×

पोखराका पृथ्वीकल्याण पराजुलीले पोसिलो फुड्स प्रालिमार्फत सातुको ‘ब्रान्डिङ’ सुरु गरेका छन् । सातु बनाउन मकै, भटमास, गहुँ, चना, हाडे बदाम, काजु, आलस, छोकडालगायत प्रयोग हुन्छ ।

images

व्यापार तथा बजार व्यवस्थापनमा बीबीए सकाएर बसेका पोखराका पृथ्वीकल्याण पराजुलीले उपाय खोजे, परम्परागत खान्की सातुको ‘ब्रान्डिङ’ गर्ने । एक वर्ष बजार अनुसन्धान गरे । ०७८ पुसमा पोसिलो फुड्स प्रालि खोलेर ‘सातु’ उत्पादन सुरु गरे ।

एक करोड रुपैयाँ लगानीमा उनले पोखरा–१८ पोखराबेंसीमा उद्योग स्थापना गरेका छन् । २३ वर्षको उमेरमै उद्योग खोलेर सातु उत्पादन गर्ने लगानी जुटाउन उनले सेयर बेचे । परिवारको सहयोग मागे । बैंकबाट ऋण लिए । ‘सहरमा हराइसकेको सातुलाई पुनः युवामाझ परिचित गराउन व्यावसायिक रूपमै हाम फालें,’ उनले भने, ‘सातु नेपालीको मौलिक पोसिलो खाजा पनि हो । सातु साँच्चिकै उच्च पोषणयुक्त उत्पादन हो ।’

मकै, भटमासका अलावा गहुँ, चना, हाडे बदाम, काजु, आलस, छोकडालगायत अन्न सातु बनाउन प्रयोग गरिएको छ । यीमध्ये मकै, भटमास, गहुँ नेपालकै उत्पादनले थेग्छ । डेढ वर्षको अवधिमा पोसिलोले चारथरी सातु उत्पादन गरेको छ । मल्टिग्रेन, नट्टी डिलाइट, प्रोटिन प्लस र न्यट्री प्लस सातु आधा किलोदेखि २ किलोसम्मको प्याकेटमा उपलब्ध रहेको उद्योगका प्रबन्ध निर्देशक पराजुलीले जनाए ।

उत्पादित सातु बच्चादेखि वयस्क र वृद्धासम्मका लागि उपयुक्त हुने गरी तयार गरिएको छ । शारीरिक व्यायाम गर्ने खेलाडी र गर्भवती महिलाका लागि पनि कम्पनीले पोसिलो सातु उत्पादन गर्दै आएको छ । ‘पहिलो जुन गाउँमा जस्तो उत्पादन हुन्छ, त्यही अन्न प्रयोग गरेर सातु बनाइन्थ्यो । तर, अहिले समयक्रमसँगै आवश्यकता र पोषणतत्त्वको माग पनि फरक हुँदै गएको छ,’ उनले भने, ‘त्यसैले परम्परागत तरिकाले भन्दा नेपाल मात्रै नभएर विदेशबाट ल्याइएका पनि अन्न मिसाएर हामीलाई चाहिने पोषण आहार बनाएर हामीले दिने गरेका छौं ।’ सातुको राम्रो पक्ष भनेकै शतप्रतिशत प्राकृतिक हुनु र कुनै पनि कृत्रिम चिज प्रयोग नगर्नु रहेको उनी बताउँछन् ।

उद्योगमा दैनिक २ सयदेखि ३ सय किलो सातु उत्पादन हुन्छ । उत्पादनदेखि बजारीकरणसम्म १६ जनाले रोजगारी पाएका छन् । पोखराबाट सुरु भएको पोसिलो सातुका उत्पादन हाल विराटनगर, काठमाडौं, चितवन, बिर्तामोड, इटहरीलगायत सहरमा वितरकमार्फत पुगेका छन् । छिट्टै भारतलगायत अन्तर्राष्ट्रिय बजारमा सातु पुर्‍याउने लक्ष्य रहेको उनले सुनाए । भविष्यमा अझै धेरै नेपाली अन्नबालीलाई प्रयोग गरेर धेरै प्रकृतिका उत्पादन विकास गर्ने उनको योजना छ ।

‘हामी चेन डिपार्टमेन्ट स्टोरसँग प्रत्यक्ष हाम्रा उत्पादन बिक्रीवितरण गरिरहेका छौं । छिट्टै नेपालका अन्य क्षेत्रमा पनि जोडिनेछौं,’ पराजुलीले भने, ‘नेपाली बजारमा मात्रै नभएर विदेशी बजारमा पनि नेपाली सातु पुर्‍याउने लक्ष्य राखेका छौं । भारतलगायत देशमा पनि हामी छिट्टै पुग्दै छौं ।’

उद्योगले शारीरिक सुगठन खेलाडी सुकदेव कार्कीलाई कम्पनीको ब्रान्ड एम्बेस्डर बनाएको छ । कार्की फिटनेस इन्फ्लुएन्सर र ट्रेनर पनि हुन् । बीबीएपछि व्यापार तथा बजार व्यवस्थापनमा अन्तर्राष्ट्रिय कोर्स पूरा गरेर आएका पराजुलीलाई व्यवसायमा परिवारको पनि साथ छ । सातुलाई बजारमा पुर्‍याएपछि उपभोक्ताबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उनी हौसिएका छन् । भन्छन्, ‘नयाँ व्यवसायमा हात हालियो, के हुने हो भन्ने मनमा थियो । तर, अहिले उपभोक्ताले मन पराएको देख्दा ठिकै गरिएको छ भन्ने लागेको छ । कमाइ गर्न नसकिए पनि सन्तुष्ट छु ।’

साभार:ekantipur

बिहीबार ११ साउन २०८० ०४:०० AM मा प्रकाशित

प्रतिक्रिया