×

गल्याङबाट चार लाख लिटर दूध निर्यात

images

 स्याङ्जाको गल्याङ नगरपालिकाभित्रबाट उत्पादित दूध आर्थिक वर्ष २०७९/८० को असार १५ गतेसम्म तीन लाख ९७ हजार चार सय दुई लिटर निर्यात भएको छ । नगरपालिकाले उत्पादनका आधारमा दूधमा प्रतिलिटर रू १५ अनुदान दिएपछि किसान दूध उत्पादनतर्फ आकर्षित भएका हुन् ।
पालिकाले उत्पादका आधारमा किसानलाई अनुदान दिन थालेपछि पछिल्लो समय दूध उत्पादनमा वृद्धि भएको नगरपालिकाका पशुशाखा प्रमुख सुशील अर्यालले बताए । उनका अनुसार पालिकाभित्र उत्पादित दूध बुटवलस्थित दुग्ध विकास संस्थान र पोखरास्थित सुजल डेरीमा निर्यात हुँदै आएको छ ।
नगरप्रमुख गुरुप्रसाद भट्टराईले ‘उत्पादनका आधारमा अनुदान कार्यक्रम’अन्तर्गत नगरपालिका–१, २, ३, ६, ७, ८, ९ र ११ का सात सय १२ जना दुध उत्पादक किसानलाई रू ५९ लाख ६१ हजार २२ अनुदान वितरण गरिएको जानकारी दिए । उनले सहकारी, दूध सङ्कलन केन्द्र तथा फार्म गरी १९ वटा समूहमा आबद्ध किसानलाई प्रतिलिटर रू १५ का दरले खनुदान रकम वितरण गरिएको बताए ।
“कृषि र पशुपालनले देशको आर्थिक अवस्था सुधार गर्नसक्ने भएकाले यसमा प्राथमिकता दिएका छौँ”, नगरप्रमुख भट्टराईले भने, “गल्याङमा कृषि तथा पशुपालनको सम्भावना राम्रो भएकाले दूधसँगै कृषि कार्यमा लागेका अरु किसानलाई पनि प्राथमिकता दिएर काम गरिहेका छौँ ।”  
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले यस वर्ष फार्मतर्फ वडा नं १ खाडास्थित विन्ध्यवासिनी कृषि तथा पशुपक्षी फार्मले दुई हजार आठ सय ८२ लिटर दूध उत्पादन गरेर रू ४३ हजार दुई सय ३७ र वडा नं ११ जिमुवास्थित कालीगण्डकी दुग्ध उत्पादक सहकारीले ६१ हजार दुई सय ९६ लिटर दूध उत्पादन गरेर रू नौ लाख १९ हजार चार सय ४७ अनुदान पाएका जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्र सबैभन्दा धेरै दूध उत्पादन गर्ने उक्त दुई फार्म र सहकारी हुन् ।
विन्ध्यवासिनी कृषि तथा पशुपक्षी फार्मका सञ्चालक ईश्वर बस्यालले नगरपालिकाले प्रतिलिटर रू १५ का दरले दिँदै आएको अनुदानले आफूहरुलाई निक्कै राहत मिलेको बताए । उनले पाँच वर्षदेखि भैँसी पाल्दै आएको जनाउँदै उनले यसरी अनुदान प्राप्त गर्दा थप उत्हास जगाएको बताए ।
“काम गर्ने किसानका लागि दिइएको अनुदान कार्यक्रम प्रभावकारी देखिएको छ”, बस्यालले भने, “नगरपालिकाले दिँदै आएको निःशुल्क पशु उपचार तथा प्राविधिक सहयोग पाएको छु । दूधमा अझ रू पाँच÷दश बढाइदिए राम्रो हुन्थ्यो ।” उनले पशुपालनका क्रममा जटिल समस्याको सामाना गर्नु नपरे पनि दुई महिनायता ‘लम्की स्कीन’ रोगले दूध उत्पादन घटेको गुनासो गरे । उनले दूध बिक्रीबाट २०७९ साउनदेखि २०८० असार १५ गतेसम्ममा रू छ लाख ४३ हजार आम्दानी गरेको जानकारी दिए ।
वडा नं ११ जिमुवास्थित कालीगण्डकी दुग्ध उत्पादक सहकारीका अध्यक्ष ज्ञानप्रसाद अधिकारीले रू १५ अनुदान कार्यक्रम राम्रो भए पनि पछिल्लो समय देखा परेको रोगका कारण गाईपालनतर्फ रुचि घट्न थालेको बताए । “गाईपालनमा धेरै समस्या आउने भएकाले भैँसी पालेर उत्पादनलाई दोब्बर बनाउने धेरै किसानको सोंच छ”, उनले भने, “नगरपालिकाले तीन÷तीन महिना किसानको गोठसम्मै पुगेर पशुस्वास्थ्य सचेतनासहित उपचार शिविर सञ्चालन गरिदिए आभारी हुनेछौँ ।

साभार:halokhabar

सोमबार १ साउन २०८० ०४:०० AM मा प्रकाशित

प्रतिक्रिया