जुम्लाको प्रमुख नगदे बाली स्याउ, सिमी, ओखरलगायतका अन्नबालीको अनिवार्य कृषि बीमा गराउनु पर्ने सरकारी नीति छ । बीमा कम्पन्नीहरू पनि किसानको राहतका लागि कृषि बीमा विस्तार गर्न गाउँगाउँ पुगेका छन् । असिना, खडेरी, हावाहुरीलगायतका विपत्तिबाट हुन सक्ने क्षतिको राहत किसानले पाउने गरी कृषि बीमालाई अनिवार्य गर्न बहस भइरहेको छ ।
गत असोजको बाढीले जुम्लाको मार्सीधानमा सबैभन्दा बढी क्षति भयो । झण्डै १८ हेक्टर जमिनमा लगाएको मार्सी धान खेत बगर बन्यो । यस्तै जुम्ली किसानको आम्दानीको मुख्यस्रोत स्याउमा पनि कालो तुसारो लाग्ने, असिना पानीले क्षति हुँदै आएको छ । तर आर्थिक अभाव, जनचेतनाको कमी, स्वयम किसानले चासो नदिनु लगायतका कारणले बीमा नगर्दा प्राकृतिक विपद्बाट कृषि क्षेत्रमा क्षति व्यहोर्दै आए पनि जुम्लाका किसानले राहत पाउन सकेका छैनन् ।
सरकारी तथ्यांक अनुसार जुम्लाका १९ हजार घरधुरीमध्ये साढे १६ हजार घरधुरी स्याउ खेती लगायत अन्य कृषि पेशामा आबद्ध रहेका छन् । जुम्ली किसानको मुख्य आयस्रोत नै स्याउ खेती हो । तर जुम्लाका १६ हजार स्याउ किसानमध्ये ३ हजार ४ सय ६० जना अर्थात् २१.५ प्रतिशत किसान मात्रै स्याउ बीमाको पहुँचमा पुगेको शिखर इन्सोरेन्स कम्पन्नी जुम्लाका बजार व्यवस्थापक विभागका बरिष्ठ सहायक लक्ष्मण उपाध्याय काफ्लेले बताए ।
उनका अनुसार हालसम्म जुम्लाका ६ जना किसानले मात्रै धान बीमा गरेका छन् । यो संख्या निकै न्यून हो । आगामी जेठबाट रोपाई सुरु भएपछि पुनः धान बीमा अघि बढाइने काफ्लेले जानकारी दिए । हालसम्म जुम्लाका ७९ प्रतिशत स्याउ किसान अझै बीमाको पहुँच बाहिर रहेका छन् । जुम्लाको आर्थिक विकास र जीविकोपार्जन गर्ने मुख्य स्रोत भनेकै स्याउ खेती हो । सरकारी तथा निजी क्षेत्रले स्याउलगायत बालीको बीमा गर्नेबारे किसानलाई जनचेतना नदिएका पनि हैनन् । तर बीमाको फाइदा आवश्यकता र महत्व नबुझनु तथा अधिकांश किसानसँग आर्थिक अवस्था कमजोर भएकाले पनि अपेक्षित रुपमा किसान बीमाको पहुँचमा पुग्न सकेका छैनन् ।
शिखर इन्सोरेन्सका अनुसार बिमित ३४ सय ६० किसान मध्ये सबैभन्दा बढी पातारासी र कम कनकासुन्दरीका रहेका छन् । तीन वर्ष पहिले शुन्य बिमित रहेको तिला गाउँपालिकामा हाल ४ सय किसानले स्याउ बीमा गरेका छन् । धान बालीलगायत अन्य बालीको बीमा पोलिसी तत्काल बनिसकेको छैन । तर बीमा पोसिली निर्माणको पहल भइरहेकोले निकट भविष्यमै जुम्लामा उत्पादन हुने धानलगायत सिमि, कोदो, फापर,मकै बालीको बीमा गरिने छ । सिंजा, पातारासी र तिलामा बीमा विस्तारका लागि हेल्प हेस्क राखे पछि बीमा बृद्धि हुन थालेको शिखर इन्सारेन्सले जनाएको छ ।
अपेक्षाअनुसार बीमाको पहुँचमा आउन सकेका छैनन् । यस्तै यहि साता जुम्लाको सिंजा र तिला गाउँपालिकाका विभिन्न क्षेत्रमा भारी असिना पानी परेपछि स्याउ ओखरमा ठुलो क्षति पुगेको छ । सिंजा क्षेत्रका स्याउ बगैचामा फुलेका फुल असिना पानीले झारेपछि ठुलो क्षति भएको सिंजा २ का वडाध्यक्ष तिर्थ वडले बताए ।
उनका अनुसार अधिकांश किसान बीमाको पहुँचमा नभएकाले उत्पादन पनि नहुने र राहत पनि नपाउने स्थिति छ । त्यस्तै तिला गाउँपालिका ९ मा पनि असिनाले स्याउमा क्षति गरेको छ । दुर्गमका किसानले बीमाको महत्व र आवश्यक फाइदा नबुझ्दा ठुलो क्षति व्यहोर्दै आएको स्थानीय हर्क रावतले बताए । उनका अनुसार बीमा कम्पन्नीदेखि स्थानीय सरकारले गाउँगाउँमा पुगेर बीमा सचेतीकरण गर्न जरुरी छ ।
साभार:karobardaily
प्रतिक्रिया