सामान्यतया दूध दुहुने बेला तथा दुधलाई एक ठाउँबाट अर्को ठाउँमा परिवहन गर्ने बेला दूध अस्वच्छ हुने गर्दछ । दूधमा माटोको कण, रौँ, घाँस तथा परालजन्य फोहर र दाना जीवाणु आदि मिसिँदा दूध अस्वच्छ हुन पुग्छ ।
यस्तो अस्वस्थ दूधलाई तताउँदा फाट्दछ । जसले गर्दा कृषकहरूले आर्थिक हानि बेहोर्नुपर्ने हुन्छ । यसैले यो आवश्यक हुन्छ कि अन्य खानेकुराजसरी दूधलाई पनि स्वच्छ एवं रोगजन्य जीवाणुहरूरहित राख्नुपर्छ ।
स्वच्छ दुध उत्पादनका लागि यदि कृषकहरूले निम्न कुराहरूलाई ध्यान राख्न सके भने स्वच्छ दूध उत्पादन गरेर आर्थि लाभ लिनुका साथै सम्भावित क्षतिबाट जोगिन सकिन्छ ।
पशुको स्वास्थ्य एवं सफाइ
स्वच्छ दुध उत्पादनका लागि दुहुनो पशु स्वस्थ हुनुपर्छ । पशु कुनै पनि रोगबाट ग्रसित हुनुहुँदैन । दुधालु पशुलाई एउटा निश्चित अवधिपछि पश ुचिकित्सकलाई अनिवार्य देखाउनुपर्छ । दुग्धशालामा लैजानुभन्दा पहिले शरीरलाई सफा गर्नु पर्दछ । खासगरी पशुको शरीरको पछिल्लो अनि तल्लो भागलाई सफा गर्नुपर्ने हुन्छ ।
दूध दुहुने मानिसको स्वास्थ्य एवं सरसफाइ
पशुपालक कुनै पनि खाले रोगबाट ग्रसित हुनुहुँदैन । दुग्ध व्यवशायमा लागेका पशुपालकहरूको चिकित्सकीय परीक्षण निश्चित अवधिमा गरिनु पर्दछ । दुहुने बेला दुहुने मानिसको हाथ सफा हुनुपर्छ ।
गोठको बनोट एवं सरसफाइ
पशुशाला स्वच्छ एवं खुल्ला हुनुपर्छ । दुहुनुभन्दा २ घण्टा पहिले पशुशालाको सरसफाइ हुनुपर्छ । पशुशालाको पर्खालमा बेलाबेलामा सेतो चुना पोत्नुपर्छ । पशुशालाको बनोट उपयुक्तखाले प्रकाश तथा हावाको निकाससहित सुख्खा भएको हुनु पर्दछ ।
दूध दुहुने भाँडोको बनावट तथा सरसफाइ
दूध दुहुने भाँडो सदैव एकपत्रे हुनुपर्छ । दुधको भाँडालाई पूर्ण निर्जलीकृत तथा निसंक्रमित गर्नुपर्छ । दूधको भाँडोलाई मनतातो पानीले धोएर तातो पानीमा डिटरजेन्ट पाउडर हाली ब्रसले रगडेर स्वच्छ पानीले धुनुपर्दछ । धोएको भाँडोलाई उल्टो गरी घाममा राम्रोसँग सुकाउनु पर्दछ ।
पशुशालाबाट दुध हटाउने समय
दूध दोइसकेपछि दूधलाई स्वच्छ ठाउँमा राख्नुपर्छ । यदि तताउन समय लाग्ने भए दूधलाई चिसो ठाउँमा भण्डारण गर्नुपर्छ । यदि माथि उल्लेख गरिएका कुराहरूमा कृषकले ध्यान दिने हो भने स्वच्छ दूध उत्पादन गर्न सक्छन् ।
अन्त्यमा
सबैखाले खाद्य पदार्थहरूमध्ये दुधलाई सङकलन गर्नु र त्यसलाई स्वच्छ तरिकाले वितरण गर्नु सबैभन्दा गाह्रो काम मानिन्छ । शुद्ध दूधका लागि पशु एवं दूध दुहुने मानिस दुबैको मुख्य भूमिका हुन्छ । यसैले तिनीहरू सफा र सुन्दर हुन अति आवश्यक हुन्छ । दूधलाई बिग्रिनबाट बचाउन दूध सङ्कलन केन्द्रहरू सजिलै पुग्न सकिने ठाउँमा स्थापना गर्नुपर्दछ । दूध उत्पादनमा महिलाहरूको सहभागिता सुनिश्चित गरीनुपर्छ । किनभने ग्रामीणस्तरमा पशुधन प्रबन्धमा महिलाहरूको भुमिका मुख्य रहन्छ । त्यसैले उनीहरूलाई दूध उत्पादनका सबैै शृङ्खलाहरूबारे प्राथमिकताका साथ तालिम तथा प्रशिक्षण उपलब्ध गराउनु आवश्यक हुन्छ । स्वच्छ दूध उत्पादन एवं उच्च गुणस्तरयुतm दुग्ध पदार्थ उत्पादन सुनिश्चित गरी कृषकको आर्थिक स्थिति सुधार गर्नुका साथै जनसमुदायको जनस्वास्थ्य पनि सुरक्षित गर्न सकिन्छ ।
साभार:halokhabar
प्रतिक्रिया