काठमाडौं, १८ भदौ । नेपालमा युरिया मलको अभाव धेरै हुने गरेको छ। सरकारले समयमा मलको आपूर्ति गर्न नसकेका कारण बाली लगाउने बेला तथा बालीमा मल हाल्ने बेला युरिया मलको अभाव हुने गरेको छ।
नेपाली किसानहरूले लामो समयदेखि मलको अभाव झेलिरहेका छन्। समयमा मल नपाउँदा उत्पादन घट्ने गरेको छ। किसानहरूको गुनासो सम्बोधन तथा नेपाल सरकारलाई सहयोग पुग्ने हिसाबले विराटनगरका युवा व्यवसायी राकेश सुरानाले नानो ब्रान्डको झोल युरिया मलको आयात गर्न थालेका छन्।
सुराना सञ्चालक रहेको नेपाल मल्टिट्रेड सेन्टरले नानो लिक्विड युरिया मलको व्यावसायिक आयात सुरू गरेको हो। गत सालदेखि सुरानाले मल आयात गर्न थालेका हुन्। ‘सरकारले कृषि क्षेत्रलाई प्रवर्द्धन गरिरहेको छ,’ सुरानाले भने, ‘हाम्रो उद्देश्य पनि नेपाल सरकारले अघि सारेको योजनालाई सफल पार्नु नै हो।’
मल ल्याउने स्वीकृति पाउन नै लामो समय लागेको उनले बताए। नेपाल सरकारले नानो मललाई स्वीकृति दिन एक वर्ष लगाएको थियो। सरकारले नार्क लगायतका विभिन्न प्रयोगशालामा परीक्षणपछि राजपत्रमा सूचना प्रकाशित गरेर प्रयोगको स्वीकृति दिएको सुरानाले जानकारी दिए।
यो मल भारतमा ४ करोड १२ लाख सदस्य भएको सहकारी संस्था इन्डियन फार्मस् एन्ड फर्टिलाइजर्स कोअपरेटिभ लिमिटेड (इफ्को)को उत्पादन हो। ‘इफ्कोले नानो मलको पेटेन्ट राइट लिएर विश्वका नाइजेरिया, श्रीलंका, इजरायल लगायतका १२ मुलुकमा यसको निर्यात गरिरहेको छ,’ व्यवसायी सुरानाले भने, ‘भारतका ११ सय कृषि विज्ञान केन्द्रका आधिकारिक प्रयोगशालामा सफल परीक्षण गरेपछि भारत सरकारले नानो मलको प्रयोगलाई स्वीकृति दिएको थियो।’
नाफा खाने हिसाबले नभई किसानलाई सहुलियत दिने हिसाबले मल आयात गरिएको उनले बताए। ‘सहकारीको उत्पादन भन्नेवित्तिकै नाफामुलक हुँदैन,’ उनले भने, ‘सहकारीले आफ्नो सदस्यको हितको लागि काम गर्ने हो, हामीलाई नि कम्पनीले सीमित नाफा राखेर दिएको हुन्छ। हामीले त्यही अनुसार बेच्ने हो।’
के हो नानो मल?
मल ५ सय एमएलको बोतलमा उपलब्ध छ। यसको एमआरपी नेरु ४ सय तोकिएको छ। भारतको एमआरपी पनि यही हो।
पाँच सय एमएलको यो मलले ५० किलोग्रामको एक बोरा दाना युरिया मल बराबरको काम गर्छ।
जबकि, एक बोरा दाना युरिया मलको मूल्य १ हजार २५० रुपैयाँसम्म छ। सरकारले एक बोरा युरिया मलमा प्रतिबोरा ७ सय रुपैयाँ अनुदान दिएको छ। सरकारले अनुदान नदिने हो भने यसको मूल्य १ हजार ९५० पर्छ। यो मलको प्रयोगले किसानको उत्पादन-लागत उल्लेखनीय मात्रामा घटाउँछ। तर नानो लिक्विड युरिया मलले उत्पादन क्षमता बढाउनुका साथै माटोलाई असर पनि गर्दैन।
एक बोतल नानो युरिया मल ८ देखि १० कठ्ठा जग्गाका लागि प्रयोग गर्न सकिन्छ।
एक लिटर सफा पानीमा २ देखि ४ एमएल नानो युरिया हालेर बिरुवामा स्प्रे गर्नुपर्ने सुझाव सुरानाको छ।
‘यो मललाई भण्डारण र ढुवानी गर्न पनि सजिलो छ,’ उनले भने, ‘दाना मल धेरै समय राख्दा हावा र पानीबाट बिग्रने डर हुन्छ, तर नानो झोल मलमा यो समस्या छैन।’
नानो झोल मल जमिनमा प्रयोग गरिने प्रकारको होइन। यसलाई टप स्प्रे गर्नुपर्छ। स्प्रे गरेपछि यसको पोषकतत्त्व पात हुँदै जरामा पुग्छ।
‘बालीनाली थोरै हुर्किएपछि यो मल प्रभावकारी हुन्छ,’ उनले भने।
दानादार युरिया मलमा ४६ प्रतिशत नाइट्रोजन हुन्छ। जबकि, बिरुवालाई साढे दुईदेखि ३ प्रतिशत चाहिन्छ। त्यसैले, ४६ प्रतिशत भएको दानेदार युरियाको प्रयोगले माटोको मौलिक शक्तिलाई हानी पुर्याउने दाबी सुरानाको छ।
