×

‘बूढानीलकण्ठ तरकारी बजार’ को भवन निर्माण तीव्रता

images

काठमाडाैं। बूढानीलकण्ठ नगरपालिकाले तरकारी बजारको लागि भवन निर्माणको काममा तीव्रता दिएको छ। बूढानीलकण्ठ –२ स्थित नौलिनस्थानमा स्थानीय उत्पादनलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्यले भवन निर्माणको कामलाई जोड दिएको हो।

स्थानीयलाई आत्मनिर्भर गराउन र स्थानीय उत्पादनलाई व्यावसायीकरण गर्न नगरले योजना अघि सारेको नगरप्रमुख मीठाराम अधिकारीको भनाइ छ।

उनले भने, 'नगरभित्रका उत्पादनलाई हामीले जोड दिएर कृषकलाई आत्मनिर्भर गराउने मुख्य लक्ष्य हो। सोहीअनुरुप हामीले तरकारी बजारको कामलाई ध्यान दिएका छौं। स्थानीय कृषकलाई थप सहजीकरण होस् भनेर पनि हामीले ध्यान दिएका छौं। यस बजारको प्राथमिकतामा स्थानीय कृषक नै रहनुहुनेछ।'

नगरप्रमुख अधिकारीले नगरभित्रका कृषकलाई बजारीकरणको समस्या नहोस् र उत्पादनको सही मूल्य यहाँबाट कृषकहरू आफैँले प्राप्त गर्नुहोस् भनेर योजना अघि बढाएको बताए। नगरपालिका योजना शाखा प्रमुख महेश पाठकले बूढानीलकण्ठ तरकारी बजारको भवन निर्माण गर्न नौ करोड रूपैयाँ लागतमा ठेक्का लागेर काम धमाधम भएको जानकारी दिए। उनले तरकारी बजारको भवन निर्माण मात्र नभएर बहुवर्षे योजनामा तरकारी भण्डारणका लागि समेत नगरको योजना रहेको बताए। 

नगर उपप्रमुख अनिता लामाले नगरपालिकाभित्रका स्थानीय तथा घरेलु कृषिलाई बजारीकरण गर्दै कृषकलाई आत्मनिर्भर गराउन तरकारी बजारको योजना अघि सारेको बताए। 'हामीले बूढानीलकण्ठ नगरपालिकाभित्रका कृषि उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम गर्दै आएका छौ,' उनले भने 'आगामी दिनमा पनि हामीले कृषक लक्षित कार्यक्रमलाई व्यवस्थित ढंगले अगाडि बढाउने छौं।'

नगरले यसअघि कृषि मेला गरेर स्थानीय कृषक तथा स्थानीय उत्पादनको प्रदर्शन गरेको थियो। आगामी वर्षको आधार तयार गर्न र आगामी आवमा कस्ता खालका कृषिलाई प्रोत्साहन गर्ने भन्ने विषयमा थप अध्ययन गर्न कार्यक्रम आयोजना गरिएको उपप्रमुख लामाको भनाइ छ।

साभार:capitalnepal

आइतबार​ ३१ बैशाख २०८० ११:२२ AM मा प्रकाशित

प्रतिक्रिया