म्याग्दी — स्वादमा गुलियोपन भरिँदै गएपछि मुस्ताङको स्याउ बजारमा आउन थालेको छ । रिफ्याक्ट्रोमिटरबाट स्याउको गुणस्तर मापन गर्दा न्यूनतम मापदण्ड १२ प्रतिशतभन्दा बढी गुलियोपना देखिएपछि असोज १ बाट बजार पठाउन थालिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्याउ जोन कार्यालय मुस्ताङले जनाएको छ ।मुस्ताङको स्याउमा वास्तविक स्वाद आउने समय कात्तिक हो । असोज १५ पछि टिपेका स्याउमा गुलियो स्वाद आउन थाल्छ । गाला, किङरोट जातका स्याउ छिटो पाक्ने उच्च घनत्वमा आधारित (हाइडेन्सिटी रहेको हाइब्रिड) स्याउ भने भदौ अन्तिम साताबाटै बजारमा जान थालेको थियो ।
अहिले फुजी, जोनाप्रिन्स, गोल्डेन डेलिसियस जातका हाइडेन्सिटी हाइब्रिड तथा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड र फुजी जातका स्याउ बजार पठाउन थालिएको हो । ‘मुस्ताङी स्याउको ब्रान्ड र मूल्य कायम राख्न असोज नलागी बजारमा नपठाउने सहमति किसानले गरेका थिए । अहिले स्याउमा गुलियोपना पर्याप्त आइसकेकाले बेच्न थालिएको हो,’ मुस्ताङको निजी लगानीको ठूलो स्याउ बगान सिम्ले अचार्ड्स प्रालिका कर्म गुरुङले भने, ‘रिफ्याक्ट्रोमिटरबाट स्याउको गुणस्तर नाप्दा १० देखि १४ प्रतिशतसम्म गुलियोपना पुगेको छ ।’
स्थानीय किसानले स्याउ टिप्ने निर्णय गरेसँगै व्यापारी हात–हातमा पैसा बोकेर बगैंचा पुगेका छन् । कतिपय व्यापारीले बगैंचाकै ठेक्का लिन्छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन इकाई कार्यालय मुस्ताङका अनुसार जिल्लामा १५ सय ८० रोपनीमा स्याउ खेती हुन्छ । ३८ रोपनीमा उच्च घनत्वमा आधारित ५ जातका स्याउको खेती भइरहेको छ । मुस्ताङमा प्रतिहेक्टर स्याउ उत्पादकत्व १४ दशमलव २ टन छ । गत वर्ष ६ हजार ६ सय टन स्याउ जिल्लाबाहिर बिक्री गरी किसानले ७२ करोड रुपैयाँ कमाएका थिए । यस वर्ष ८ हजारभन्दा बढी टन उत्पादन हुने अनुमान छ ।
गत हिउँदमा पर्याप्त हिउँ नपर्दा र फुल्ने बेला असिनापानी पर्दा उच्च घनत्वबाहेकका स्याउको उत्पादनमा केही कमी आउन सक्छ । ‘स्याउको आधारभूत गुलियोपना आइसकेकाले किसानले स्याउ टिपेर बजार पठाउन थालेका हुन् । उनीहरूले आफूखुसी व्यापारीसँग मूल्यमा मोलमोलाइ गरी व्यापारीलाई बगानै ठेक्का दिने गरेकाले स्याउको थोक मूल्य तोकिएको छैन । स्याउको जात, गुणस्तर र भूगोलले स्वादमा फरक पर्ने भएकाले मूल्य पनि किसान र व्यापारीबीच सहमतिमा हुने गरेको छ,’ स्याउ जोन मुस्ताङकी नायब प्राविधिक सहायक यमुना लामाले भनिन्, ‘शीतोष्ण वागवानी विकास केन्द्र मार्फाले भने स्याउको मूल्य तोक्ने प्रक्रियामा छ ।’
मार्फाको सरकारी स्याउ बगानमा वार्षिक ३० टन स्याउ उत्पादन हुन्छ । केन्द्रको बगानमा उत्पादित स्याउबाट मदिरा पनि उत्पादन गरिँदै आएको छ । केन्द्रका अनुसार वागवानी केन्द्रले स्याउको ब्रान्डी दुई हजार लिटर, साइडर ३ सय लिटर र आरुबखडाको वाइन ४ सय लिटर उत्पादन गर्दै आएको छ ।
मोटर बाटो पुगेपछि मुस्ताङका किसानले बारीमै स्याउको राम्रो मूल्य पाएका छन् । मुस्ताङबाट ट्रकमा स्याउ ढुवानी गर्दा बेनीसम्म प्रतिकिलो ८ रुपैयाँ र पोखरा पुर्याएको १२ रुपैयाँसम्म भाडा पर्छ । मुस्ताङको मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोवाङ, टुक्चे, जोमसोम, कागबेनी, पाक्लिङ, लुप्रा, ताम्बे, छुक्साङ, चैलेलगायत गाउँमा स्याउ खेती गरिन्छ । मुस्ताङको घरपझोङ र बारागुङमुक्ति क्षेत्र स्याउ पकेट क्षेत्र हुन् । थासाङको टुक्चे, कोवाङ क्षेत्रमा केही खेती हुन्छ । उपल्लो मुस्ताङका लोघेकर दामोदरकुण्ड र लोमन्थाङमा पनि स्याउ खेती विस्तार भएको छ । तर प्रतिफल राम्रो आएको छैन ।
मुस्ताङको स्याउ बजार झर्न थालेसँगै चिनियाँ र भारतीय स्याउको बिक्री भने घटेको छ । मुस्ताङी स्याउ गुणस्तर हेरी प्रतिकिलो एक सय ६० देखि २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मुस्ताङबाट ल्याइएको ए ग्रेडको गोल्डेन र रेड जातको स्याउ किलोको १ सय ९० र सी ग्रेडको एक सय ७० रुपैयाँमा खुद्रा बिक्री भइरहेको बेनीस्थित फलफूलका थोक व्यापारी कृष्ण अर्यालले जनाए ।
खरिदकर्ताले बगैंचा नै बढाबढ गरेर ठेक्कामा लिने भएकाले मूल्यमा एकरूपता भने छैन । बजारले मूल्य निर्धारण गर्न खुला राखिएकाले भूगोल, गुणस्तर र समयअनुसार मूल्य फरक पर्ने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङले बताएको छ ।
‘गुणस्तर कायम राख्न स्थानीय तह र हामी मिलेर स्याउ टिप्ने न्यूनतम समय असोज तोकेका हौं । व्यापारीले गुणस्तर हेरी मूल्य तोक्छन्,’ कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले भने, ‘ठूला डिपार्टमेन्ट स्टोर र साना खुद्रा पसलमा उही स्याउको मूल्य फरक पाइन्छ । एउटै बोटको पनि ठूला, पाकेकाको धेरै र साना, अलि नपाकेकाको भाउ थोरै पर्छ । केही व्यापारीले नाफाका लागि सबै ग्रेडका स्याउ मिसाएर बेच्ने गरेका छन् ।’
साभार:ईकान्तीपुर
प्रतिक्रिया