् ‘त्यहाँबाट विषादी कुन हाल्ने, के समस्या देखियो भन्ने सुझाव आउँछ।’

उनी बजार मुल्य पनि त्यही एप मार्फत हेर्ने गर्छिन्। मूल्य पाउना साथ एप मार्फत बिक्री गर्दै आएको उनले सुनाइन्। ‘मोबाइलमा एप जोडेको एक वर्ष पुग्यो। मोबाइलमै मूल्य हेर्न पाउने हुँदा बिचौलियाले खान पाएका छैनन्,’ उनले भनिन् ‘बाख्रालाई समस्या पर्दासमेत मोबाइलबाट नै परामर्श लिने गरेकी छु।’ उनका पाँच वटा बाख्रा छन्। विगतमा उनलाई कृषि प्राविधिकसंग भेट्न दिनभरको समय खर्च गर्नुपर्दथ्यो। आजभोलि कृषि प्राविधिकको आवश्यक नपरेको उनले बत्ताइन्।

कोरोनाको अवधिमा पदमपुरको दिप सामाजिक उद्यम महिला सहकारी कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएर कुहिँएको थियो। अहिले त्यस्तो समस्या छैन। समूहमा आबद्ध तीन सय ५८ जना महिलाले फलाएको तरकारी तथा फलफूल जिओ कृषि नामक मोबाइल एपमार्फत प्रदर्शन गरेर बिक्री गरिरहेको संस्थाकी अध्यक्ष खिमा चौधारी बताउँछिन्।कोभिड महामारीयता कृषि सामग्री किनबेचका लागि थुप्रै एप बनेको देखिन्छ । विशेषतः पहिलो लकडाउनका बेला बजार ठप्प भएपछि किसानले बारीमै बन्दा, काउली, टमाटर नष्ट गरेका समाचार आएका थिए।

‘लकडाउनको समय निकै कठिन भयो। बिक्री गर्न पाइएन। छरछिमेकमै बाडिँयो। बजारमा दुई सय पर्ने तरकारी १० रुपैयाँमा पनि बेचियो,’ विगत सम्झँदै उनले  भनिन् ‘अहिलेजस्तो प्रविधि भए त्यतिकै खेर फाल्ने थिएनौँ।’

सहकारी संस्थाले महिलाहरुलाई मोबाइल एप चलाउनका लागि १५ दिनको प्रशिक्षण दिएको थियो। अहिले कृषिसम्बन्धी एप खोजेर मोबाइलमा ‘इस्टल’ गर्छन् ।

उनीहरुले घरबाट नै कृषिसम्बन्धी परामर्श लिन थालेका छन्। मौसम, बीउ बिजन, मल खाद, सिँचाइ, बिरुवा उत्पादनलगायत विषयमा जानकारी लिन एप उपयोगी हुने गरेको उनले बत्ताइन्। पहिले किसानका खेतमा गएर तरकारी खरिद गर्नुपर्ने बाध्यता रहे पनि अहिले एपमै हेरेर मगाउँदा सबै थरीका तरकारी किसान आफैँले ल्याइदिने गरेको उनले बताइन्।

सहकारी संस्थामा डिजिटल टिभी समेत जडान गरिएको छ। त्यहाँ ई चौतारी कार्यक्रम सञ्चालन गरिने संस्थाकी व्यवस्थापक रिना चौधरी बताउँछिन्।

‘विज्ञहरुलाई ल्याएर किसानहरुको समस्या समाधान खोज्ने प्रयास गरेका छौँ,’ उनले भनिन् ‘विज्ञका सुझावहरु मोबाइल एपमा राख्छौँ।’

चितवनमा कालिका नगरपालिका वडा नम्बर-५ र २ नम्बर वडाका महिलाहरुले कृषि एप प्रयोग गर्ने गरेका छन्। प्रविधि तर्फ किसानहरुको आक्रषर्ण समेत बढ्दै गएको जिओ कृषिका कार्यक्रम अधिकृत प्रेम कुँवर बताउँछन्। उनका अनुसार १५ प्रतिशत महिलाले कृषि एपमार्फत सम्पूर्ण जानकारी लिने गरेका छन्। संस्थाले एप चलाउनका लागि महिलाहरुलाई तालिम समेत दिँदै आएको छ।

उत्पादन तथा खरिद बिक्रीकर्ता सबैलाई यो प्रविधि आवश्यक छ। डिजिटल प्रविधिको विकास गर्नका लागि स्थानीयतहरुले ऐन नै बनाएर जान कृषि विज्ञ विनोद श्रेष्ठ सुझाव दिन्छन्।

‘उद्यमीलाई प्रोत्साहन गर्न र उद्यमीको सहयोगका लागि कार्यक्रम सञ्चाल गर्न मोबाइल एप जस्ता डिजिटल प्रविधिको आवश्यक छ,’ उनले भने ‘यसका लागि स्थानीय तह कानुन बनाएर अगाडि बढ्नुपर्छ।’ उनका अनुसार, डिजिटल प्रविधिले पारदर्शिता राख्न समेत महत्त्वपूर्ण योगदान दिन्छ।

यो आधुनिक प्रविधियुक्त स्मार्ट एप हो। जसमा किसानले आफ्नो मोबाइल मार्फत बैंकले उपलब्ध गराएको एप्लिकेसन सफ्टवेयर प्रयोग गरी कृषि सम्बन्धी विभिन्न कारोबारहरु सहज, सरल र सुरक्षित तरिकाले गर्न सक्छन्।

किसानले मौसम, कृषि सामाग्रीको उपलब्धता, कृषि सम्बन्धी कारोबार र कृषि बीमा तथा अनुदानको जानकारी पाउन सक्छन्। कृषि व्यवसायको प्राविधिक ज्ञान, उत्पादनको भण्डारण प्रशोधन बजारीकरण सम्बन्धी सूचना र कृषि फार्मका सफल अभ्यासको जानकारी पनि किसान एपबाट लिन सकिन्छ।

नगरपालिकाको कृषि शाखामा कृषि सम्बन्धी गतिविधि हेर्न मिल्ने डिजिटल मेसिन रहेको छ। उद्यमशिलतामा जोडिनका लागि कालिकाका सबै वडाका उद्यमीलाई मोबाइल एप जडान गर्ने प्रयासमा रहेको नगरप्रमुख विनोद रेग्मी बताउँछन्।

‘वडा नम्बर ६ र ५ नम्बर वडामा डिजिटल स्क्रिन मार्फत कृषि सम्बन्धी जानकारीहरु दिने र उपचारको विषयमा जानकारी दिने गरेका छौँ,’ उनले भने ‘११ वटै वडामा एपको व्यवस्थापन गर्ने प्रयासरत छौँ।’ 

उनले एप मार्फत महिला उद्यमीहरुलाई जोड्न चाहेको बताए। डिजिटल प्रविधिमा जाँदा समयको बचतका साथै ठगिने सम्भावना कम हुने उनले बताए।

साभार:nagariknews

बिहीबार ७ भदौ २०८० ०४:०० AM मा प्रकाशित

प्रतिक्रिया