×

भारतीय फूल विस्थापित गर्न तनहुँमा व्यावसायिक फूल खेती

images

 तनहुँको एक गाउँपालिकाद्वारा भारतीय फूल आयात प्रतिस्थापन गर्न व्यावसायिक फूल खेती गरिएको छ । आँबुखैरेनी गाउँपालिकाद्वारा अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत व्यावसायिक फूल खेती थालिएको हो ।

चाडपर्वका समय तथा अन्य कार्यमा बाहिरबाट फूलको आयात गर्नुपर्दा यहाँको अर्थ बाहिरै जाने हुँदा फूल खेती गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । यसको व्यावसायिक खेती गरी आर्थिक आम्दानीको बलियो स्रोतको रूपमा विकास गर्न सकिने भएकाले पालिकाले नमुनाको रूपमा खेती थालेको उहाँको भनाइ छ । अध्यक्ष चुमानले भन्नुभयो, ‘‘पुष्प व्यवसायबाट कृषकहरूको आयआर्जन गर्न साथै विदेशबाट हुँदै आएको पुष्प आयतलाई प्रतिस्थापन गरी पुष्पमा आत्मनिर्भर बनाउने कार्यक्रमको लक्ष्य रहेको छ ।’’

पालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा आमा समूह र विद्यालयमार्फत फूल खेती गरिएको छ । कृषि क्षेत्रमा स्वरोजगारका अवसरहरू सिर्जना गर्ने र रोजगारीका लागि बिदेसिने क्रम न्यूनीकरण गर्न कृषिलाई प्राथमिकतामा राखिएकाले अध्यक्षसँग कृषि कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष चुमानले बताउनुभयो ।

यस कार्यक्रमअन्तर्गत २० लाख रुपियाँ विनियोजन गरी फूल खेती गरिएको उहाँले जानकारी दिनुभयो । कृषकलाई हाल फूल टिप्न र बेच्न भ्याईनभ्याई छ । उत्पादित फूल पूजाआजा विवाह लगायतका शुभकार्यका लागि बेचिने गरिएको छ । तर फूल बेच्ने मुख्य समय भने तिहार हो । फूलै फूलको पर्व तिहार सुरुभएसँगै उनीहरूलाई फूल टिप्न, माला गाँस्न र बेच्न भ्याईनभ्याई छ ।

आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समूह, आँधीमूल आमा समूह र मित्रता माध्यमिक परिसरमा गरी २६ रोपनी क्षेत्रफलमा व्यावसायिक फूल खेती गरिएको गाउँपालिकाले जनाएको छ । पालिका अनुसार महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्न सय प्रतिशत अनुदानमा बिरुवा वितरणदेखि प्राविधिक सहयोग गरिएको छ । गत साउन २० गते रोपिएका बिरुवाबाट ढकमक्क फूल फुलेपछि बजारीकरण सुरु भएको गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले बताउनुभयो । उक्त वडाका तीन स्थान गरी २६ हजार बिरुवाले उत्पादन दिन सुरु गरेको छ । फूल उत्पादन हुन थालेसँगै बजारका फूल व्यवसायीले स्थानीय उत्पादन किन्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गाउँपालिका मातहत र सङ्घसंस्थाले आयोजना गर्ने कार्यक्रममा खादाको सट्टा फूलको माला प्रयोग गर्न समन्वय गरिएको केसीले जानकारी दिनुभयो ।

मालाको गुणस्तर हेरी थोकमा प्रतिमाला रु ४० देखि ६० मा बिक्री गर्ने योजना बनाइएको छ । खुद्रा मूल्य भने निर्धारण गरिएको छैन । बाहिरबाट आयात गरिने फूल तथा मालाको तुलनामा सुपथ मूल्यमा यहाँ उत्पादित फूल बिक्री गर्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो  । व्यावसायिक फूलको माध्यमबाट महिलाहरूको आयआर्जन गर्न लागि आमा समूहले पहिलो वर्षमा फूलखेतीबाट गरेको आम्दानीलाई बर्सेनि सयपत्री फूल व्यवसायलाई निरन्तरता दिनुपर्ने प्रावधान राखिएको शर्माले बताउनुभयो ।

सोही वडास्थित धार्मिक पर्यटकीयस्थल आँधीमूल वराहमा लाग्ने मेलामा पनि सयपत्री फूलखेतीले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । यहाँ सुरु गरिएको फूलखेतीले प्रत्येक वर्ष बाहिरबाट फूल खरिद गरेर ल्याउनुपर्ने अवस्थाको अन्त्य हुने यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आलेमगर बताउनुहुन्छ । सधैँ चुल्होचौकामा सीमित हुने यस क्षेत्रका महिलाको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले थालेको कार्यले महिला उत्साहित भएको उहाँले बताउनुभयो ।

साभार:गोरखापत्र

बुधबार १५ कात्तिक २०८० ०५:५५ AM मा प्रकाशित

प्रतिक्रिया