×

जुम्लामा ४५ हजार स्याउको बोटमा ‘टेन्ट क्याटरपिलार’को आक्रमण, के हो यो ?

images

तातोपानी–१ राँका गाउँवासी तीन सय परिवारले लगाएको स्याउ बगैँचामा टेन्ट क्याटरपिलारको आक्रमणबाट स्याउ
का बिरुवामा क्षति पुगेपछि किसान चिन्तित भएका छन् । 

लाखौँको सङ्ख्यामा रहेका टेन्ट क्याटरपिलारले स्याउका पात, डाँठ र बोक्रासमेत खान थालेपछि स्याउका बोटमा क्षति पुगेको गाउँपालिकाको कृषि शाखाका प्रमुख पदमबहादुर नेपालीले जानकारी दिए । 

“तीन सय घर परिवार रहेको राँका गाउँको तरापीमा ‘एक घर, एक बगैँचा’को अवधारणाअनुसार प्रतिघर परिवारले एक सय ५० स्याउका बिरुवा लगाएर बगैँचा स्थापना गरेका छन्”, शाखा प्रमुख नेपालीले भने, “तर ती सबै स्याउका बोटका पात टेन्ट क्याटरपिलारले सखाप पारेपछि समस्या भएको छ ।” 

जुम्ला ‘अर्गानिक’ जिल्ला घोषणा भइसकेकाले विषादी छर्न नपाइने हुँदा टेन्ट क्याटरपिलार कसरी देखियो भन्ने कुरा गाह्रो भएको उनले बताए।

उत्पादन पहिले भएको तर क्याटरपिलारका लागि अनुकूल वातावरण भएपछि लाखौँको सङ्ख्यामा अहिले वृद्धि भएको शाखा प्रमुख नेपालीले बताए । 

यसले स्याउको बोक्रामा घर लगाएर बसेको जनाउँदै उनले जलवायु परिवर्तनका कारण पछिल्लो समयमा स्याउमा समेत विभिन्न रोग देखिन थालेको बताए ।

तरापीमा लगाइएको ठुलो सङ्ख्याका स्याउका बिरुवामा देखिएको क्याटरपिलारको समस्यासँग सम्बन्धित प्रतिवेदन आएसँगै अहिले जुम्लामा पाइने देवदारको तेलसँग पानी मिसाएर छर्कने सल्लाह दिइएको कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए। 

“टेन्ट क्याटरपिलार नियन्त्रणमा लिन हामी अहिले जैविक विषादी पनि खोजी रहेका छौँ”, उनले भने, “त्यसले समस्या हल गर्न नसक्ने अवस्था नभए विकल्प पनि खोज्नुपर्ने हुन्छ ।” 

तातोपानी–१ का वडाध्यक्ष तथा स्याउ किसान कर्णबहादुर कठायतले आफ्ना तीन सय बोटमा क्षति पुर्याएको बताए ।

परागसेचनको समय भएकाले रासायनिक विषादीलगायत अन्य विषादी हाल्न नमिल्ने भएकाले अहिले सबै किसानहरूले टेन्ट क्याटरपिलारलाई हातैले मार्न सुरु गरेको उनले जनाए ।  

के हो क्याटरपिलार ?

क्याटरपिलर लेपिडोप्टेरा प्रजाति अन्तर्गत पर्ने लार्भा (किराहरूको एक प्रजाति जसमा पुतली र पतङ्ग) अन्तर्गत पर्दछ । यो उत्तर छिमेकी देशबाट आएको नेपालमा भित्रिएको देखिन्छ । यी शाकाहारी हुन्छन्, तर केही प्रजातिहरू कीटभक्षी हुन्छन्। क्याटर पिलरहरू भोका हुन्छन् र धेरैले यसलाई कृषिमा कीट मान्ने गर्दछन् । धेरै कीरा प्रजातिहरू उनीहरूको क्याटरपिलर चरणमा कृषि उत्पादन र फलफूललाई ​​क्षति पुर्‍याउछन् । 

क्याटरपिलरले मुख्यतया पातहरू खाने र क्षति पुर्याउने गर्दछन् ।  क्याटरपिलरहरू कीटनाशक, जैविक नियन्त्रण र कृषि अभ्यासहरू प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ । यसका धेरै प्रजातिहरू कीटनाशक प्रतिरोधी भएका छन्। 

साभार:www.arthadabali.com

शनिबार २० जेठ २०८० ०४:०४ AM मा प्रकाशित

प्रतिक्रिया