नानो मलमा भने साढे ४ प्रतिशत मात्र नाइट्रोजन हुन्छ। स्प्रे गरेपछि १ देखि २ प्रतिशत हावामा उडेर जान्छ र बिरुवालाई आवश्यक नाइट्रोजन मात्र प्रदान गर्छ। माटोलाई कुनै हानी पुर्याउँदैन।
नानो मलमा चौधरी ग्रुपको चासो
आफ्नो कम्पनीले नेपालमा आवश्यक पर्ने पर्याप्त मल आयात र आपूर्ति गर्न सक्ने सुराना बताए।
विराटनगर, दाङ, चितवन, झापामा मलको आपूर्ति र वितरण गर्न डिलर नियुक्त भइसकेको छ। पोखरालगायत क्षेत्रमा पनि डिलर सञ्चालनको तयारी भइरहेको उनले बताए।
सुरानाले नानो मलको प्रवर्द्धनमा नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपसँग सहकार्य भइरहेको बताए।
‘सहकार्यको प्रक्रियामा छौं, चाँडै नै सहकार्यको सुरुवात हुन्छ,’ सुरानाले भने।
कृषि ड्रोनको अवधारणा
मल आयतको लागि आफूले धेरै संघर्ष गरेको सुरानाले सुनाए। किसानले तरल युरिया मलको प्रयोग वैज्ञानिक, आधुनिक र सहज ढंगले गरून् भन्ने उद्देश्यले आफ्नो कम्पनीले स्प्रे ड्रोनको आयात गर्न लागेको पनि उनले बताए। स्प्रे ड्रोन अर्थात् कृषि विमान आयातको लागि नेपाल सरकारलाई अनुमतिको लागि फाइल पनि बुझाइसकेको उनले बताए।
स्प्रे ड्रोन आयात गर्ने नीति नभएकाले नीति बनाउनको लागि सरकारलाई आग्रह गरिएको उनले बताए।
‘कृषि मन्त्रालयले गृह मन्त्रालयमा सिफारिस गरेको छ, त्यहाँबाट प्रक्रिया अघि बढ्न बाँकी छ,’ सुरानाले भने।
कम्पनीले इफ्कोबाट उत्पादित बिरुवालाई चाहिने प्रोटिन र विभिन्न प्रकारका विषादी र कीटनाशक गरी कृषि कर्मलाई चाहिने ५३ प्रकारका सामग्रीको आयात गर्ने तयारी गरिरहेको युवा व्यवसायी सुरानाले जानकारी दिए।
तर, पसलहरूले भने नानो मल लिन मानिरहेका छैनन्। ‘कति नाफा लिने भनेर उतैबाट तोकिएर आएको छ,’ उनले भने, ‘कम्पनीलाई २ प्रतिशत नाफा हुन्छ, डिलरलाई ३ प्रतिशत र दोकानदारलाई ५ प्रतिशत नाफा छ। तर, पनि उनीहरू लिन मानिरहेका छैनन्। मूल्य नतोकी ल्याउनु अनि हामी लिन्छौं भन्छन्।’
२ सयको सामानलाई ५ सयमा बेच्न पल्केका दोकानदारले नाफा कम पाउने भएपछि लिन आनाकानी गर्ने गरेको उनको भनाइ छ।
स्थानीय तहलाई पनि पत्राचार गरेको उनले बताए। प्रत्यक्ष किसानमा पुग्ने भएकाले स्थानीय तहहरूलाई पनि सहयोग गर्न आग्रह गरिएको उनको भनाइ छ।
‘हामीलाई नाफा चाहिएको छैन। किसानले सहुलियत मूल्यमा अनि समयमा मल पाउनुपर्छ। सरकारले अनुगमन नगरेका कारण धेरै पसल व्यवसायीहरूले ग्राहकसँग चर्को मूल्य लिइरहेका छन्। यो मलमा त्यो पाइँदैन। त्यही भएर पनि पसल व्यवसायीले लिन मानिरहेका छैनन्। स्थानीय तथा प्रदेश, संघीय सरकारले सहयोग गर्दा किसानलाई फाइदा हुन्छ। स्प्रे ड्रोनको विषयमा पनि हामीले भनेका छौं। आयात गर्ने अनुमति दिनुस्,' सुरानाले भने, 'हरेक स्थानीय तहमा कृषि शाखा हुन्छ। त्यहाँका दुई जना कर्मचारीलाई तालिम दिन्छौं। स्थानीय तहले खरिद गरेर एक कट्ठाको न्यूनतम् मूल्य तोकेर कर्मचारी खटाए प्रभावकारी पनि हुन्छ। बिडम्बना, हाम्रो यहाँ प्रविधिको बारेमा सोच्ने शक्ति नै माथिल्लो निकायमा पुगेकाहरूसँग भएन।’
उद्योग संगठन मोरङका अध्यक्ष समेत रहेका व्यवसायी सुरानाले नाफाको लागि भन्दा पनि पछि उद्योग नै स्थापना गर्ने उद्देश्यका साथ आयात गरिएकाले सरकारको साथ भयो भने सफलता हासिल गर्न सकिने बताए।
‘यो मल जहाँ पुगेको छ, खुसी नै छन् किसानहरू। सरकारले यसलाई प्रमोट गर्नुपर्ने हो,’ उनले भने।
साभार:हलो खबर
प्रतिक्रिया