×

नार्कद्धारा केराको पानामा ओइलाउने रोगको नयाँ प्रजाति भेटिएको पुष्टि

images

सस्मिता पाठक, काठमाडौं । नेपालको केरामा पानामा ओइलाउने रोगको नयाँ प्रजाति ‘टिआर ४’ फेला परेको छ । टिआर ४ प्रजाति नेपालमा पहिलोपटक फेला परेको हो । कैलालीको टिकापुर क्षेत्रमा यो रोग फेला परेको पुष्टि भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटार, ललितपुरले आज (सोमबार) केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस बारेमा जानकारी गराएको हो । उक्त केन्दका बैज्ञानिक डा. रामबहादुर खडकाले केरामा पानामा रोगको प्रजाति टिआर ४ नेपालमा पहिलो पटक टिकापुर क्षेत्रमा फेला परेको बताए । ‘पानामा रोग केरामा लाग्ने प्रमुख रोग हो । यो रोग फ्यूजारिया अक्सिस्पोरियम क्युबेन्स ढुसीद्धारा लाग्दछ । यो ढुसीको ४ वटा रेसहरु (प्रजाति) हुन्छन् । ती मध्ये रेस २ र ३ जंगली जातको केरामा लाग्दछ । नेपालमा मालभोग र अरु स्थानीय जातका केरामा रेस १ लाग्ने गर्दछ’ बैज्ञानिक खडकाले भने, ‘गएको ७÷८ बर्षमा यो रेसले चितवन लगायत धेरै क्षेत्रमा केरामा नोक्सानी पुर्याउँदै आएको छ । यी रेसहरु १, २ र ३ बाहेक रेस ४ जसलाई ट्रोपिकल रेस ४ (टिआर ४) भनेर चिनिन्छ जुन केरा खेतीका लागि सबैभन्दा खतरनाक मानिन्छ ।’ टिकापुर क्षेत्रको केरामा टिआर ४ फेला परेको पुष्टि पिसिआरको साथै जिन सिक्वेस्सिङ विधिद्धारा गरिएको उनले बताए । यो टिआर ४ ले खासगरी जि नाइन, विलीयम हाइब्रिड लगायत धेरैजसो केराका जातहरुमा आक्रमण गर्ने गरेको बैज्ञानिक खडकाले बताए । यो टिआर ४ केरा खेती गरिने अन्यत्र क्षेत्रमा फैलिएमा नेपालको फस्टाउँदो केरा खेतीमा ठुलो नोक्सानी पुर्याउँन सक्ने उनले बताए । राष्ट्रिय वालीरोग विज्ञान अनुसन्धान केन्द्र र सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायको टोलीले सूचना प्राप्त भएपछि टिकापुर क्षेत्रका किसानले लगाएको केरा खेतीको अवलोकन गरेको थियो ।  १० साउनमा सो क्षेत्रका नौ जना कृषकले लगाएको आठ हजार केराका बोटलाई प्रत्यक्ष अवलोकन गरेका थिए । ‘हामीले अवलोकन गर्दा पानामा रोगसंग मिल्दोजुल्दो लक्षण देखिएको नमुनालाई प्रयोगशालामा कल्चर गर्दा फ्यूजारिय अक्सिस्पोरियम क्युवेन्सिका बीजाणुहरु भेटिएका थिए’ बैज्ञानिक खडकाले भने, ‘त्यसपछि उक्तः बीजाणुबाट डिएनए निकालेर टिआर ४ विशेषको प्राइमर राखी पिसिआर गर्दा पोजेटिभ भेटियो । उक्त पिसिआर प्रडक्टलाई हङकङ स्थित बेइजिङ जिनोमिक इन्स्टिच्यूटमा सिक्इयुनिन्संग गर्दा टिआर ४ भएको पुष्टि भयो ।’ अहिले ग्रिन हाउसमा तीन भिन्न भिन्न जातका केरामा कृत्रिम रुपमा राखेर यसको लक्षणहरुको बिकासक्रमलाई अध्ययन गर्ने काम भईरहेको छ । अनुसन्धान केन्द्रका प्रमुख सुरज बैद्यले यो रोग लागेमा सुरुमा पुराना पातको फेद पहेलो हुने बताए ।

साभार: dkura

मङ्गलबार १२ भदौ २०८० १०:२५ AM मा प्रकाशित

प्रतिक्रिया